युरोकप २०२० अन्तर्गत समूहगत चरणकाे प्रतिस्पर्धा सकिएको छ । बुधबार राति १२:४५ मा भएको समूह एफको अन्तिम चरणको खेलसँगै प्रतियोगिताको समूहगत चरणको खेल टुंगिएको हो । यससँगै प्रतियोगिताको प्रिक्वार्टरफाइनल चरणमा पुग्ने १६ टोलीकै टुंगो लागेको छ । समूहगत चरणको अन्तिम खेलपछि जर्मनी र पोर्चुगलले अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन् । समूह एफको अन्तिम चरणको दुवै खेल बराबरीमा रोकियो ।
हंगेरीको बुडापेस्टमा भएको खेलमा फ्रान्स र पोर्चुगल तथा म्युनिखमा भएको खेलमा जर्मनी र हंगेरीले समान २–२ गोलको बराबरी खेले । यो नतिजापछि यसअघि नै प्रिक्वार्टरफाइनल चरणको यात्रा निश्चित गरिसकेको फ्रान्स समूह एफको विजेता टोली बन्यो भने जर्मनीले उपविजेताको रूपमा अघिल्लो चरणमा प्रवेश पायो । पोर्चुगल भने समूहको तेस्रो स्थानमा रहेका अन्य पाँच समूहका टोलीमध्ये उत्कृष्ट चारभित्र रहँदै प्रतियोगिताको अन्तिम १६ मा पुगेको हो ।

समूह एफको नतिजापछि समूह सीको तेस्रो स्थानमा रहेको युक्रेनले पनि प्रतियोगिताको नकआउट चरणमा प्रवेश पाएको छ । आयोजक युरोपेली फुटबल महासंघ (युइएफए)का अनुसार ६ समूहको तेस्रो स्थानमा रहेका टोलीमध्ये पनि उत्कृष्ट चारभित्र परेका टोलीले नकआउट चरणमा प्रवेश पाउनेछन् । यसरी तेस्रो स्थानमा रहेर पनि प्रतियोगिताको अघिल्लो चरणको यात्रा तय गर्ने टोलीहरूमा पोर्चुगल र युक्रेनसँगै चेक रिपब्लिक र स्विजरल्यान्ड रहे ।
युरोकप २०२० को प्रिक्वार्टरफाइनल चरणमा पुग्ने टोली
समूह एबाट : इटाली, वेल्स र स्विजरल्यान्ड्स
समूह बीबाट : बेल्जियम र डेनमार्क,
समूह सीबाट : नेदरल्याड्स, अस्ट्रिया, युक्रेन,
समूह डीबाट : इंग्ल्यान्ड, क्रोएसिया, चेक रिपब्लिक
समूह ईबाट : स्विडेन, स्पेन
समूह एफबाट : फ्रान्स, जर्मनी र पोर्चुगल
प्रिक्वार्टरफाइनल चरणका खेल
१२ असार
वेल्सविरुद्ध डेनमार्क, (आम्सर्टडम)
इटालीविरुद्ध अस्ट्रिया, (लन्डन)
१३ असार
नेदरल्यान्ड्सविरुद्ध चेक रिपब्लिक (बुडापेस्ट)
बेल्जियमविरुद्ध पोर्चुगल (सेभिल)
१४ असार
क्रोएसियाविरुद्ध स्पेन (कोपेन्हेगन)
फ्रान्सविरुद्ध स्विजरल्यान्ड्स (बुचरेस्ट)
१५ असार
जर्मनीविरुद्ध इंग्ल्यान्ड (लन्डन)
स्विडेनविरुद्ध युक्रेन (ग्लास्गो)
विश्वकप र युरोकप विजेताबीच रोमाञ्चक प्रतिस्पर्धा

