कोरोना संक्रमणको दोस्रो लहरका कारण निरन्तर निषेधाज्ञा जारी रहँदा हेटौँडा औद्योगिक क्षेत्रका उद्योगहरूको उत्पादकत्वमा गिरावट आएको छ । एक महिनादेखि निरन्तर भएको निषेधाज्ञाका कारण औद्योगिक क्षेत्रका ८० प्रतिशत उद्योगको उत्पादकत्वमा गिरावट आएको हो । उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलका अनुसार औद्योगिक क्षेत्रभित्रका ८० प्रतिशतभन्दा बढी उद्योगले ५० प्रतिशत क्षमतामा मात्र उत्पादन गरिरहेका छन् । बाँकी उद्योग पूर्ण रूपमा ठप्प छन् ।
औद्योगिक क्षेत्रभित्रका १ सय १२ उद्योगमध्ये ८० प्रतिशत उद्योगले एक महिनादेखि निरन्तर उत्पादनमा कटौती गर्दै आएको पोखरेलले बताए । उनले भने, ‘कोरोना संक्रमणको पहिलो लहरका कारण थलिएको उद्योग उठ्न नपाई यसपटकको महामारी र निषेधाज्ञाले थप मारमा परेको छ ।’
निषेधाज्ञा जारीपछि ठूला उद्योगले १२ घन्टाको एक सिफ्ट र साना उद्योगले ६ घन्टाको सिफ्ट मात्र सञ्चालन गरिरहेका छन् । मजदुरको न्यून सहभागिता, कच्चा पदार्थको अभाव, बिक्री–वितरणमा कमी, घाटामा सञ्चालन गर्नुपर्ने बाध्यता र महामारीको जोखिमका कारण उत्पादकत्वमा निरन्तर गिरावट आएको उद्योगीहरूको दाबी छ । एक सिफ्टमा २ सयभन्दा बढी मजदुरले काम गर्ने उद्योगमा हाल ५० देखि ६० जना मात्र रहेको र कच्चा पदार्थ सहज रूपमा उपलब्ध नहुँदा उत्पादन कटौतीको विकल्प नरहेको उद्योगीहरू बताउँछन् ।
हेटौँडामा सञ्चालित बहुर्राष्ट्रिय कम्पनी युनिलिभर नेपाल प्रालि, एसियन पेन्ट्स, सिएसआई क्लोजअप, बर्जर पेन्ट्सजस्ता ठूला उद्योगहरू भने गत वर्षदेखि नै निरन्तर सञ्चालनरत रहे पनि समय–समयमा उत्पादन कटौती गर्दै आएको उद्योग संघ अध्यक्ष पोखरेलले बताए । ‘उद्योगले उत्पादन कटौती गर्दा रोजगारी गुम्ने, राजस्वमा गिरावट र उद्योग धराशायी हुनेछ । यस्तो अवस्थालाई मध्यनजर गर्दै सरकारले नयाँ रणनीति ल्याउनुपर्नेछ,’ उनले भने ।
हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कँडेलले औद्योगिक क्षेत्रभित्र रहेका खाद्यान्न, अत्यावश्यकीय वस्तु उत्पादन गर्ने उद्योग सञ्चालनमा निरन्तर समन्वय भइरहेको बताए । उनले औद्योगिक क्षेत्रभित्र रहेका १५ वटा खाद्यान्न र अत्यावश्यकीय वस्तु उत्पादन गर्ने उद्योग सञ्चालित रहेको जानकारी दिए । ‘निर्माणसम्बन्धी सामग्री उत्पादन गर्ने उद्योगलगायतका लागि उत्पादकत्व कम भए पनि बन्द हुन सक्ने अवस्थाबाट जोगाउन हामी लागिपरेका छौँ,’ उनले भने, ‘उद्योगलाई बचाउन सरकारबाटै भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।’