सत्ता टिकाउने खेल

आफ्नो सम्पूर्ण बुद्धि र बर्कत महामारी नियन्त्रणमा प्रयोग गर्नुपर्ने प्रधानमन्त्री ओली यसमा विश्वास नै गर्दैनन्

सोमबार, २४ जेठ, २०७८
डिजिटल संस्करण

‘हामीले कहिले लगाउन पाउने हो खोप ?’ कोरोना आतंकले त्राहिमाम भएका जनताले कोभिड प्रतिरोधक खोपबारे यो सामान्य प्रश्न गर्नु स्वाभाविक हो । यस प्रश्नको जवाफ दिने देशको सबैभन्दा आधिकारिक व्यक्ति प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नै हुन् ।

भारत सरकारले सदाशय देखाएर नेपाली नागरिकलाई सहयोगस्वरूप दिएको दश लाख डोज, नेपाली सेनालाई दिएको एक लाख डोज र कोभ्याक्सबाट प्राप्त तीन लाख ३८ हजार कोभिसिल्ड खोपको उद्घाटन समारोहमा उनैले ‘तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसक्ने’ गुड्डी हाँकेका थिए । उनको त्यो वाणीको पतन के कारणले भयो ? के कारणले भारतीय कम्पनीसँग नेपालले खरिद गरेको कोभिसिल्ड खोप आधा मात्रै आयो ? यसको जवाफ पनि प्रधानमन्त्री ओलीले नै दिनुपर्ने हो । तर, उनले जवाफ दिएका छैनन् । उनका ‘आफ्नै मानिस’ संलग्न भएको विषयमा जवाफ दिन नसक्नु अस्वाभाविक त हुँदै होइन ।

प्रधानमन्त्री ओलीले महामारीको पहिलो लहर चलेको समयमा बेसार–पानी खाएर कोरोना भगाउने सल्लाह दिएका थिए, जनतालाई । दोस्रो लहर चलेपछि उनले अम्बाको पात पानीमा उमालेर खाए कोरोना भाग्ने बताए । उनको यो ज्ञानको स्रोत के हो ? कसैलाई थाहा छैन । धन्न, उनले केही दिनअघि आफूले कोरोनाको यथार्थ नबुझेको बताए ।

हिमाली जडीबुटी पखाल्दै हिमालबाट आएको स्वच्छ पानी पिएका नेपाली जनताको प्रतिरोधात्मक शक्तिप्रति उनको ठूलो विश्वास थियो । तर, कोरोना महामारीको अगाडि नेपालीको प्रतिरोधात्मक शक्तिको केही जोड लागेन । ‘दूरदराज’ गाउँका जनतामा कोरोना महामारीको खबर नपुगेको होइन । उनीहरू कोरोना जाँच गराउन चाहँदैनन् । ‘जाँच गर्दा शरीरमा कोरोना भेटियो भने हामी त मरिहाल्छौँ । कसले गरिदिन्छ हाम्रो ओखती ?’ यो अवस्थामा छन् नेपाली जनता ।

नेपालका चिकित्सक र स्वास्थ्यकर्मी कोरोना महामारीसँग लड्ने पूर्वाधार निर्माण र बिरामीको उपचार साथसाथै गरिरहेका छन् । सहरबजारमा कोरोनाको उपचार सामान्य नेपाली जनताको पहुँचबाहिर छ । अक्सिजन, भेन्टिलेटरलगायत तमाम सुविधा चाहिन्छ उपचारका लागि । सहरबजारका अस्पतालको अध्ययन गर्ने राजनीति, अर्थनीति र समाजशास्त्रीले कोरोनाले हुने र नहुनेलाई कसरी विभाजित गरेको छ ? त्यो थाहा पाउन धेरै बेर लाग्दैन ।

