युवा नेतासँगको भेटमा देउवाले भने– महाधिवेशनका लागि समय थप्ने सुविधा छैन

मंगलबार, २५ जेठ, २०७८
डिजिटल संस्करण

कांग्रेस सभापति शेरबहादुर देउवाले भदौभित्रै पार्टीको १४औँ महाधिवेशन गर्नुपर्नेमा आपूm प्रतिबद्ध रहेको बताएका छन् । पार्टीको महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न देउवानिवास बूढानीलकण्ठमा पुगेका युवा नेताहरूसँग देउवाले यस्तो बताएका हुन् । ‘हामीलाई अरू समय थप्ने सुविधा छैन । त्यसैले यही मितिभित्र गर्नुपर्नेछ । तर, कोरोनाको प्रकोपका कारण अप्ठ्यारो छ,’ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले नयाँ पत्रिकासँग भने । 

सभापति देउवाले महाधिवेशनका विषयमा केही दिनभित्रै पदाधिकारी बैठक बोलाएर छलफल गर्ने बताएका छन् । पार्टीको महाधिवेशन र अन्य राजनीतिक विषयमा छलफलका लागि कांग्रेसका युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, गगन थापा, जीवन परियार, बद्री पाण्डे र प्रदीप पौडेललगायत नेताहरू मंगलबार बिहान ९ बजे देउवानिवासमा पुगेका थिए । 

सो क्रममा करिब एक घन्टा समसामयिक विषयमा कुराकानी भएको छ । ‘हामीले आपूmलाई लागेका कुराहरू सुनायौँ, सुझायौँ । सभापतिज्यूले त्यति कुराकानी, छलफल गर्नै चाहनुभएन । उहाँले धेरै बोल्नुभएन,’ छलफलमा सहभागी एक नेताले भने । 
युवा नेताहरूले पार्टीको महाधिवेशन साझा दायित्व भएको भन्दै पार्टीमा छलफल गरेर कार्यतालिकामा आवश्यक परिमार्जन गर्न र महामारीका बीच महाधिवेशन गर्ने वैकल्पिक उपायबारे छलफल गर्न आग्रह गरेका छन् । नेताहरूले क्रियाशील सदस्यता छानबिन समितिलाईसमेत सक्रिय बनाउन भनेका छन् । 

कांग्रेसले यसपटक अनलाइनमार्फत क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यताको विवरण संकलन गरेको छ । अहिलेसम्म आठ लाखभन्दा बढी सदस्यको विवरण प्राप्त भएको छ । समितिले अन्तिमपटक मौकास्वरूप जिल्ला र क्षेत्रीय समितिहरूलाई मंगलबार राति १२ बजेभित्र क्रियाशील सदस्यताको विवरण अपडेट गरिसक्ने म्याद दिएको छ । 
तर, प्राप्त विवरणमाथि छानबिनको काम सुरु भएको छैन । जबकि क्रियाशीलको विवादकै कारण पार्टीको महाधिवेशन प्रभावित हुँदै आएको छ । यसअघि १३औँ महाधिवेशनमा नरहरि आचार्य नेतृत्वको छानबिन समितिले साढे चार लाख सदस्यता छानबिनका लागि ६ महिना लगाए पनि बढी विवाद रहेका ५० हजार सदस्यता १४औँ महाधिवेशनका लागि थाती राखेको थियो । 

यसपटक त्यसको करिब दोब्बर क्रियाशील सदस्य छन्, तर त्यसमाथि छानविनका लागि समय छैन । अहिलेको रमेश लेखक नेतृत्वको छानबिन समितिले क्रियाशील छानबिनका लागि थोरैमा पनि एक महिना लाग्ने अनुमान गरिरहेको छ । यसअघि निर्धारित कार्यतालिकाअनुसार १७ जेठभित्र छानबिन समितिले क्रियाशील छानबिन गरी केन्द्रीय समितिलाई बुझाइसक्नुपर्ने थियो । 

पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा तहको अधिवेशनको मिति आउन अब १० दिन मात्रै बाँकी छ । ५ असारमा वडा र ७ असारमा पालिकास्तरको अधिवेशन गर्ने कांग्रेसको कार्यतालिका छ । यो मितिमा अब महाधिवेशन नहुने निश्चित भइसकेको छ । 

सभापति देउवासमक्ष युवा नेताहरूले वडा र स्थानीय तहस्तरको अधिवेशनको मितिलाई परिमार्जन गरेर महामारीकै बीचमा भए पनि वैकल्पिक उपायमार्फत पार्टीको जीवनलाई जीवन्त राख्नुपर्ने सुझाब राखेका छन् । ‘राष्ट्रिय महाधिवेशनका लागि केही समस्या हुन सक्छ, त्यसका लागि वैकिल्पक माध्यमबारे छलफल गर्नुपर्ने हो । नभए तल्ला तहको अधिवेशनका लागि ठूलो समस्या देखिँदैन । थोरै–थोरै सख्ंयामा जम्मा भएर महाधिवेशन गर्न सकिन्छ भन्ने कुराहरू राख्यौँ,’ केन्द्रीय सदस्य जीवन परियारले भने, ‘उहाँले पनि सकारात्मक प्रतिक्रिया दिनुभएको छ ।’ नेता परियारले केन्द्रीय महाधिवेशनलाई जिल्लाबाटै मतदान गर्ने व्यवस्था गर्न सकिने वा अन्य विकल्पबारे छलफल गर्नुपर्ने बताएका छन् । ‘महाधिवेशन पार्टीको साझा दायित्व हो, यो वा त्यो गुट वा नेताले काम गरेन भन्ने आधारमा महाधिवेशनलाई छल्नु हँुदैन,’ उनले भने । 

मंगलबारबाट क्रियाशीलको विवरण अपडेट गर्ने काम सकिएपछि त्यसैका आधारमा छानबिन समितिको बैठक बसेर एउटा निर्णयमा पुग्नुपर्ने उनले बताए । कांग्रेसले भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा १४औँ महाधिवेशन गर्ने गरी तल्ला तहको अधिवेशन तोकेको छ । 

सुझावित समाचार