वेल्समाथिको सानदार जितसँगै डेनमार्क क्वार्टरफाइनलमा

आइतबार, १२ असार, २०७८
डिजिटल संस्करण

डेनमार्कले वेल्समाथि ४–० को सानदार जित निकाली अन्तिम आठको स्थान पक्का गरेको हो, युरोकपको अन्तिम आठमा पुग्ने क्रममा कास्पेर डोलवर्गले उत्कृष्ट दुई गोल गरे भने मार्टिन ब्राथवेट र जोकिम मलेले एक–एक गोल गरे 

डेनमार्क युरोकप २०२० च्याम्पियसिप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । नेदरल्यान्ड्सको जोहान काफु रंशगालामा डेनमार्कले वेल्समाथि ४–० को सानदार जित निकाली अन्तिम आठको स्थान पक्का गरेको हो । दोस्रोपटक युरोकपको अन्तिम आठमा पुग्ने क्रममा कास्पेर डोलवर्गले उत्कृष्ट दुई गोल गरेका थिए । यसैगरी, मार्टिन ब्राथवेट र जोकिम मलेले एक–एक गोल गरेका थिए ।

अब सेमिफाइनल प्रवेशका लागि डेनमार्कले चेक रिपब्लिक र नेदरल्यान्ड्सबीचको विजेताविरुद्ध प्रतिस्पर्धा गर्नेछ । खेलको ९० मिनेटमा वेल्स १० खेलाडीमा सीमित भएको थियो । वेल्स गत संस्करणको सेमिफाइनलिस्ट टोली हो । सुरुवाती १५ मिनेटसम्म गेराथ बेलको कप्तानीमा रहेको वेल्सले डेनमार्कमाथि दबाब राखेको थियो । यस समयमा वेल्सले दुईपटक गोल अवसर चुकाएको थियो ।

इंग्लिस क्लब टोटनह्यामका बेलको एक उत्कृष्ट गोल प्रयासलाई डेनमार्कका रक्षापंक्तिका खेलाडीले विफल पारेका थिए । डेनमार्कले बिस्तारै खेलमा पकड बनाउँदै गयो । खेलको २२औँ मिनेटमा एज्याक्सका पूर्वखेलाडी कास्पेर डोलबर्गले डेनमार्कलाई अप्रत्याशित रूपमा १–० को अग्रता दिलाए । कास्पेरले डेनमार्कलाई दिलाएको अग्रतासँगै वेल्स खेलमा फर्कन सकेन । 

खेलको अन्तिम मिनेटसम्म पनि डेनमार्कले वेल्समाथि दबाब मात्र बनाएन, स्पष्ट चार गोलअन्तरले जित निकालेर अन्तिम आठमा स्थान सुरक्षित ग¥यो । जोकिमको पासमा कास्पेरले वेल्सका तीन डिफेन्डरविरुद्ध ड्रिब्लिङ गर्दै पोस्टभन्दा २२ यार्ड टाढाबाट पहिलो बारमा उत्कृष्ट गोल गरे । उनले प्रहार गरेको बललाई वेल्सका गोलरक्षक ड्यानी वार्डले डाइभ गरे पनि छेक्न सकेनन् । 

कास्पेरलाई जोकिमले पास उपलब्ध गराएका थिए । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमै डेनमार्कले निकै राम्रो गोल अवसर गुमायो । डेनमार्कका मिडफिल्डर जोकिमले पोस्टनजिकबाट प्रहार गरेको बललाई वेल्सका गोलरक्षक वार्डले हातले छेक्दै सम्भावित गोल विफल पारे । मध्यान्तरपछिको तेस्रो मिनेटमै डेनमार्कले अग्रता बनाउँदा वेल्स नाजवाफ भयो । खेलको ४८औँ मिनेटमा कास्पेरले डेनमार्कलाई २–० को अग्रता दिलाउन सफल भए । दायाँ साइडबाट ब्राथवेटले निकालेको क्रसमा सिक्स यार्ड बक्समा वेल्सका डिफेन्डर विलियम्सले क्लियर गर्न कोसिस गरेका थिए । विलियम्सको कमजोर क्लियरेन्समै कास्पेरले सहजै डेनमार्कलाई २–० को अग्रता दिलाएका हुन् ।

