नेदरल्यान्ड्स र युक्रेनबीच रोमाञ्चक भिडन्त ३३ मिनेटभित्र पाँच गोल

मंगलबार, १ असार, २०७८
डिजिटल संस्करण
नेदरल्यान्ड्स र युक्रेनबीच रोमाञ्चक भिडन्त ३३ मिनेटभित्र पाँच गोल

सोमबार साँझ सम्पन्न चेक रिपब्लिकन र स्कटल्याडबीचको खेलमा सहभागी खेलाडीहरू ।

युरोकप २०२० अन्तर्गत समूह सीमा नेदरल्यान्ड्स र युक्रेनबीच रोमाञ्चक भिडन्त भयो । आइतबार राति घरेलु मैदानमा नेदरल्यान्ड्सले युक्रेनमाथि ३–२ को जित निकाल्यो । नेदरल्यान्ड्सले युक्रेनसँग तेस्रोपटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा दोस्रो जित हात पारेको हो । यी दुई टोलीबीच एक खेल बराबरी भएको छ । यी दुई देश पहिलोपटक युरोकपमा आमनेसामने भएका हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ३३ मिनेटको अन्तरमा पाँच गोल भएको थियो । खेलको ५२औँदेखि ८५औँ मिनेटभित्र पाँच गोल भएको हो । ८४औँ मिनेटसम्म दुवै देशबीच २–२ को बराबरी खेल चलिरहेको थियो । खेलको ८५औँ मिनेटमा डेन्जेल डुफ्रेजले डिबक्सभित्र उत्कृष्ट हेडिङ गोल गर्दै नेदरल्यान्ड्सलाई नाटकीय रूपमा ३–२ को जित दिलाए । 

नेदरल्यान्ड्सका प्रशिक्षक फ्याँक डे बोएरले युरोकपमा युवा तथा अनुभवी खेलाडीलाई समावेश गरेका छन् । युक्रेनले पछिल्लो ६ खेलमा दुई जित र चार बराबरी नतिजा निकालेको छ । युक्रेनले पछिल्लो २२ मध्ये २१ खेलमा विपक्षी पोस्टमा गोल गर्न सफल भयो । युरोकपमा छैटौँ सहभागितामा युक्रेनले पहिलोपटक पहिलो खेलमा गोल गर्न सफल भयो । 

यसअघिको पाँचपटकको सहभागितामा युक्रेन पहिलो खेलमा गोलविहीन थियो । नेदरल्यान्ड्सले भने पछिल्लो ११ अन्तर्राष्ट्रिय खेलमा एकमा मात्र हार सामना गरेको छ । दशौँपटक युरोकपमा सहभागिता जनाइरहेको नेदरल्यान्ड्सले समूहको पहिलो खेलमा ६ जित र चार बराबरी निकालेको छ । खेलमा नेदरल्यान्ड्सले ६२ तथा युक्रेनले ३८ प्रतिशत बल पोसेसन बनाएको थियो । आक्रामक शैलीमा प्रतिस्पर्धा गरेको नेदरल्यान्ड्सले युक्रेनको पोस्टमा स्पष्ट १५ पटक पोस्ट चार्ज गरेको थियो । 

अस्ट्रियाको सानदार जित
युरोकपको नवप्रवेशी देश नर्थ मेसेडोनिया पहिलो डेब्यु खेलमै ३–१ ले पराजित भएको छ । आइतबार राति समूह सीको खेलमा नर्थ मेसेडोनिया अस्ट्रियासँग ३–१ ले पराजित भएको हो ।

जितसँगै समूह सीमा अस्ट्रिया तीन अंकका साथ शीर्ष स्थानमा छ । नेदरल्यान्ड्सले तीन अंक जोडे पनि गोलअन्तरमा दोस्रो स्थानमा छ । अस्ट्रियाले युरोकपमै पहिलो जित निकालेको हो । अस्ट्रियाको जितमा स्टिफन लेनर, माइकल ग्रोगेरिट्च तथा मार्को अर्नोटोभिचले एकएक गोल गरेका थिए । 

