युक्रेनले युरोकप २०२० मा पहिलो जित हात पारेको छ । समूह ‘सी’अन्तर्गत बिहीबार साँझ बुचरेष्टमा भएको खेलमा युक्रेनले पहिलो पटक युरोकप खेलिरहेको नर्थ म्यासेडोनियालाई २–१ गोलले पराजित गरेको हो ।
जितसँगै युक्रेनले दुई खेलबाट तीन अंक जोडेको छ । यो जितपछि युक्रेनले समूह सीबाट नकआउट चरण प्रवेश गर्ने सम्भावनालाई जीवितै राखेको छ । युक्रेन आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग ३–२ ले पराजित भएको थियो ।
एन्ड्री शेभचेन्कोको टोली युक्रेनले युरोकपमा लगातार ६ खेलको पराजयपछि पहिलो जित हात पारेको हो । युक्रेनलाई खेलको २८औं मिनेटमा कप्तान एन्ड्री यार्माेलेन्कोले १–० ले अघि बढाएका थिए । कर्नरमार्फत आएको बललाई म्यासेडोनियाको कमजोर रक्षापक्तीको फाइदा उँदाउदै कप्तान एन्ड्रीले हेडिङ गोल गरेका थिए ।
युक्रेनले त्यसको पाँच मिनेटपछि उनै कप्तान एन्ड्रीको सहयोगमा अग्रता दोव्वर बनायो । वेस्ट हामका फर्वाड एन्ड्रीले उपलब्ध गराएको बललाई रोमन यारेम्चुकले गोलमा परिणत गराएका थिए ।
खेलको ५७औं मिनेटमा पेनाल्टी अवसर सदुपयोग गर्दै इक्जान एलिवस्कीले म्यासेडोनियाका लागि एक गोल फर्काए । यद्यपि, त्यसपछिको समयमा अरु गोल थप्न नसक्दा म्यासेडोनिया पराजय टार्न असफल रह्यो । खेलको अन्त्यतिर युक्रेनका रुस्लान मालिनोभ्स्कीले प्रहार गरेको पेनाल्टी प्रहारलाई असफल बनाउँदै गोलरक्षक स्टोल दिमित्रिइभ्स्कीले म्यासेडोनीयाको फराकिलो हार टारेका थिए ।