सेयर बेचेको रकमभन्दा किनेको बढी भए मात्र भुक्तानी गरे पुग्ने सुविधाले बढ्यो कारोबार

मंगलबार, २५ जेठ, २०७८
डिजिटल संस्करण

निषेधाज्ञाका कारण अन्य व्यवसायीसमेत सेयर बजारमा प्रवेश गर्नुका साथै वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेकाले नेप्सेमा दैनिक १७ अर्बको कारोबार भइरहेको छ

पछिल्ला केही दिनमा दैनिक १७ अर्ब रुपैयाँबराबरको सेयर कारोबार भइरहेको छ । कतिपयले सेयर बजारमा कालो धनको प्रवेश भएकाले कारोबार रकममा वृद्धि भएको आकलन गर्न थालेका छन् । तर, बजारमा कालो धन भित्रिएको नभई सेयर बेचेको रकमभन्दा किनेको रकम बढी भए मात्रै  ब्रोकरलाई रकम भुक्तानी गर्नुपर्ने सुविधा (नेटिङ) लगानीकर्ताले पाएका कारण कारोबार रकम बढेको हो । यसका अतिरिक्त वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेकाले पनि बजारमा ठूलो मात्रामा कारोबार भइरहेको हो ।

‘९९ प्रतिशत कारोबारको भुक्तानी बैंकिङ प्रणालीबाटै हुने भएकाले बजारमा कालो धन भित्रिएको भन्ने कुनै आधार छैन,’ नेप्सेका एक उच्च अधिकारीले भने, ‘तर, केही समययता ब्रोकरहरूले कारोबारको नेटिङ गर्न पाएका छन् र यो लगानीकर्ताको तहमा पनि पुगेकाले कारोबार रकम बढ्न सकेको हो ।’ नेप्से अधिकारीहरूका अनुसार रेमिट्यान्स भित्रने दर नघटेकाले बैंकमा पुँजी अभाव नरहेको र सेयर बजारमा बैंकको कर्जा लगानी बढेका कारण पनि कारोबार रकम बढेको हो । यसमा नेटिङको भूमिका देखिएको उनीहरूको भनाइ छ । 

‘कुनै ब्रोकरले १ अर्ब रुपैयाँको कारोबार गर्‍यो भने १ अर्ब रुपैयाँ नै कारोबार राफसाफका लागि पुल एकाउन्टमा जम्मा गर्नुपर्दैन,’ सिडिएस एन्ड क्लियरिङका प्रवक्ता सुरेश न्यौपानेले भने, ‘यदि सो ब्रोकरले सो दिन ५० करोड रुपैयाँको सेयर बेचेको छ र ५० करोड रुपैयाँकै सेयर किनेको छ भने उसले लाभकर, शुल्कहरू मात्रै बुझाए हुन्छ ।’ यसैलाई नेटिङ भन्ने गरिन्छ । ब्रोकरहरूले पाएको यही सुविधा ग्राहक लगानीकर्ताको तहमा पनि प्रसारित छ, अर्थात् लगानीकर्ताले पनि खरिद र बिक्री बराबर रकमको गरेको अवस्थामा उसले ब्रोकरलाई रकम बुझाइरहनुपर्दैन । तर, यसअघि भने यस्तो कारोबारमा रकम नै बुझाउनुपर्थ्यो । 

हुन त ०७६ सालबाटै यो सुविधा ब्रोकरहरूले पाएका हुन् । तर, बढ्दो बजार र नाकाबन्दीले अन्य क्षेत्र सुस्ताएको समयमा यसको लाभ अझ धेरै देखिएको हो भने लगानीकर्ताको क्षमतासमेत बढेको हो । 

लकडाउनका कारण अन्य व्यवसायहरू बन्द रहेको कारण ती व्यवसायमा रहेका लगानीकर्ता तथा कर्मचारीहरू समेत सेयर बजारमा सक्रिय हुँदासमेत कारोबार बढेको एक ब्रोकरले बताए । ‘अन्य व्यवसायहरू अहिले बन्द भएका कारण आम्दानी गुमेका मानिसहरू सेयर बजारबाट कमाइ गर्न पनि आएका छन्,’ उनले भने, ‘उनीहरूको प्रवेशले पनि कारोबार रकम बढेको छ ।’ 

१० महिनामा सेयर बजारबाट सरकारलाई १० अर्ब लाभकर 
कारोबार रकममा भएको वृद्धिसँगै गत साउनयता सेयर लगानीकर्ताबाट सरकारले राजस्व समेत उल्लेख्य रूपमा उठाएको छ । साउनयता मात्रै लगानीकर्ताले सरकारलाई बुझाउनुपर्ने पुँजीगत लाभकर १० अर्ब रुपैयाँ संकलन भएको छ । यो अवधिमा बजारमा ९ खर्ब ७४ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो वर्षको तुलनामा कारोबार रकम ६ सय २ प्रतिशतले वृद्धि भएको हो । 

हाल व्यक्तिगत लगानीकर्ताले ५ प्रतिशत र संस्थागत लगानीकर्ताले १० प्रतिशत लाभकर तिर्दै आएका छन् । यसपटकको बजेटले व्यक्तिगत लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन लगानीकर्तामा विभाजन गरेर अल्पकालीनलाई ७ दशमलव ५ प्रतिशत र दीर्घकालीनलाई ५ प्रतिशत लाभकर लाग्ने व्यवस्था गरेको छ । 