अहिलेको समयमा हुनेखानेका लागि पैसाको मूल्य छैन । तर, जसले हरेक महिना कमाएर खानुपर्छ, त्यसका लागि पैसा दुर्लभ वस्तु हो । स्तम्भकारका परिचित एक सज्जनको कोरोनाका कारण कुनै एउटा ठूलो अस्पतालमा उपचार गर्दागर्दै निधन भयो । परिवारले उनको शव उठाउन अस्पताललाई झन्डै चालीस लाख रुपैयाँ बुझाउनुपर्यो । यस्ता अप्रिय घटना संघीय राजधानीमा मात्र होइन, प्रादेशिक राजधानी र देशका सबै ठूला सहरका अस्पतालमा थुप्रै भएका छन् । 

केही दिनअघि मात्र अस्पताल र व्यक्तिको प्रयोगमा पनि, अक्सिजनको अभाव देशभरि नै आतंकका रूपमा देखापर्यो । भारतको नाममा जति नाक खुम्च्याए पनि उसले आफैँ कडा अभावमा रहेको समयमा जुन तत्परतासाथ नेपालमा अक्सिजन आपूर्ति गर्ने सदाशयता देखायो, त्यसको सराहना गर्नैपर्छ । त्यसपछि, चीनबाट अक्सिजन आयो । यसपटकको अक्सिजन अभावले नेपालका केही साहू–महाजनको पनि चिन्तनशैलीमा परिवर्तन ल्यायो । उनीहरूले व्यावसायिक व्यक्तिहरूसँग मिलेर नेपालमा अक्सिजन उत्पादन गर्ने दशवटा प्लान्ट स्थापना गर्दै छन् ।

कोरोनालाई नियन्त्रणमा लिएर जनताको ज्यान बचाउने सबभन्दा प्रभावकारी उपाय खोप अथवा भ्याक्सिन नै हो । अहिले नेपालमा त्यसैको अभाव छ । भारत र चीनबाट आएको सहयोग र अन्य मित्रराष्ट्रबाट आउने भ्याक्सिन सदाशयता र मैत्री सहयोग मात्रै हो । त्यसैको भरमा जनताको जीवन बन्धकी राख्न मिल्दैन । विश्वस्त सूत्रहरूबाट प्राप्त जानकारीअनुसार भारतबाट आउन बाँकी कोभिसिल्ड यो वर्ष (२०२१) को नभेम्बर महिनासम्म आइपुग्नेछ । निजी क्षेत्रले पनि खोपको खोजीमा तदारुकता देखाएको बताइन्छ । उता, निर्माताहरूलाई विभिन्न देशका लागि खोपको भाग पुर्याउनै हम्मेहम्मे परेको छ । पैसा तिर्न सक्ने देश नै खोप निर्माताको प्राथमिकतामा पर्छन् । यो ध्रुवसत्य हो ।

संविधान निर्माणकालदेखि नै मधेस मामिलामा अनुदारवादी अडान लिएका ओली अहिले ‘परिवन्द’ले मधेसका नेता ठाकुर–महतोको नजिक पुगेका छन्

नेपाल सरकार अहिले जनतासँंग संख्याको खेल खेल्दै छ । कोरोनाले मर्नेहरूको संख्या दिनहुँ बढ्दै गएको छ । सरकारले मृतकको वास्तबिक संख्या घटाएर प्रकाशित गर्न थालेको छ । हाम्रो देशमा कोरोना परीक्षणको कुनै पद्धति छैन । सकारात्मक समाचारका नाममा यस्तो खेलबाड खासगरी एकाधिकारवादी चिन्तन भएका राजनीतिक पार्टीहरूले गर्छन् । एकजना वरिष्ठ चिकित्सकका अनुसार तथ्यांकमा कतिसम्म बेइमानी गरिन्छ भने सिएमसिसी सचिवालय र प्रधानमन्त्रीको कार्यालयमा पठाइने कोरोना तथ्यांक नै फरक–फरक हुन्छन् । 

सरकारमा रहेका केही नेता तथा कर्मचारी भारतमा काम गर्ने नेपाली कामदार ठूलो संख्यामा नेपाल फर्किएकाले संक्रमण बढेको अमानवीय तर्क गर्छन् । के ती नेपालीले विदेशमै मर्नुपर्ने हो ? भारतमा बसेर काम गर्ने अवस्था नरहेपछि ती आआफ्ना घर नफर्किएर कहाँ जाऊन् त ? के ती नेपालका लागि भोट र रेमिट्यान्सका स्रोत मात्रै हुन् ?

