ठूला तेल कम्पनीमाथि बदलिन दबाब परे पनि शून्य कार्बन–डाइअक्साइड उत्सर्जनमा पुग्न अझै लामो यात्रा बाँकी नै छ
अघिल्लो बुधबार विश्वका केही ठूला तेल कम्पनीका लागि खराब दिन रह्यो । तिनले आफ्नो प्रदूषणकारी व्यवसायलाई विगतमा वाचा गरेभन्दा छिट्टै स्वच्छ बनाउनपर्ने भएको छ । २६ मेमा कम्पनीका सेयरहोल्डर तथा एक डच अदालतको निर्णयपछि विश्वका सबैभन्दा ठूला सार्वजनिक तेल तथा ग्यास उद्योगहरू एक्सोन मबिल कोर्प, रोयल डच सेल र सेभ्रोन कोर्प दबाबमा आएका छन् । तिनले अब हरितगृह ग्यास उत्सर्जन न्युनीकरण गर्न थप मिहिनेत गर्नुपर्नेछ ।
एक्सोनका सेयरहोल्डरले कम्पनीको बोर्डमा कम्तीमा दुईजना जलवायुबारे सचेत सदस्य मनोनयन गर्ने पक्षमा मतदान गरे । कम्पनीको व्यवस्थापनले यसविरुद्ध कडा विरोध जनाए पनि प्रस्तावना पास भएको छ । उता सेभ्रोनका सेयरहोल्डरले पनि कम्पनीले बेच्ने इन्धन जलेर उत्पन्न हुने उत्सर्जनलाई पनि भावी न्यूनीकरणको लक्ष्यमा समावेश गर्ने प्रस्तावलाई समर्थन जनाए । सेभ्रोनका व्यवस्थापकले पनि यो प्रस्तावनालाई असफल बनाउने प्रयास गरेका थिए । उता एक डच अदालतले युरोपेली कम्पनी सेललाई सन् २०३० सम्ममा ४५ प्रतिशत हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने निर्देशन दियो । यो लक्ष्य कम्पनीले पहिले अघि सारेको भन्दा निकै कडा देखिन्छ ।
उपभोक्तालाई जीवाश्ममा आधारित इन्धनको विकल्पमा सस्तो, विश्वसनीय र सहज इन्धन उपलब्ध गराउन सके मात्र ऊर्जा प्रयोगमा वास्तविक परिवर्तन आउनेछ
ठूला तेल कम्पनीले जलवायुलाई प्रभाव पार्ने कार्बन उत्सर्जन घटाउन आफैँले अलग–अलग लक्ष्य तोक्दै आएका छन् । उत्सर्जन न्युनीकरणको लक्ष्यमा अमेरिकी कम्पनी तिनका युरोपेली समकक्षीभन्दा पछाडि छन् । तैपनि, युरोपेली कम्पनीले पनि अमेरिकी कम्पनीले जस्तै तेल उत्खनन, प्रशोधन र ढुवानीका क्रममा हुने उत्सर्जनलाई मात्र घटाउने लक्ष्य तोक्ने गरेका थिए । बढिसेबढी उनीहरूले आफ्ना आपूर्तिकर्ताले गर्ने उत्सर्जनलाई पनि न्युनीकरण गर्ने लक्ष्यमा समावेश गर्थे । यिनलाई स्कोप १ र स्कोप २ उत्सर्जन भनेर चिनिन्छ । तर, त्यसबाहेक स्कोप ३ भनेर चिनिने तेल कम्पनीले उत्पादन गर्ने जीवाश्ममा आधारित इन्धनको प्रयोगबाट हुने उत्सर्जनलाई घटाउन हालसम्म दबाब परेको थिएन । २६ मेको घटनापछि तेल कम्पनीले स्कोप ३ उत्सर्जन न्युनीकरणमा पनि ध्यान दिनुपर्ने भएको छ ।
