इमिल फोर्सबर्गले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको एक गोलको मद्धतले स्विडेनले युरोकप २०२० अन्तर्गत आफ्नो दोस्रो खेलमा महत्वपूर्ण जित हात पारेकोछ । शुक्रबार साँझ रुसको सेन्ट पिटसर्गमा भएको खेलमा स्विडेनले स्लोभाकियालाई १–० गोलले पराजित गर्यो ।
यो जितसँगै स्विडेनले प्रतियोगिताको प्रिक्वार्टरफाइनल चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ । दुई खेलबाट चार अंक जोडेको स्विडेन समूह ईको शीर्ष स्थानमा उक्लिएको छ ।
स्विडेनसँगको पराजयपछि स्लोभाकियाले भने दोस्रो खेलबाटै नकआउट चरणको यात्रा निश्चित गर्ने अवसर खेर फालेको छ । आफ्नो पहिलो खेलमा पोल्याण्डलाई पराजित गरेको स्लोभाकिया तीन अंकका साथ दोस्रो स्थानमा छ । स्विडेनले आफ्नो पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो ।
स्विडेनका लागि खेलको निर्धारित समय सकिन मात्रै १३ मिनेटअघि जर्मन क्लब आरबी लेइपजिगका खेलाडी फोर्सबर्गले पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए । परिवर्तित खेलाडी रोविन क्वाइसनलाई स्लोभाकियाका गोलरक्षक मार्टिन दुब्राभ्काले लडाएपछि स्विडेनले पेनाल्टी अवसर पाएको थियो । त्यही अवसर फोर्सबर्गले सदुपयोग गरेका हुन् ।
युरोकप इतिहासमा स्विडेनले पछिल्लो तीन सय ६५ मिनेटपछि पहिलो गोल गरेको हो । सन् २०१६ को युरोकपको आफ्नो पहिलो खेलमा गोल गरेदेखि स्विडेनले युरोकपको खेलमा गोलसम्म गर्न सकेको थिएन ।