महामारीसँग लड्ने हतियार

बुधबार, १९ जेठ, २०७८
डिजिटल संस्करण

कोभिड भाइरसका नयाँ स्वरूपहरू, अहिले चलिरहेको त्रासदीपूर्ण अवस्था र देशभरिका मुख्य सहरमा लागू गरिएको निषेधाज्ञाको परिप्रेक्षमा यस अवस्थाबाट कसरी अवतरण गर्ने भनेर राज्य र सरोकारवाला निकायले मात्र नभई हरेक नागरिक र घर–परिवारले छलफल गर्नु र त्यहीअनुरूप कदम चाल्नु आवश्यक छ । हाम्रै अव्यवस्था, गैर–जिम्मेवारीपन र कैयन् बाध्यात्मक कारणले आजको अवस्था सिर्जना भएको सत्य हो । लामो निषेधाज्ञा र बन्दाबन्दी सधैँ गर्न सकिन्न, पर्याप्त बचत भएकाबाहेक आर्थिक स्रोतका लागि दैनिक उत्पादन, बिक्री, सेवा–प्रवाह र खपतको चक्रमा निर्भरहरूका लागि केही समयमा व्यवसाय खोल्न दिनुपर्छ नै । तर, त्यस्तो अवस्थामा भाइरसविरुद्धको लडाइँ कसरी जारी राख्ने भन्नेबारेमा योजनाबद्ध अगाडि बढे धेरै जोखिम टार्न सकिन्छ ।

यो रोगको अहिले पनि जादुगरी उपचार छैन । रोग जटिल भए अस्पताल, अक्सिजन र भेन्टिलेटर पाउनै गाह्रो छ, पाइहाले पनि भेन्टिलेटरमा राखिएकामध्ये धेरै कम मात्रै बचेका छन् । अक्सिजन, आइसियू, भेन्टिलेटर उपलब्ध हुँदा केहीको ज्यान जोगाउन मद्दत त गर्ला, तर कोभिड निमोनियाले बेस्सरी क्षति पुगेको फोक्सोलाई पुरानै स्वस्थ स्वरूपमा फर्काउन सक्ने होइन । रोगबाट बचाउने खोप पनि नेपालभरका सबैले पाउने दिन आउन अझ धेरै पर्खनुपर्नेछ । शक्ति र प्रभावको क्रमसंख्यामा नेपाल पुछारको मुलुक हो । खोपको पहुँच सजिलो छैन नै । खोपले धेरैलाई मृत्यु वा जटिल रोगबाट जोगाउँछ, तर यसले पनि तुरुन्तै संक्रमणको चक्र पूरै रोक्नेछैन ।

समुदायमा फैलिसकेको यो भाइरसको नयाँ रूपलाई केही हप्ताको निषेधले केही रोके पनि खुला गरिएपछि फेरि स्थिति बल्झिहाल्नेछ । केही समयको लकडाउनपछि सब आफैँ ठीक हुन्छ भन्ने भ्रमलाई पाल्दा नै हामीले पहिलो र दोस्रो लहर खेप्नुपरेको हो । एकाध हप्तामा न हाम्रो रोगप्रतिरोधी क्षमतामा त्यस्तो ठूलो परिवर्तन भएको हुनेछ, न त भाइरसको गुणमा । यस हिसाबले हामीले निरन्तर संक्रमण र मृत्युको दुःखद समाचार सामना गरिरहनुपर्ने हुन्छ । तसर्थ, दुस्मनको कमजोरी पत्ता लगाएर युद्धमा जितेजसरी नै यो रोगलाई अझ राम्ररी बुझेर मात्र हामीले यसलाई जित्न सक्नेछौँ ।

आफ्नो श्वासबाट भाइरस बाहिर हावामा सजिलै फैलन नपाओस् र अरूमा त्यो नसरोस् भन्ने हिसाबले मास्क लगाउनुपर्छ । मास्क लगाउनुलाई सामाजिक रीतिको रूपमा लिनुपर्छ । 

चीनमा सुरुमा देखिएको भाइरसको लक्षण र अहिलेको नयाँ भेरियन्टका लक्षणमा सरसर्ती हेर्दा धेरै भिन्नता देखिन्छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्याजस्ता मुख्य लक्षण हुने र रुघाको लक्षण विरलै देखिने सुरुका प्रतिवेदन हेर्दा र अहिले मौसमी रुघाखोकी वा पखालाजस्तो अर्कै किसिमको लक्षणबाट सुरु भई कोभिड प्रमाणित भएका र सघन उपचारको मुखमा समेत पुगेका बिरामीलाई हेर्दा भाइरसले आफ्नो गुण र क्रियाकलाप निकै परिवर्तन गरेको स्पष्ट छ । अहिलेको अवस्थामा हरेक रुघाखोकी, अस्वाभाविक थकान, शरीर दुखाइ वा ज्वरोसँग मिल्दोजुल्दो समस्या अन्यथा प्रमाणित नभएसम्म कोभिड भनेर बुझ्नु आवश्यक छ । तसर्थ, आफ्नो नजिकका कोहीलाई कोभिड वा कोभिडसँग मिल्ने लक्षण वा कुनै पनि नयाँ बिसन्चो भए÷नभएको बारे चनाखो हुनुपर्छ । आफूलाई वा आफ्नो परिवारलाई कुनै लक्षण देखिनेबित्तिकै घरमा वा काममा सम्पर्कमा आएका र आउन सक्ने सबैलाई खुलस्त जानकारी दिनुपर्छ । गर्मीयाममा नेपालमा देखिने टाइफाइड, डेंगु, मलेरियाजस्ता रोग र कोभिडको भिन्नता छुट्याउन नसक्दा गलत उपचार पाइने र रोगको सही उपचार पाउन ढिलाइ हुँदा झन् जोखिम बढ्ने डर हुन्छ । जुन ज्वरोलाई पनि टाइफाइड भन्ने र एन्टिबायोटिक औषधिले उपचार गरिहाल्ने हाम्रो पुरानो र गलत परिपाटीलाई छोडेर अहिले कुनै पनि ज्वरो कोभिड हुन सक्ने मानेर तुरुन्त रोकथाम, जाँच र उपचार थाल्नु जरुरी छ । साथै, दूषित पानी सेवन र सरसफाइको कमीले हुने टाइफाइड र लामखुट्टेले सार्ने डेंगु र मलेरियाको नियन्त्रण र रोकथाम गर्नु पनि महत्वपूर्ण छ । 

