युरोकप मन पर्ने प्रतियोगिता हो । जतिवेलादेखि फुटबल हेर्न थालेँ, त्यसवेलादेखि युरोकप छुटाएको छैन । युरोकपमा मेरो मन पर्ने टोली पोर्चुगल हो । यो टोलीमा रोनाल्डो मन पर्ने खेलाडी हुन् । रोनाल्डोकै कारण पोर्चुगल मन परेको हो ।
म फुटबलर बन्नुमा पनि उनको प्रेरणा छ । उनी बाल्यकालमा धेरै संघर्ष गरेर यो उचाइमा पुगेका हुन् । म पनि गाउँमा मोजाको बल खेलेर राष्ट्रिय टोलीसम्म पुगेकी हुँ । संघर्षको तरिका फरक छ, सफलता फरक होला । तर, उनको यो संघर्षको कथामा कतै म आफूलाई पनि देख्छु । त्यसैले मैले पनि खेलाडीको रूपमा उनलाई पछ्याउने गरेकी छु । गोल गरेपछि सेलेब्रेसन गर्दा पनि उनकै शैलीमा गर्छु । उमेरका कारण पनि उनका लागि यो युरोकप अन्तिम हुन सक्छ । त्यसैले यो युरोकप रोनाल्डोकै लागि भए पनि फेरि एकपटक पोर्चुगलले जितोस् भन्ने चाहन्छु ।
यद्यपि, पोर्चुगललाई यसपटक मुस्किल छ । पोर्चुगल समूहगत चरणमै ‘ग्रुप अफ डेथ’मा परेको छ । पोर्चुगललाई समूहमै मुस्किल देखिएको छ । समूहगत चरण पार गर्यो भने पनि पोर्चुगललाई सहज छैन । अन्य टोलीहरू उत्तिकै राम्रा छन् । अघिल्लो युरोकपको तुलनामा यसपटक सबै टोलीको स्तर सुधार भएको अनुभव गरेको छु ।
जर्मनी, इंग्ल्यान्ड, फ्रान्स, बेल्जियम राम्रा छन् । यी टोलीहरूले युवा खेलाडीलाई प्राथमिकता दिएका छन् । त्यसैले उनीहरूको खेल सशक्त देखिएको छ । यस्तै, इटालीको टोली पनि बलियो छ । इटालीको टोली पहिला पनि सन्तुलित लाग्थ्यो । जारी युरोकपमा पनि त्यस्तै सन्तुलित पाएकी छु ।
पोर्चुगललाई यी टोलीहरूले नै उपाधिबाट विमुख गर्न सक्छन् । पोर्चुगलले अब आफ्नो समूहको अन्तिम खेल फ्रान्ससँग खेल्दै छ । यो खेल पोर्चुगलका लागि मुस्किल हुने निश्चित छ । यद्यपि, यो खेलमा राम्रो नतिजासहित पोर्चुगल नकआउट चरणमा पुगोस् भन्ने चाहन्छु ।