एनसेलले परिमार्जन गर्‍यो १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क

बुधबार, २६ जेठ, २०७८
डिजिटल संस्करण

एनसेल आजियाटा लिमिटेडले जेठ २१ देखि लागू हुने गरी विश्वका १९ देशहरूको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ । कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणले अन्य दूरसञ्चार सेवाप्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कलदरअनुसार नै नयाँ शुल्क तय गरेको हो । 

गत जेठ ९ गते नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई नयँ शुल्कको स्वीकृति दिएको जनाइएको छ । प्राधिकरणले इटाली, माल्टा, जर्मनी, ताजिकस्तान, जोर्डन, थाइल्यान्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएसिाया, फिनल्यान्ड, नेदरल्यान्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरी १९ देशहरूका लागि नयाँ अन्तर्राष्ट्रिय कल शुल्कको स्वीकृति प्रदान गरेको एनसेलले जनाएको छ । 

प्राधिकरणबाट प्राप्त यो स्वीकृतिसँगै यी देशहरूका लागि एनसेलको अन्तर्राष्ट्रिय कल शुल्क अब अरू सेवाप्रदायकले प्राधिकरणको स्वीकृतिबमोजिम लिइरहेको न्यूनतम शुल्कसँग बराबर गरेको कम्पनीको भनाइ छ । 

नयाँ परिमार्जित अन्तर्राष्ट्रिय कल शुल्कअनुसार १८ वटा देशको शुल्क करबाहेक प्रतिमिनेट ३० रुपैयाँ तथा माल्दिभ्सको प्रतिमिनेट कल शुल्क करबाहेक ३० रुपैयाँ ६५ पैसा निर्धारण भएको कम्पनीले जनाएको छ । यसअघि यी देशहरूमा कल गर्दा गन्तव्य देशअनुसार प्रतिमिनेट ४ रुपैयाँ ९९ पैसादेखि १५ रुपैयाँसम्म लाग्ने गरेको जनाइएको छ । अझै पनि माल्दिभ्सका लागि एनसेलको प्रतिमिनेट कल शुल्क अरू सेवाप्रदायकले लिने शुल्कभन्दा निकै नै कम रहेको कम्पनीले जनाएको छ ।

अन्तर्राष्ट्रिय कलका लागि कम्पनीलाई लाग्ने खर्चको तुलनामा खुद्रादर निकै नै कम भएको कम्पनीको भनाइ छ । सम्बन्धित देशका साझेदारहरूले सन् २०१६ देखि आफ्नो शुल्क बढाएका कारणले गर्दा विगत ५ वर्षदेखि एनसेलले अन्तर्राष्ट्रिय कलबापतको राजस्वमा ठूलो नोक्सानी व्यहोर्दै आएको कम्पनीको दाबी छ । 

यसअघि एनसेलले यी देशहरूका लागि प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय शुल्क अन्य सेवाप्रदायकको स्वीकृत कल शुल्कभन्दा ६ गुणा कम दरमा ग्राहकलाई अन्तर्राष्ट्रिय कल सुविधा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । 

See More On

सुझावित समाचार