नेप्सेले सुझाएको अन्तर्दिवसीय कारोबार (इन्ट्रा डे ट्रेडिङ) सुरु भएमा कारोबार रकममा थप वृद्धि हुने अपेक्षा गरिएको छ । एक दिनमा एउटा व्यक्तिले एउटै कम्पनीको सेयर धेरैपटकसम्म किनबेच गर्न सकिने व्यवस्थालाई अन्तर्दिवसीय कारोबार भनिन्छ । अन्तर्दिवसीय कारोबारमा लगानीकर्ताभन्दा कारोबारी ट्रेडर्सले सेयर किनबेच गर्छन् । यस्तो कारोबार सेयरको स्वामित्व लिनभन्दा पनि मूल्यअन्तरमा हुने लाभ लिने उद्देश्यले गरिन्छ । एउटै सेयर दिनमा पटक–पटक कारोबार हुन सक्ने यो व्यवस्थाले बजारमा कारोबार रकममा वृद्धि हुनेछ । हाल यो प्रस्तावमा खासै काम अगाडि बढेको छैन । यससम्बन्धी प्रतिवेदन भने तयार भएको छ । 

साउनबाट राफसाफ कोष कार्यान्वयनमा ल्याउन बोर्डको निर्देशन

धितोपत्र बोर्डले निर्देशन दिएपछि आउँदो साउनबाट नेप्सेलाई राफसाफ कोष ल्याउनैपर्ने बाध्यता परेको छ । राफसाफ कोषलाई कार्यान्वयनयोग्य बनाई सञ्चालनमा ल्याउन बोर्डले नेप्सेलाई कडा निर्देशन दिएपछि नयाँ आर्थिक वर्षबाट राफसाफ कोष स्थापना गर्नुुपर्ने बाध्यता आइपरेको हो । सेयर खरिदकर्ताले समयमै भुक्तानी गर्न नसकेमा कारोबार राफसाफका लागि ब्रोकरले राफसाफ कोषबाट नगद सापटी लिन पाउँछन् । बजारलाई व्यवस्थित र अनुशासित राख्नका लागि राससाफ कोष नगण्य भएको भन्दै नेप्सेलाई बोर्डले पटक–पटक ध्यानाकर्षण गर्दै आइरहेको थियो । बेवास्ता गरेपछि निर्देशन नै जारी गरेर कार्यान्वयनमा ल्याउन निर्देशन दिन बाध्य भएको बोर्डको भनाइ छ ।

बोर्डले आर्थिक वर्ष ०७७/७८ भित्र ५० करोड, आव ०७८/७९ भित्र थप ३० करोड र आब ०७९/८० भित्र थप २० करोड गरी कुल १ अर्बको कार्यान्वयनयोग्य कोष स्थापना गरी सञ्चालन गर्न भनिएको छ । हाल उक्त कोषमा ३१ लाख मात्र रहेको बोर्डले जनाएको छ । कोषको कार्यान्वयनमा ढिलासुस्ती भएको देखेपछि बाध्य भएर निर्देशन दिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुुंगानाले जानकारी दिए ।

ऐनमै व्यवस्था भएकाले जसरी पनि साउनबाट कार्यान्वयनमा आउनुपर्ने ढुंगाना बताउँछन् । बोर्डले सही समयमा निर्देशन जारी गरेको ढुंगानाको भनाइ छ । नेप्से बढिरहेको अवस्थामा नाफा भइरहेकाले पैसा हाल्न समस्या नभएको उनले बताए । गत वर्षको तुुलनामा नेप्से, ब्रोकर, सिडिएससीले पनि राम्रो आम्दानी गरेको छ । ‘अहिलेसम्म अव्यवस्थित थियो, बियरिस मार्केट भएको अवस्थामा अहिलेको तौरतरिकाबाटै जानु सबैको हित हुने गरी कार्यान्वयनमा ल्याउन कडाइसाथ निर्देशन लागू हुन्छ,’ ढुंगानाले भने । बोर्डको निर्देशनमाथि छलफल भइरहेको नेपाल ब्रोकर व्यवसायी संघका अध्यक्ष सन्तोष मैनालीले जानकारी दिए । ‘कोषमा जानुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ, तर केही कुरामा भने असहमति छ, त्यसमा पनि हामी अझै छलफलमै छौँ,’ उनले भने ।

दैनिक कारोबार रकमको १ प्रतिशत रकम चालू महिनाको १५ गतेभित्र थप गर्न लगाई गतिशील योगदानका रूपमा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । यसभन्दा अघिको कोषमा ० दशमलव ५ प्रतिशत बुझाउँदै आएको थियो । सो व्यवस्था खारेज भए वा नभएको सम्बन्धमा पनि स्पष्ट नभएकाले यसबारे छलफल गरेर अघि बढ्ने उनले बताए ।  

बजारलाई व्यवस्थित र अनुशासित राख्न विद्यमान राफसाफ कोषलाई कार्यान्वयनयोग्य बनाउनु सकारात्मक पक्ष भएकाले यसलाई मिलेर गर्दा संस्थागत लगानीकर्ताको आकर्षण अझ बढ्ने लगानीकर्ता भरत रानाभाट बनाउँछन् ।  

सुझावित समाचार