सरकारले सिमानामा संक्रमित अथवा संक्रमित नभए पनि देश फर्किएका नेपालीप्रति राम्रो व्यवहार गर्न सकेको छैन । केही सय रुपैयाँ चपरासीको हातमा राखिदिने नेपाली सजिलै सीमापार हुने चलन बढेको बताउँछन् प्रत्यक्षदर्शीहरू । नेपालका केही सहरका अस्पताल र संघीय राजधानीमा कोरोना नियन्त्रणका लागि भएका कामका रंगीन तस्बिर देखाइए पनि दुःखी जनताको तस्बिर रंगीन हुन सकेको छैन । 

प्रधानमन्त्री ओली मनमौजी स्वभावका छन् । भन्नु पर्दैन, अहिले उनी शक्ति र सत्ताको शिखरमा छन् । उनलाई यो शिखरमा कसरी टिकिरहने ? यसको ठूलो चिन्ता छ । मानिसमा जतिसुकै दर्प भए पनि आफ्नो अस्तित्वको चिन्ता त भई नै हाल्छ । यही चिन्ताले होला, पछिल्लो समयमा उनले आफ्ना कपाल र जुंगामा ‘खिजाब’ समेत लगाएका छैनन् । प्रधानमन्त्री ओलीले आप्mना फुलेका कपाल र जुंगा फुर्सद नै नभएर अथवा स्वेच्छाले सेतै राखेका पक्कै होइनन् होला । यतिवेला उनको राजनीतिक मामिला पनि सल्टिनुको सट्टा झन्–झन् उल्झिन थालेको छ । प्रतिनिधिसभालाई नियन्त्रणमा लिन नसकेकोमा उनी बढी नै तनाव र क्षोभको स्थितिमा रहेको बुझिन्छ । 

अन्य विषय पनि उत्तिकै गम्भीर खालका छन् । जनता समाजवादी पार्टीका महन्थ ठाकुर तथा राजेन्द्र महतोको समूहको समर्थनमा सरकार टिकाउने पक्कापक्की गरेका प्रधानमन्त्री ओली यतिवेला साँच्चै अलमलिएका छन् । पृष्ठभूमिकै कुरा गर्ने हो भने संविधान निर्माणकालदेखि नै उनले मधेसका मामिलामा अनुदारवादी अडान लिएका हुन् । अहिले ‘परिबन्द’ ले उनलाई मधेसका महत्वपूर्ण नेता महन्थ ठाकुर र राजेन्द्र महतोको नजिक पुर्याएको छ । यस क्रममा, मधेस समस्या समाधानका लागि सरकारले थरुहट, थरुवान र थारू कल्याणकारी सभासँग सम्झौता गरिसकेको छ । नयाँ मन्त्रिपरिषद्को ढाँचा तयार हुँदै छ । त्यसमा, राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापालाई समेत समावेश गर्न वार्ता भइरहेको छ । यति नै वेला ठाकुर र महतोको समर्थनमा सरकार टिकाउने प्रयत्नसँगै प्रधानमन्त्री ओली एमालेका विद्रोही नेता माधव नेपालसँग सम्झौताको ढोका खुलै राखेर बसेका छन् । 

राजेन्द्र महतोलाई मन्त्रिपरिषद्मा भित्र्रयाएपछि मधेस समस्या समाधानका लागि प्रधानमन्त्री ओलीले गरेका सम्झौता ‘बुमर्यांग’ हुने सम्भावना बढेको छ । यो सम्झौताविरुद्ध नेपालका मानव अधिकारवादीहरूको पुरानो संस्था नेपाल मानव अधिकार संगठनका अध्यक्ष महामुनिश्वर आचार्यले फेसबुकमा आफ्नो स्टेटस अपडेट गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीसम्बन्धी मुद्दाबारे लेखेका छन् : ‘यो गम्भीर फौजदारी अपराध हो ।

