लुटेराको गोली लागेर एक घाइते

मंगलबार, २५ जेठ, २०७८
डिजिटल संस्करण

महोत्तरीको लोहारपट्टी नगरपालिका ६ लोहारपट्टी बजारस्थित एक घरमा चार–पाँचजनाको समूहमा आएका अज्ञात समूहले लुटपाट गरेका छन् । सोमबार मध्यरातमा आएको उक्त अज्ञात समूहले लुटपाट गरेको थाहा पाएपछि  गुहार मागेकी ४५ वर्षीया  गायत्री देवीलाई उक्त लुटेरा समूहले गोली प्रहार गरी घाइते बनाएका छन् । उनको बायाँ तिघ्रामा गोली लागेको छ ।

लुटपाट भएको घरधनी रामकरण साहकी श्रीमती गायत्रीको उपचार हाल प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको प्रहरीले जनाएको छ । यता खबर पाएलगत्तै पुगेको प्रहरीले लुटेरा समूहको खोजबिन गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए । उनले घटनास्थलबाट एक थान कटुवा पेस्तोलमा लाग्ने गोलीको खोकासमेत फेला परेको बताए । लुटेरा समूहले २५ हजार नगद तथा गरगहना लुटेको उनले बताए ।

यता सोही वडाका वडाध्यक्ष पंकज साह  पीडितको घरमा पुगेका छन् । उनले लोहारपट्टी नगरपालिकामा यस्तो लुटेरा समूह विगतमा नदेखिएको बताउँदै तत्काल यस्तो समूहलाई नियन्त्रणमा लिन प्रहरीलाई आग्रह गरेका छन् । घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

See More On

सुझावित समाचार