यो भाइरस हावाबाट सजिलै सर्ने र मुख्य माध्यम पनि हावा नै रहेको स्पष्ट भइसकेको छ । यो तथ्य रोकथामका लागि धेरै उपयोगी छ । सुरुसुरुमा सोचिएजस्तो कोभिड लागेको मानिसले छोएको वस्तु वा ठाउँ छोइएर कोभिड हुने सम्भावना निकै कम रहेको थाहा भएको छ । त्यसैले आफ्नो श्वासबाट भाइरस बाहिर हावामा सजिलै फैलन नपाओस् र अरूमा त्यो नसरोस् भन्ने हिसाबले मास्क लगाउनुपर्छ । मास्क लगाउनुलाई सामाजिक रीतिको रूपमा लिनुपर्छ । दोस्रो लहरको निषेधाज्ञाको समयमा पनि भित्री सहरका चोक र गाउँठाउँहरूमा मानिसहरू झुम्मिएर बसेका, चिउँडोमा मास्क लगाएर गफमा भुलेका, मास्क झारेर चुरोट पिइरहेका वा मास्क नै नलगाएका दृश्य अझै आम छन् । यो महामारी रहुन्जेल मास्क नलगाउनु सामाजिक अपराध हो भन्ने स्थापना गरेर हरेक व्यक्तिले मास्क लगाउन र एक–अर्कालाई घचघच्याएर मास्कप्रतिको मानसिकतामा परिवर्तन गर्न सकिन्छ । गर्मी ठाउँमा वा खेतबारीमा काम गर्नेलाई मास्क झिँजो लाग्नु स्वाभाविक हो । यस्तो अवस्थामा तीनपत्रे कपडाको मास्क लगाउन साकिन्छ । लामो समय कानमा अड्काउने मास्क लगाउँदा कान दुख्ने समस्या भए फित्ता भएको र टाउकोपछाडि बाँध्न मिल्ने मास्क लगाउन सकिन्छ । 

हावाबाट सर्ने भएपछि मास्क लगाउनु त अनिवार्य भयो नै, रोग नसार्न अरू मानिसलाई भेट्दैनभेट्ने वा भेट्नैपरे पनि खुला ठाउँमा भेट्नुपर्छ । बन्द स्थान वा कोठामा, खाजा खाने होटेलमा, अफिसका कोठाहरूमा रोग सजिलै फैलिएको पाइएको छ । जसरी बन्द कोठामा कसैले चुरोट पिउँदा धुवाँ फैलिएर अरूलाई प्रभाव पार्छ, यो भाइरस पनि त्यसरी नै फैलिन्छ र अरूमा सर्छ । वास्तवमा एउटै कोठामा सुत्ने र एउटै भान्सामा खाना खानेबाहेक अरू सबै मानिसबाट अलिक दूरीमा रहने र भेट्नैपरे खुला स्थानमा भेट्ने गर्नु आवश्यक छ । 

नेपालमा रोजगारीको एक प्रमुख स्रोत विकास–निर्माण भएकाले निर्माणस्थलमा काम गर्ने कामदारहरूलाई काम गर्न सजिलो हुने मास्क किनिदिने जिम्मेवारी सम्बन्धित ठेकेदारलाई दिन सकिन्छ । खुला स्थानमा गरिने निर्माणकार्य तुलनात्मक रूपमा सुरक्षित पनि छ । यस्ता कामलाई निरन्तरता दिन सकिन्छ । यसले बन्दाबन्दीको वेला रोजगारी गुमाएकाहरूका निम्ति रोजिरोटी र भोकको समस्यालाई पनि टार्न सक्छ र साथै लामो निषेधाज्ञालाई निरन्तरता दिन पनि मद्दत गर्छ । अहिले जोखिम उठाउँदा गम्भीर बिरामी हुने वा ज्यान जाने अवस्था आएमा हाम्रो घटेको मनोबल र पश्चाताप निको हुन धेरै समय लाग्नेछ । कालो बादलमा चाँदीको घेरा भनेझैँ खोपको व्यापक परिचालन, कोरोना भाइरसकै प्राकृतिक परिवर्तन र हाम्रो परिवर्तित प्रतिरोधात्मक क्षमताले हामीलाई केही वर्षमा महामारीलाई जित्न मद्दत गर्ने नै छ । समयले मृत्युका घाउहरूलाई पुर्दै पनि जाला । तर, तबसम्म महामारीको यथार्थलाई बुझेर, भाइरस र त्यसका प्रवृत्तिलाई कम नआँकी कठोर अनुशासन पालना, उपचारभन्दा रोकथाममा जोड, खोप–मास्क–सामाजिक दूरी नै यस महामारीविरुद्धका मुख्य हतियार हुन् । 

(अर्ज्याल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनस्वास्थ्य विषय पढाउँछन्)

सुझावित समाचार