मेसेडोनियाका कप्तान गोरनले खेलको २८औँ मिनेटमा १–१ को बराबरी गोल फर्काएका थिए । युरोकप इतिहासमा मेसेडोनियाका कप्तान गोरनले पाका  दोस्रो खेलाडीका रूपमा गोल गरे । उनी अस्ट्रियाको पोस्टमा गोल गर्दा ३७ वर्ष तीन सय २१ दिन थियो । 

युरोकपमा पाका खेलाडीका रूपमा अस्ट्रियाका वास्टिचको नाममा रेकर्ड छ । उनले सन् २००८ मा पोल्यान्डविरुद्ध पेनाल्टी गोल गरेका थिए । त्यसवेला उनको उमेर ३८ वर्ष दुई सय ५७ दिन थियो । मेसेडोनियाले पछिल्लो १५ मध्ये तीन अन्तर्राष्ट्रिय खेलमा मात्र हार सामना गरेको छ । यसबीच मेसेडोनियाले आठ जित र चार बराबरी नतिजा निकालेको छ । 

चेक रिपब्लिकनसँग स्कटल्यान्ड स्तब्ध
स्ट्राइकर प्याट्रिक सिकको दुई गोलको सहयोगमा चेक रिपब्लिकनले स्कटल्यान्डमाथि २–० को सनसनी जित दर्ता गरेको छ । सोमबार साँझ भएको प्रतियोगिताबाट समूह डीमा चेक रिपब्लिकन जितका साथ शीर्ष स्थानमा उक्लेको छ । यस समूहमा इंग्ल्यान्ड तीन अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्ड र क्रोएसियाले आ–आफ्नो पहिलो खेल गुमाएका छन् । 

सन् १९९८ पछि स्कटल्यान्ड पहिलोपटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा फर्किएको थियो । ह्याम्डेन पार्क ग्लास्गो मैदानमा स्कटल्यान्डविरुद्ध प्याट्रिकले दोस्रो गोल प्रतियोगिताकै उत्कृष्ट रह्यो । प्याट्रिकले गोल पोस्टभन्दा ४९.७ यार्ड टाढाबाट गोल गरेका थिए । 

लगभग मैदानको मध्यभागबाट प्याट्रिकले प्रहार गरेको बल सीधै स्कटल्यान्डको गोलपोस्टभित्र छिरेको थियो । प्याट्रिकले स्कटल्यान्डका गोलरक्षक डेभिड मार्सल सानो डिबक्स क्षेत्रभन्दा हल्का बाहिर आएको फाइदा उठाउँदै गोल गरेका थिए । प्याट्रिकले लामो दूरीबाट प्रहार गरेको बल छेक्ने वा क्लियर गर्ने अवसर गोलरक्षक मार्सलसमक्ष थिएन । प्याट्रिकको सनसनीपूर्ण दोस्रो गोल गर्दा नौ हजार स्कटिस समर्थकसमेत स्तब्ध भएका थिए । यसअघि खेलको ४२औँ मिनेटमा प्याट्रिकले चेक रिपब्लिकनलाई १–० को अग्रता दिलाएका थिए । डिबक्सभित्र भ्लादिमिर कोउफलको क्रसमा उनले हेडिङ गोल गरेका हुन् । पहिलो तथा दोस्रो हाफमा दुवै टोलीले प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल प्रदर्शन गरेका थिए । 

चेक रिपब्लिकनले पछिल्लो ६ युरोकपको सहभागितामा पहिलोपटक पहिलो हाफमा गोल गर्न सफल भयो । खेलका नायक प्याट्रिकले २७ अन्तर्राष्ट्रिय खेलमा १३ गोल गरेका छन् । उनले पछिल्लो ११ अन्तर्राष्ट्रिय खेलमा सात गोल गरेका छन् । 

See More On

सुझावित समाचार