युरोकपमा सहभागी स्पेनको टोली सबैभन्दा युवा, स्विडेनको टोली सबैभन्दा पाको

बिहिबार, १० असार, २०७८
डिजिटल संस्करण

युरोकप २०२० को समूह चरणका खेल लगभग समाप्त हुँदै छ । युरोपको ११ देशका ११ सहरमा चलिरहेको युरोकपले अन्तर्राष्ट्रिय मिडियामा प्रमुख स्थान पाउँदै आइरहेको छ । साथसाथै युरोकप सहभागी टिम, खेलाडीलगायत विभिन्न पक्षहरूका बारेमा पनि मिडियाले जानकारी दिइरहेका छन् ।  

प्रतियोगितामा २४ राष्ट्रहरूले सहभागिता जनाएका छन् । पहिलो चरणको खेल समाप्तिसँगै प्रतियोगितामा १६ टोली मात्रै रहनेछन् । कोरोना महामारीका कारण हरेक टोलीमा यसपटक २६ खेलाडी रहन सक्ने युइएफए र फिफाले नियम बनाएको छ । अन्य वेला एक टोलीमा २३ खेलाडी मात्रै रहन्थे । रिजर्भ तथा विस्थापन खेलाडीमा कुनै समस्या नहोस् भनेर थप तीन खेलाडी समावेश गरेको हो ।

यसैबीच युरोकपमा सहभागी टिममा सबैभन्दा बढी उमेरका खेलाडी कुन टिममा छन् सबैभन्दा कम उमेरका खेलाडी कुन टिममा छन् भनेर यहाँ चर्चा गरिएको छ । युवाहरूको टोली स्पेन स्पेनले सन् २००८ देखि सन् २०१२ सम्म अपनाएको खेल शैली चालू युरोकपमा पनि अपनाएको छ । त्यसबीचमा स्टार खेलाडीले भरिएको स्पेनले विश्वकप एकपटक र युरोकप दुईपटक जित्न सफल भएको थियो ।

अहिले यही शैलीमा पुनः एकपटक युरोकप उचाल्ने स्पेनको मनसाय छ । चालू युरोकपमा सहभागी स्पेनी टोली सबैभन्दा युवा टोली पनि हो । स्पेनी खेलाडीहरूको औसत उमेर २४ वर्ष एक महिना मात्र रहेको छ । टोलीमा सहभागी बार्सिलोनाका मिडफिल्डर पेड्रोको उमेर जम्मा १८ वर्षको छ । यो टोलीमा सिनियर खेलाडी सर्जियो बुस्केट तथा जोर्डी अल्वा ३२ वर्षका छन् । प्रतियोगिताबाट बाहिरिसकेको टर्की युवा खेलाडीको सूचीमा दोस्रो स्थानमा छ । टर्किस खेलाडीहरूको औसत उमेर २४ वर्ष ६ महिना रहेको छ । यसैगरी इंग्ल्यान्ड तेस्रो स्थानमा छ । इंग्ल्यान्डको टोलीमा रहेका खेलाडीहरूको औसत उमेर २८ वर्ष ८ महिना रहेको छ । 

स्विडेनको टोलीमा पाका खेलाडी धेरै 
चालू युरोकपमा पाका खेलाडीले भरिएको टोली स्विडेनको हो । स्विडेनले छनोट गरेका खेलाडीको औसत उमेर २९ वर्ष दुई महिना रहेको छ । यसैगरी बेल्जियम दोस्रो स्थानमा पर्छ । बेल्जियमको औसत खेलाडीको उमेर २८ वर्ष सात महिना रहेको छ । बेल्जियममा सहभागी खेलाडीहरूले समग्रमा एक हजार तीन सय ३८ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । बेल्जियमका खेलाडी चालू युरोकपका सबैभन्दा अनुभवी खेलाडीमा पर्छन् । बेल्जियमका चार खेलाडीले सयभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । ड्रायस मेट्सले पनि सय खेल पुर्‍याएका छन् ।

नेदरल्यान्ड्सका गोलरक्षक सबैभन्दा पाका
युवा खेलाडी र टोलीबीचमै नेदरल्यान्डका गोलरक्षक मार्टिन स्टेकेलेवर्ग चालू युरोकपका सबैभन्दा पाका खेलाडीमा हुन् । उनी ३८ वर्षका छन् । यद्यपि पाको उमेर भए पनि उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । 

सुझावित समाचार