कोभिड संक्रमण कम हुँदै गएपछि निषेधाज्ञा पनि खुकुलो हुने विश्वाससहित अटो व्यवसायीहरू ग्राहक आकर्षित गर्न विभिन्न आकर्षक योजना बनाउन व्यस्त हुन थालेका छन् । कोभिडको दोस्रो लहर फैलिन नदिन सरकारले वैशाखको दोस्रो सातादेखि निषेधाज्ञा जारी गरेपछि सवारीसाधनलगायतका अधिकांश व्यवसाय ठप्प छ ।
डेढ महिनादेखि जारी निषेधाज्ञालाई सरकारले पनि क्रमशः खुकुलो बनाउँदै लैजाने तयारी गरिरहेको छ । निषेधाज्ञा खुकुलो भएसँगै बजार खुल्ने, आर्थिक गतिविधि बढ्ने र सवारीसाधनको बिक्री पनि बढ्ने जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले विश्वास व्यक्त गरे । गत वर्ष पहिलो चरणको लकडाउन (चैत–जेठ) खुकुलो हुनेबित्तिकै असारदेखि नै दुईपांग्रे सवारीसाधनको बिक्री सामान्य अवस्थाकै जस्तो भएको थियो ।
करिब ३ महिनापछि लकडाउन खुकुलो हुँदा स्टकमा रहेका स्कुटर र बाइकले बजारको माग धान्न सकेको थिएन । अटो व्यवसायीका अनुसार आर्थिक गतिविधि बढेपछि मंसिरदेखि चारपांग्रे गाडीको बिक्री पनि बढ्न थालेको थियो । कोभिडकै बीचमा गाडीको माग ह्वात्तै बढेपछि कम्पनीले समयमै डेलिभरी दिन सकेका थिएनन् ।
अर्थतन्त्रका अरू क्षेत्रहरू तंग्रिँदै गर्दा पुरानै लयमा फर्किसकेको अटो व्यवसाय कोभिडको दोस्रो लहरले पुनः शिथिल बनेको छ । लकडाउन खुकुलो भएपछि बजारको स्थिति हेरेर ग्राहक लक्षित क्याम्पियनका कार्यक्रम ल्याउने एचएच बजाजकी सहायक महाप्रबन्धक पुनम सिंह बताउँछिन् । ‘सरकारले लकडाउन कसरी खुकुलो बनाउँछ, बजारको स्थिति कस्तो हुन्छ, हेरेर अगाडि बढ्छौँ,’ उनले भनिन्, ‘बजार खुलेपछि केही न केही स्किम त ल्याउनैपर्छ ।’ बजाजले नयाँ वर्ष अफरमा ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याजदरको फाइनान्सिङ र १० हजार क्यासब्याक अफरलाई निरन्तरता दिइरहेको छ ।
कोभिड महामारीबाट जोगिन सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले पनि निजी सवारीसाधनको माग बढेको हो । एकातिर सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न नदिने र अर्कोतिर सार्वजनिक यातायातमा कोरोनाको जोखिम बढी हुने भएकाले विश्वभरि नै निजी सवारीसाधनको प्रयोग बढिरहेको छ । विश्व स्वास्थ्य संगठनले पनि कोभिडबाट बच्न जतिसक्दो सामाजिक दूरी कायम गर्न सुझाब दिएको छ । सार्वजनिक सवारीसाधनमा यात्रुबीच सामाजिक दूरी कायम गर्ने सम्भावना नभएका कारण लकडाउन खुकुलो हुनेबित्तिकै निजी सवारीसाधनको माग बढ्ने व्यवसायीको विश्वास छ ।
अघिल्लो लकडाउन खुकुलो हुनेबित्तिकै कम्पनीहरूले विभिन्न प्रवद्र्धनात्मक योजनाहरू सार्वजनिक गरेका थिए । शून्य प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा, कम डाउन पेमेन्ट तथा किस्ता, उच्च छुट, क्यासब्याक, एक्सचेन्जलगायत सुविधाले पनि सवारीसाधनको बिक्री बढाउन गत वर्ष मद्दत पुगेको थियो । कोभिड मत्थर भएपछि धेरै कम्पनीले नयाँ वर्षमा आकर्षक अफर ल्याएका थिए । तर, लगत्तै निषेधाज्ञा जारी भएपछि सवारीसाधनको बिक्री भएन । त्यसैले, कतिपय कम्पनीले नयाँ वर्ष अफरलाई निरन्तरता दिइरहेका छन् भने कतिपयले नयाँ अफर ल्याउने तयारीमा जुटेका छन् ।