राष्ट्रसेवक सुरक्षाकर्मीको सामूहिक हत्याको घटना र विषय हो । नेपालको संविधान र कानुनले यस्ता अपराधमा न त रिहाइ स्वीकार गर्छ, न त मुद्दा फिर्ता नै ।’ अहिलेको मधेसको समस्यामा रेशम चौधरीले जति महत्व राख्छन्, त्यत्ति नै महत्व आचार्यको यो स्टेटसले राख्छ । यसले देशका मानव अधिकारवादीलाई चलायमान तुल्याउनेछ । सबै ‘मेलोमेसो’ मिलाएर योजना बनाउँदा पनि प्रधानमन्त्री ओलीका दुःख सकिएका छैनन् । दुई–दुईपटक प्रतिनिधिसभाको विघटनको सिफारिसले उनलाई घरको न घाटको बनाएको छ । ‘कहुँ तो माँ मरी जाये, ना कहुँ तो बाप कुत्ता काट खाये !’ को अवस्थामा छन् प्रधानमन्त्री । 

प्रधानमन्त्री ओली मनमौजी मात्र होइनन्, सत्ताका अम्मली पनि हुन् । उनले बितेका तीन वर्षको समयमा सरकारले गर्ने नियमित कामबाहेक एउटै पनि त्यस्तो महत्वपूर्ण काम गरेका छैनन्, जो उनैको प्रयासले भएको स्पष्ट देखियोस् । मेलम्चीजस्ता वर्षौंदेखिका आयोजना आफ्नो पालामा पूरा भएको भ्रममा बाँच्न उनी स्वतन्त्र छन् । भारतीय नाकाबन्दी कालको लोकप्रियताले उनको राजनीति अहिलेसम्म धानेको छ । उनले जनताको मन जित्नभन्दा आफू शक्ति र सत्तामा टिक्नका लागि हुने–नहुने र चाहिँदा–नचाहिँदा सबै नारा लगाएका छन् ।

उनले हर्रो नपाएर हैरान भएका जनतालाई जाइफलको सपना देखाए । जनताले हर्रो पनि पाएनन् । आज हालत यो छ, उनले नारा लगाएको रेल त आउला वा नआउला, जेसुकै होला । जनकपुरसम्म आइसकेको नेपाली रेलले समेत नियमित सेवा सुरु गर्न सकेको छैन ।

कोरोना महामारीको यो समयमा प्रधानमन्त्री ओलीको राजनीतिक चातुर्य, विकास कार्यमा मन्दी र भ्रष्टाचारमा बढोत्तरी जस्ता घटनाले खासै महत्व राख्दैनन् । निकट भविष्यमा कोरोनाको तेस्रो लहर आउने सम्भावनाको नजिक छ विश्व । कोरोनाको दोस्रो लहरसँगै ‘ब्ल्याक फंगस’ नामको कोरोनासँग सम्बन्धित कडा खालको महामारी फैलिन थालिसकेको छ । भारतको राजधानी दिल्ली र मुम्बई, बेंगलुरु र चेन्नईजस्ता प्रमुख सहरका जनतालाई यसले आतंकित तुल्याएको छ ।

ब्ल्याक फंगस हाम्रो देशमा पनि आइसकेको छ । कोरोना नियन्त्रणमा सरकारले देखाउन नसकेको जाँगर र कल्पनाशील व्यवहारको कडा मूल्य चुकाउनुपर्नेछ जनताले । प्रधानमन्त्री ओलीले आफ्नो बुद्धि र बर्कत महामारी नियन्त्रणमा प्रयोग गर्ने हो भने स्थितिमा परिवर्तन आउन सक्नेछ । तर, उनी यसमा विश्वास गर्दैनन् । देश पनि प्रधानमन्त्री ओलीको विकल्पकै खोजीमा छ । 

सुझावित समाचार