सिटिजन लाइफको ‘अनलाइन बिमा दाबी’ सेवा सुरु

बिहिबार, २० जेठ, २०७८
डिजिटल संस्करण

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोभिड–१९बाट ग्राहकलाई सुरक्षित राख्ने उद्देश्यले ‘डिजिटल सिटिजन’ अभियानअन्तर्गत अनलाइन बिमा दाबी सेवा सुरु गरेको छ । कम्पनीले बिमा दाबी गर्नका लागि कम्पनीको कार्यालयमा जानु नपर्ने गरी सेवा सुरु गरेको हो । 

यस सुविधामार्फत सेवाग्राही वा बिमितले इन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनि बिमा दाबी प्रक्रिया पूरा गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीको वेबसाइटमा रहेको अभिकर्ताको पोर्टल खोली अनलाइनबाट दाबीसम्बन्धी आवश्यक कागजपत्र अपलोड गरी सजिलै दाबी प्रक्रिया अगाडि बढाउन सकिने जनाइएको छ । सबै कुरा अटोमेटिक सिस्टममा अद्यावधिक हुने हुनाले यो सेवाले समयको बचत हुनुका साथै दाबीसँग सम्बन्धित विवरण पेस गर्ने प्रक्रिया चाँडो हुने जनाएको छ । यो सेवाले बिमा दाबी भुक्तानी कार्य सहज हुने कम्पनीले विश्वास व्यक्त गरेको छ । 

कम्पनीको ‘डिजिटल सिटिजन’ अभियानअन्तर्गत अनलाइनमार्फत बिमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली एक वर्षअघिदेखि नै सञ्चालनमा रहेको जनाइएको छ । कम्पनीले विभिन्न तालिमहरू डिजिटल माध्यमबाट सञ्चालन गरिरहेको जनाएको छ । ग्राहक तथा अभिकर्ताहरूलाई कार्यालयसम्म आउनुपर्ने अवस्थालाई सहज बनाई समयको बचत गराउन र ग्राहक सेवालाई विश्वस्तरीय बनाउँदै जाने क्रममा आउँदा दिनमा अरू थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवा प्रचलनमा ल्याउने योजना रहेको कम्पनीका प्रमुख  कार्यकारी अधिकृत पोषकराज पौडेलले बताए । 

यसका साथै घरमै बसेर बिमा शुल्क तिर्न सकिने व्यवस्थाका लागी ई–सेवा, फोनपे, कनेक्ट आइपिएसलगायतका डिजिटल बंैकिङ सुविधा र कम्पनीको बैंक खाताहरू उपलब्ध गराउनुका साथै ग्राहक तथा अभिकर्ताले कम्पनीसँगको कारोबार तथा विवरण आफैँले हेर्न मिल्ने पोर्टलसमेत प्रचलनमा ल्याएको जनाइएको छ ।

सुझावित समाचार