नेपाल सिआरएस कम्पनीले परिवार योजनासम्बन्धी ‘मेरी संगिनी’ नामक मोबाइल एप सुरु गरेको छ । कम्पनीले अस्थायी र छोटो अवधिका परिवार योजनाका साधनहरूबारे विस्तृत जानकारी दिने उद्देश्यले मेरी संगिनी मोबाइल एप सुरु गरेको हो ।
एपले अस्थायी तथा छोटो अवधिका परिवार योजनाका साधनहरूसम्बन्धी तथा सो साधनको प्रयोगबाट पर्न जाने साधारणप्रति असरहरूकाध बारेमा समेत जानकारी दिने जनाइएको छ । यो जानकारी प्रजनन उमेरका जोकोहीलाई अति उपयोगी हुने भए तापनि विशेष गरी किशोर तथा किशोरी एवं नवविवाहित जोडीहरूलाई बढी उपयोगी हुने कम्पनीले जनाएको छ ।
एपमा भएको ‘प्रायः सोधिने प्रश्नहरू’ खण्डले परिवार योजनाका अस्थायी तथा छोटो अवधिका साधन प्रयोगकर्तालाई अझ विस्तृत जानकारी दिनुका साथै सम्भाव्य प्रयोगकर्तालाई साधनहरूको सुसूचित छनोट गर्न मद्दत गर्ने कम्पनीको दाबी छ ।
साथै, एपमा आफूनजिकैको अस्थायी तथा छोटो अवधिका परिवार योजनाका साधन उपलब्ध गराउने औषधि पसल, क्लिनिक र संगिनी सेवा केन्द्रको ठेगाना र नक्सा पनि उपलब्ध हुने हुँदा आफूनजिकैको तालिमप्राप्त र दक्ष सेवा केन्द्रबाट आफूलाई उपयुक्त हुने साधनको सेवासमेत लिन मद्दत गर्ने कम्पनीले जनाएको छ ।
नेपाल सिआरएस कम्पनीका प्रबन्ध निर्देशक जीवलाल पोखरेलले मातृ मृत्युदर घटाउन परिवार योजनाको ठूलो भूमिका रहेको र प्रयोगकर्तामाझ सही र अद्यावधिक सूचनाको पहुँच बढाउनमा सञ्चार प्रविधिको ठूलो महत्व रहेको बताए ।