सेतीवेणी बजार डुबानको उच्च जोखिममा, नदी किनारनजिकका सात घर भत्किए

बुधबार, २ असार, २०७८
डिजिटल संस्करण

अविरल वर्षाका कारण कालीगण्डकी नदीको बहाव बढेपछि पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थल सेतीवेणी बजार डुबानको उच्च जोखिममा छ । नदी–किनारनजिकका सातवटा घर भत्किएका छन् ।

प्रभावितलाई सुरक्षित स्थानमा सारिएको बिहादी गाउँपालिकाका अभ्यक्ष कमलप्रसाद भुसालले जानकारी दिए । ‘मैलै त्यो स्थानमा पुगेर निरीक्षणसमेत गरेँ, कालीगण्डकी नदी र सेतीखोलामा पानीको बहाव बढिरहेकाले जोखिम कायमै छ’ भुसालले भने, ‘आवश्यक सहयोगका लागि हामी तयार छौँ ।’ शालिग्राम क्षेत्रमा रहेका सबै संरचनासमेत बाढीले बगाएको भुसालले बताए ।  

बजारको सबै बस्ती जोखिममा रहेका कारण सेतीवेणीवासी रातभर जाग्राम बसेको स्थानीय मदन ज्ञवालीले बताए । ‘रातभरि हामी कोही पनि सुतेका छैनौँ, ज्ञवालीले भने, ‘कतिवेला के हुने हो थाहा छैन ।’

कालीगण्डकी जलविद्युत् परियाेजनाको निर्माणपछि सेतीवेणी बजार सँधै जोखिममा छ । बजारभन्दा सात किलोमिटर तल परियोजनाको बाँध छ । कालीगण्डकी जलविद्यूत परियोजनाको बाँधका सबै ढोका खोलिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए । नेपालले भने, ‘यो वेलामा सुरक्षा अपनाउनु महत्त्वपूर्ण कुरा हो ।’

सुझावित समाचार