राष्ट्रिय महत्वका पूर्वाधार आयोजनाको काम ठप्प

बुधबार, १९ जेठ, २०७८
डिजिटल संस्करण
राष्ट्रिय महत्वका पूर्वाधार आयोजनाको काम ठप्प

निर्माणाधीन माथिल्लो तामाकोसी विद्युत् आयोजना । फाइल तस्बिर

अधिकांश आयोजनामा काम गरिरहेका कामदारको संख्या घटेर २० प्रतिशतमा सीमित, ढुवानी नहुँदा निर्माण सामग्री सकिँदै 

देशभर कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै राष्ट्रिय गौरव तथा महत्वका पूर्वाधार आयोजनाको काम सुस्ताएको छ । अधिकांश आयोजनामा काम गरिरहेका कामदारको संख्या घटेर २० प्रतिशतमा सीमित भएको छ । क्याम्पमा राखेर थोरै कामदारमार्फत आयोजनाको काम भइरहेको भए पनि अधिकांशमा निर्माण सामग्री सकिँदै गएको छ । प्रशासनले काठमाडाैँ उपत्यकामा शुक्रबारदेखि पूर्वाधार आयोजना निर्माणको कामलाई पनि स्थगित गर्ने निर्णय गरिसकेको छ ।  

यसअघि सरकारले राष्ट्रिय महत्वका आयोजनालाई आवश्यक निर्माण सामग्री ढुवानीमा सहज बनाउने बताउँदै आएको थियो । तर, आयोजना कार्यालयहरूले भने निर्माण सामग्री नै नपाउने तथा ढुवानी भाडा अचाक्ली बढेको बताएका छन् । 

माथिल्लो तामाकोसी विद्युत् उत्पादन कोरोनाका कारण ढिलाइ, जेठभित्र परीक्षण सकिने
राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणको काम लगभग सम्पन्न भइसकेको छ । आयोजना व्यवस्थापनले विद्युत् उत्पादन थाल्नुअघिको जाँच (टेस्टिङ) को कामसमेत थालिसकेको छ । तर, आयोजनाको परीक्षण गर्ने कामका लागि विदेशबाट ल्याउनुपर्ने विज्ञ नआएका कारण कठिन भइरहेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । अहिले बाहिरबाट परीक्षण गर्न आएका व्यक्तिहरूलाई पनि सरकारले तोकेको मापदण्डअनुसार १० दिनको क्वारेन्टिनमा राखिएको छ । यसले परीक्षणको काम एक हप्तालाई ढिलाइ भएको आयोजना कार्यालयले जानकारी दिएको छ । परीक्षण गर्न आएकामध्ये केहीलाई कोरोना संक्रमण देखिएका कारण पनि थप सजगता अपनाउनुपर्ने भएको छ । कतिपय आउने मानिस पनि रोकिएका छन् । त्यसले आयोजनाको पहिलो युनिटबाट जेठ दोस्रो हप्ताभित्र विद्युत् उत्पादन थाल्ने योजनामा असर परिसकेको छ । अझै थप केही दिन परीक्षणमा समय लाग्ने प्रवक्ता डा. न्यौपानेले जानकारी दिए । अहिले नियमित परीक्षणको काम भइरहेको र जेठभित्रमा परीक्षण सम्पन्न गर्ने उनले जानकारी दिए । अहिले परीक्षण गर्दा कुनै समस्या देखिँदा त्यसलाई समाधान गर्दै गइरहेको प्रवक्ता न्यौपानेको भनाइ छ ।  