कोभिड महामारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सम्भावना भएकाले पनि व्यक्तिगत सवारीसाधनको कारोबार बढाउँछ । अघिल्लोपटक जोर–बिजोर प्रणाली लागू गर्दा गाडी हुनेहरूले पनि बाइक तथा स्कुटर खरिद गरेका थिए । यसपटक पनि सरकारले काठमाडौं उपत्यकामा सवारी चाप कम गर्नका लागि जोर–बिजोर प्रणाली लागू गर्ने सम्भावना छ । त्यसैले पनि निषेधाज्ञापछि दुईपांग्रेको बिक्री बढ्ने यामाहा बाइकको नेपाली विक्रेता एमएडब्लू इन्टरप्राइजेजका पिआर हेड रमेश दनेखु बताउँछन् । ‘अहिले निषेधाज्ञामा पनि गाडी र बाइक–स्कुटरको इन्क्वायरी आइरहेको छ,’ उनले भने, ‘अहिले बजारमा दुईपांग्रे र चारपांग्रेमा तीव्र प्रतिस्पर्धा छ, सबै कम्पनी दुईपांग्रेको प्रमोसन र मार्केटिङमा व्यापक लाग्ने देखिन्छ ।’ निषेधाज्ञा खुलेपछि यामाहा बाइकको पनि आकर्षक स्किम आउने बताइएको छ । अघिल्लोपटकजस्तै अहिले पनि दुईपांग्रेको बिक्री धेरै हुने व्यवसायीको अनुमान छ ।
विद्युतीय कारमा राजस्व घटाएपछि हुन्डाई गाडी विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय सवारीसाधनको एग्रेसिभ बजार विस्तारमा लागेको छ । यो कम्पनीले विद्युतीय गाडी बिक्री गर्नका लागि चार्जिङ स्टेसनमा ठूलो लगानी गर्ने भएको छ । कम्पनीले मुलुकका विभिन्न २१ ठाउँमा चार्जिङ स्टेसन बनाउन लागेको छ । र, ती चार्जिङ स्टेसनमा हुन्डाईका विद्युतीय कार निःशुल्क चार्ज गर्न पाउने व्यवस्था मिलाउने लक्ष्मी हुन्डाईले जानकारी दिएको छ । किया र एमजी ब्रान्डले पनि विद्युतीय गाडीको विस्तारमा आक्रामक ढंगले उत्रिँदै छन् । हुन्डाई र कियाले वीरगन्ज भन्सारमा अड्किएका विद्युतीय गाडी ल्याएर बिक्री गर्नका लागि प्रक्रिया अगाडि बढाएका छन् । यी ब्रान्डले आफ्ना विद्युतीय गाडीको मूल्य घटाएर सार्वजनिक गरिसकेका छन् ।
जगदम्बा मोटर्सले टिभिएस बाइक र प्रोटोन गाडीमा अझै यही अफर ल्याउने भनेर सोचिसकेको छैन । तैपनि अटोमोबाइल बजारको अवस्था हेरेर स्किम ल्याउने तयारीमा कम्पनी छ । ‘हामीसँग टिभिएस बाइक र स्कुटरको पर्याप्त स्टक राखेका छौँ,’ उनले भने, ‘निषेधाज्ञा खुले पनि तत्काल सार्वजनिक यातायात नचल्न सक्छन्, चले पनि सार्वजनिक यातायातको यात्रा सुरक्षित नहुन सक्छ, त्यसैले नेपालमा टू ह्विलर नै सबैभन्दा सुरक्षित साधन बनेको छ ।’
कोभिड मत्थर भएपछि बीचमा टिभिएस कम्पनीले भृकुटीमण्डपमा आयोजना गरेको एक्सचेन्ज मेलामा बाक्लो भिड देखिएको थियो । एचएच बजाजकी पुनम सिंह पनि गत वर्षजस्तै यसपटक पनि निषेधाज्ञा खुलेपछि दुईपांग्रे बजार गुल्जार हुने विश्वास गर्छिन् । चारपांग्रे सवारीसाधनको हकमा कारोबार लयमा फर्किन अलिक समय लाग्ने व्यवसायीहरू बताउँछन् । ‘निषेधाज्ञा खुकुलो बनाएपछि जोर–बिजोर प्रणाली लागू भयो भने दुईपांग्रेको बिक्री पक्कै बढ्छ,’ उनले भनिन्, ‘गत वर्ष पनि कोभिडपछि सवारीसाधन बिक्री हुँदैनन् भन्ने अनुमान थियो, तर बजार खुल्नेबित्तिकै दुईपांग्रे बिक्री भएर स्टक नै सकिएको थियो ।’