विश्वकप तथा एसियनकप छनोटको खेलबाट भर्खरै फर्किएका छौँ । यात्रा र थकानले गर्दा युरोकपका सबै खेल हेर्न पाएको छैन । युरोकपसँगै अहिले कोपा अमेरिका पनि जारी छ । यी प्रतियोगिता फुटबल खेलाडीहरूका लागि चाडपर्वजस्तै हो । विश्वकपपछि फुटबलरहरूका लागि यही प्रतियोगिता महत्वपूर्ण हुने गर्छन् ।
खेल्न पाउने खेलाडीहरूका लागि त यी प्रतियोगिता यत्तिकै पनि महत्वपूर्ण हुने गर्दछ । हाम्रा लागि पनि प्रतियोगिता हेर्नका लागि मात्रै होइन, हेरेर केही सिक्नका लागि महत्वपूर्ण हुन्छ नै । भलै समयका कारण सबै खेल लाइभ हेर्न पाएको छैन । यो सम्भव पनि देखेको छैन । युरोकपका प्रायः खेलहरू राति नै हुने गर्छन् । कोपा अमेरिका पनि ‘अर्ली मर्निङ’ हुने गर्छ । त्यसैले पनि यी खेल लाइभ हेर्न मुस्किल हुने गरेको छ ।
आफ्नो स्वास्थ्यलाई ख्याल गरेर पनि राति अबेरसम्म बसेर वा बिहान चाँडै उठेर खेल हेर्न सम्भव छैन । आफैँले खेल्नुपर्ने महत्वपूर्ण खेलहरू पनि आउँदै छन् । त्यसका लागि प्रशिक्षण सुरु हुँदै छ । त्यसले गर्दा पनि राति अबेरसम्म बसेर लाइभ खेल हेर्न मुस्किल छ । राम्रोसँग निद्रा पुगेन भने राम्रोसँग प्रशिक्षण गर्न सकिँदैन । त्यसले खेल पनि राम्रो हुँदैन । त्यसका बाबजुद केही राम्रा खेलहरू भने छुटाउन सकेको छैन । जर्मनी र फ्रान्सबीचको खेल राति अबेर बसेरै पनि हेरेँ । बाँकी खेलहरू भने ‘हाइलाइट्स’ हेरेको छु ।
फुटबल खेलाडीहरूले यस्ता प्रतियोगितामा हेरेरै पनि धेरै सिक्न सक्छन् । मैले पनि खेल हेर्दा केही सिक्ने उद्देश्यले नै हेर्ने गरेको छु । आफू गोलरक्षक भएकाले विशेष गरी गोलरक्षककै खेल हेर्ने गर्छु । साथै, अन्य खेलाडीको प्रदर्शन पनि हेर्ने गरेको छु । उनीहरूको शैली हेरेर आफ्नो खेलमा सुधार ल्याउन सकिन्छ ।
यी प्रतियोगितामा यही देश वा यही खेलाडी मन पर्छ भन्ने छैन । जसले राम्रो खेल्छ, त्यसकै खेल हेर्न मन लाग्छ । प्रतिस्पर्धात्मक बन्ने खेलहरू छुटाउन मन लाग्दैन । समर्थन एउटै मात्र खेलाडी वा देशलाई नभएकाले यसैले उपाधि जितोस् भन्ने पनि छैन । प्रतियोगितामा जसले राम्रो प्रदर्शन गर्न सक्छ, उसले नै उपाधि जित्ने हो ।