गत संस्करणको युरोकपको फाइनलमा प्रतिस्पर्धा गरेका फ्रान्स र पोर्चुगल यसपटक समूहगत चरणमै भेट हुँदाको प्रतिस्पर्धा रोमाञ्चक रह्यो । त्यसवेला फ्रान्सलाई उसकै मैदानमा हराउँदै पोर्चुगलले युरोकपको उपाधि जितेको थियो । त्यसको दुई वर्षपछि फ्रान्सले रुसमा भएको फिफा विश्वकपको उपाधि जित्यो ।
विश्वकप र युरोकपको च्याम्पियनहरूबीचको यो प्रतिस्पर्धा विशेषगरी पोर्चुगलका लागि महत्वपूर्ण थियो । प्रतियोगिताको अन्तिम १६ मा स्थान सुरक्षित गर्न पोर्चुगललाई फ्रान्ससँग कम्तीमा एक अंक खोस्नुपर्ने थियो । क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमार्फत दुई गोल गरेपछि पोर्चुगल आफूलाई आवश्यक त्यो अंक लिन सफल भएको छ ।
रोनाल्डोले खेलको ३०औँ मिनेटमा पेनाल्टी गोलमार्फत पोर्चुगललाई १–० को अग्रता दिलाएका थिए । बल क्लियर गर्ने प्रयासमा फ्रान्सका गोलरक्षक ह्युगो ल्होरिसले हेडिङ गर्न उफ्रिएका डानिलोलाई हातले प्रहार गरेपछि पोर्चुगलले पेनाल्टी अवसर पाएको थियो । सोही अवसरलाई रोनाल्डोले सदुपयोग गरेका हुन् ।
तर, फ्रान्सले त्यसको १५ मिनेटपछि नै पेनाल्टी गोलमार्फत बराबरी गोल फर्कायो । केलियन एम्बाप्पलेलाई पोर्चुगलका नेल्सन सेमेदोले आफ्नो बक्सभित्र लडाएपछि प्राप्त पेनाल्टी अवसर सदुपयोग गर्दै बेन्जेमाले गोल गरेका हुन् । फ्रान्सेली राष्ट्रिय टोलीबाट उनले ६ वर्षपछि गोल गरेका हुन् ।
खेलको दोस्रो हाफ सुरु भएलगत्तै बेन्जेमाले उत्कृष्ट गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । पल पोग्बाले दिएको उत्कृष्ट पासलाई डी बक्सभित्र नियन्त्रणमा लिएर बेञ्जेमाले प्रहार गरेको बल साइड बारमा लागेर गोलमा परिणत भएको थियो । त्यसको १३ मिनेटपछि रोनाल्डोले अर्काे पेनाल्टी अवसर सदुपयोग गर्दै टोलीलाई पराजयबाट जोगाए । यो नतिजापछि जर्मनी र पोर्चुगलको समान ४–४ अंक भए पनि दुई टोलीबीचको हेड टु हेड नतिजामा जर्मनी दोस्रो स्थानमा रहेर प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको हो । यसअघि यसै प्रतियोगिताअन्तर्गत भएको खेलमा पोर्चुगल जर्मनीसँग ४–२ गोल अन्तरले पराजित भएको थियो ।
हंगेरीको दुर्भाग्य
बुधबार राति म्युनिखस्थित घरेलु मैदानमा भएको खेलमा जर्मनीले हंगेरीविरुद्ध निक्कै संघर्ष गर्याे । जर्मनी कुनै समय प्रतियोगिताको समूगत चरणबाटै बाहिरिने अवस्थामा देखिएको थियो । ‘सब्स्टिच्युड’ मिडफिल्डर गोरेज्काले खेलको ८४औँ मिनेटमा बराबरी गोल गरेपछि मात्रै जर्मनी त्यो सम्भावित दुर्भाग्यबाट बचेको थियो ।
उनले झन्डै १६ यार्ड दूरीबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यससँगै हंगेरीको अघिल्लो चरण प्रवेशको सम्भावना समाप्त भएको थियो । गोरेज्काले गोल गर्नुअघिसम्म हंगेरीको सम्भावना बलियो थियो ।

प्रतियोगिताबाट बाहिरिए पनि हंगेरीले जारी प्रतियोगितामा आफ्नो गतिलो छाप छाडेको छ । प्रतियोगिताको आफ्नो पहिलो खेलमा पोर्चुगलसँग ३–० ले पराजित भएको हंगेरीले दोस्रो खेलमा फ्रान्सलाई १–१ गोलको बराबरीमा रोकेको थियो । त्यसपछि जर्मनीसँग जितको निकै नजिक पुगेर २–२ गोलको बराबरीमै रोकिएको छ । हंगेरीले खेलको ११औँ मिनेटमा अग्रता बनाएको थियो । रोलान्ड सलाइको ‘लङ रेञ्ज’ पासमा उत्कृष्ट हेडिङ गोल गर्दै कप्तान स्जालाईले टोलीलाई अग्रता दिलाएका थिए ।
चेल्सीका स्ट्राइकर हाभार्जले खेलको ६६औँ मिनेटमा खेल १–१ को बराबरीमा फर्काए । हंगेरीका गोलरक्षक पिटर गुलाक्सीको गल्तीमा हाभार्जले हेडिङ गोल गरेका थिए । यद्यपि, ६८औँ मिनेटमा कप्तान स्जालाईको सहयोगमा चाफरले गोल गर्दै हंगेरीलाई फेरि २–१ ले अडाडि राखेका थिए । त्यसवेलासम्म हंगेरी चिर्चिच जितसँगै प्रतियोगिताको अघिल्लो चरणमा पुग्ने लयमा देखिएको थियो । यद्यपि, उनीहरूको त्यो सम्भावना गोरेज्काले अन्त्य गरिदिए ।