डच अदालतको फैसलाले सेललाई उसले उत्पादन गर्ने इन्धनबाट निस्कने कार्बन डाइअक्साइड न्यूनीकरण गर्नुपर्ने स्पष्ट भनेको छ । सेलले अदालतको निर्णयविरुद्ध आफूहरू पुनरावेदनमा जाने बताएको छ । तर, मुद्दा हाल्ने पर्यावरणीय समूह मिलिउ–डिफेन्सी अथवा फ्रेन्ड अफ द अर्थ–नेदरल्यान्डस्ले पनि कानुनी आधार बलियो बनाइरहेको छ । उसले अन्य देशका समूहलाई पनि मानवअधिकार कानुनअन्तर्गत यस्तै मुद्दा हाल्न सघाउन सुरु गरेको छ । एक्सोनका सिइओ ड्यारेन वुड्सले उपभोक्तालाई भविष्यमा पनि अझै धेरै तेल आवश्यक हुने तर्क गरेका छन् । विश्वले बढ्दो रूपमा जीवाश्ममा आधारित इन्धन त्यागेर नवीकरणीय ऊर्जातर्फ अघि बढिरहेको भए पनि बाँकी अभाव पुर्याउन तेल नै सहयोगी हुने उनको विचार छ । यो अभाव पूर्ति गरेर नाफा कमाउने ध्याउन्नमा छन्, एक्सोन, सेल, सेभ्रोन, बिपी र टोटलजस्ता ठूला तेल कम्पनी ।
ठूला तेल कम्पनीमाथि बदलिन दबाब परे पनि शून्य उत्सर्जनमा पुग्न अझै लामो यात्रा गर्न बाँकी नै छ । उत्सर्जन घटाउन प्राविधिक रूपमा कठिन र महँगो वा दुवै हुन सक्छ । तेल कम्पनीले प्रदूषण उत्सर्जन गर्ने तिनका सामग्रीलाई नै परित्याग गर्ने हो भने मात्र स्वच्छतातर्फको तिनको यात्रा सबैभन्दा छिटो र सस्तो हुनेछ । यसो गर्दा कम्पनीको छवि त सुध्रिएला, तर त्यसले विश्वव्यापी उत्सर्जन घटाउन सहयोग गर्दैन । किनकि यदि उनीहरूले इन्धन उत्पादन गर्न रोके भने अन्य साना कम्पनीले तिनको स्थान लिनेछन् । झन् नयाँ आउने कम्पनीले पर्यावरणीय सुधारका लागि त्यति गम्भीर नहुन सक्छन् र तिनका सेयरहोल्डरले परिवर्तनका लागि त्यति दबाब नदिन पनि सक्छन् ।
दबाबमाझ एक्सोन, सेल र सेभ्रोनले विगतमा गरेको प्रक्षेपणभन्दा कम तेल बिक्री हुन सक्छ र तिनले आफ्नो उत्पादन प्रक्रियालाई विगतमाभन्दा स्वच्छ बनाउनुपर्ने पनि हुन सक्छ । यो सही दिशातर्फको कदम भए पनि विश्वले केही कम्पनीको सञ्चालन प्रणाली बदलेर मात्र शून्य उत्सर्जनको लक्ष हासिल गर्न सक्दैनन् । वास्तविक परिवर्तनका लागि उपभोक्ताको उपभोग शैलीमा परिवर्तन आउनुपर्छ । उपभोक्तालाई जीवाश्ममा आधारित इन्धनको विकल्पमा सस्तो, विश्वसनीय र सहज इन्धन उपलब्ध गराए मात्र ऊर्जा प्रयोगमा महत्वपूर्ण परिवर्तन आउनेछ । र यसले विश्वका तेल उत्पादकको क्रियाकलापमा पनि परिवर्तन ल्याउनेछ ।
(ली ब्लुमवर्गका लागि तेल रणनीतिकार हुन्)
ब्लुमवर्गबाट