कास्पेरले चालू युरोकपमा दुई खेलमा तीन गोल गरिसकेका छन् । यसअघि उनले समूह चरणमा रसियाविरुद्ध पनि उत्कृष्ट गोल गरेका थिए । मध्यान्तरपछि वेल्सका डिफेन्डरलाई पूरै व्यस्त बनाएको डेनमार्कले खेलको ८८औँ मिनेटमा ३–० को अग्रता बनायो । यसपटक जोकिमले डेनमार्कलाई अग्रता दिलाएका हुन् । फुलब्याक जेसनले दायाँ साइडमा जोकिमलाई क्रस पास दिएका थिए । त्यसवेला जोकिम अनमार्कमा थिए । उनले सहजै डिबक्सभित्रबाटै पहिलो बारमा गोल गरे । खेलमा फर्कन नसक्ने अवस्थामा पुगेको वेल्सले ९० मिनेटमा एक खेलाडी गुमायो । उत्कृष्ट ड्रिब्लिङ गरी अगाडि बढिरहेका जोकिमलाई पछाडिबाट ह्यारी विल्सनले फल गरे र रेफ्रीले सीधै विल्सनलाई रातो कार्ड देखाए । विल्सनको करिअरकै यो पहिलो रातो कार्ड थियो । अन्तिम इन्जुरी समयमा खेल अवधिभरि डेनमार्कका लागि प्रेरणादायी खेल प्रस्तुत गरेका मार्टिन ब्राथवेटले व्यक्तिगत पहिलो तथा टोलीका लागि चौथो गोल गरे ।

सुरुवातमा उनको गोललाई अफसाइड दिइयो । जर्मन रेफ्रीले भिएआरको सहयोगमा ब्राथवेटको गोललाई मान्यता दिँदा डेनमार्क ४–० को जितसँगै अन्तिम आठमा पुग्यो । यसअघि नवौँ मिनेटमा वेल्सका कप्तान बेलले पोस्टभन्दा २२ यार्ड टाढाबाट बायाँ खुट्टाले प्रहार गरेको बल पहिलो बारनजिक हुँदै बाहिरिएको थियो । खेलको ११औँ मिनेटमा वेल्सका आरोन राम्सीले सानो डिबक्समा बल नियन्त्रण लिन नसक्दा वेल्सले गोल अवसर गुमायो । खेलको १८औँ मिनेटमा डेनमार्कले पहिलो कर्नर पाएको थियो । डेनमार्कले लगातार तीन कर्नर पाएको थियो । तर, डेनमार्कका खेलाडीले यसलाई सदुपयोग गर्न सकेनन् । 

तथ्य
– डेनमार्कले लगातार चार खेलमा वेल्सलाई हराएको छ । डेनमार्कले यस खेलमा दुई र वेल्सले तीन खेलाडी परिवर्तन गरेको थियो । वेल्सले डेनमार्कको काउन्टर र आक्रमण रोक्न ४–२–३–२ को रणनीति अपनाएको थियो । 

– डेनमार्कले ३–४–२–१ रणनीति बनाएर वेल्सविरुद्ध प्रतिस्पर्धा गरेको थियो । आम्स्टार्डम रंगशालामा डेनमार्कलाई समर्थन गर्न १६ हजार समर्थक थिए । खेल सुरु हुनुअघि डेनमार्कका खेलाडीले सहकर्मी क्रिस्टियन एरिक्सनको स्वास्थ्यलाभको कामना गरेका थिए । 

– २९ वर्षअघि आजकै दिनमा डेनमार्कले पहिलोपटक युरोकप उपाधि उचालेको थियो । सन् १९९२ को संस्करणको फाइनलमा डेनमार्कले जर्मनीलाई हराउँदै पहिलोपटक उपाधि जितेको थियो । 
– डेनमार्क र वेल्सले पहिलोपटक मेजर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गरेका हुन् । 

चालू युरोकपमा डेनमार्कले डिबक्सबाहिरबाट सर्वाधिक तीन गोल गरेको छ । सन् १९८० को संस्करणमा फ्रान्सले डिबक्सबाट पाँच गोल गरेको थियो । फ्रान्सपछि बेल्जियमले सन् २०१६ मा डिबक्सबाहिरबाट चार गोल गरेको थियो । 
 

See More On

सुझावित समाचार