भेरी–बबई डाइभर्सनमा कामदार र निर्माण सामग्री अभाव
राष्ट्रिय गौरवको अर्को महŒवपूर्ण भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई कामदार र निर्माण सामग्री अभाव भएको छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर ईश्वरीप्रसाद तिवारीका अनुसार रडलगायतका निर्माण सामग्री पाइएको छैन । टाढाका कामदार ल्याउने अवस्था छैन । स्थानीय कामदारमा कोरोनाको त्रास छ । आयोजनावरिपरिका गाउँ कोरोना प्रभावित भएका छन् । त्यसले पनि आयोजनालाई अप्ठ्यारो पारिरहेको छ । ‘सामान्य समयमा २ सय ५० जनाले काम गर्नेमा अहिले त्यस्तै ६० जनाजति काममा होलान्,’ सिडिई तिवारीले भने । आयोजनाको मुख्य गरी जलविद्युत्का लागि सिभिल वर्कस्को काम भने प्रभावित भइरहेको आयोजनाले जानकारी दिएको छ । 

नागढुंगा–नौबिसे सुरुङमार्गमा ४५ प्रतिशत कामदार घटाइयो
नागढुंगा–नौबिसे सुरुङमार्गमा पछिल्लो एक हप्तामा २५ जना कामदारमा कोरोना संक्रमण देखिएपछि कामदारको संख्या घटाइएको छ । संक्रमण देखिएका कामदारलाई आयोजनास्थलमै आइसोलेसन खडा गरेर राखिएको छ । सुरुङबाहिर पहुँच सडक निर्माणको कामको गतिलाई घटाएको भए पनि सुरुङभित्रको काम भने सुचारु रहेको आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए । ‘आयोजनामा ६ सय ५० कामदार सक्रिय रहेकामा अहिले त्यसलाई ४५ प्रतिशत घटाएका छौँ,’ उनले भने । यसले कामको गतिमा केही सुस्त भएको उनको भनाइ छ । सुरुङमार्ग व्यवस्थापनले निर्माणमा सहभागी सबै कामदारहरूले जनस्वास्थ्यका मापदण्ड अवलम्बन गरेर काम गरिरहेको जानकारी दिएको छ ।  

हुलाकी राजमार्ग थोरै कामदारबाट काम गराइँदै
अघिल्लो वर्ष यही समयमा हुलाकी राजमार्ग निर्माणको काम बन्द थियो । कोरोना फैलिने सन्त्रासले प्रशासनले नै आयोजना बन्द गरेको थियो । तर, यो वर्ष भने राष्ट्रिय महत्वका आयोजना बन्द नगर्ने सरकारी निर्णयअनुसार आयोजनाको काम भइरहेको छ । तर, कामदारको संख्या दैनिकजसो घट्दै गइरहेको हुलाकी राजमार्ग निर्देशनालयका कार्यालय प्रमुख रोहितकुमार बिसुरालले जानकारी दिए । ‘अघिल्लो दिन २ सय कामदार भएको कुनै ठेक्कामा पछिल्लो दिन कोरोनाको हल्लाले ५० देखि ६० जना घट्ने गरेका छन्,’ उनले भने । तराईका केही जिल्लामा सेनासमेत परिचालन भएकाले पनि त्रास बढेको छ । तराई क्षेत्रमा जनसंख्या धेरै भएका र नेपालगन्ज, वीरगन्जजस्ता बढी संक्रमण देखिएका ठाउँमा भने काम ठप्प छ । अहिले हुलाकी राजमार्गअन्तर्गत १ सय ६४ ठेक्का सञ्चालनमा छन् ।

रानीजमरा–कुलरिया सिँचाइ आयोजनामा मुख्य काम ठप्प
 रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको नदी नियन्त्रणको सामान्य काम मात्र भइरहेको छ । कोरोनाको दोस्रो लहरले आयोजनालाई निकै असर गरिरहेको आयोजना रानीजमरा–कुलरिया सिँचाइ आयोजनाका प्रमुख केदारकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार आयोजनाका कामदार बिरामी परेका छन् । मालसामान ढुवानी गर्न सकिएको छैन । सरकारले राष्ट्रिय महत्वका आयोजनामा काम सुचारु राख्ने निर्णय गरे पनि फिल्डमा अनेक चुनौतीका कारण काम गर्न नसकिएको आयोजना कार्यालयको भनाइ छ । अघिल्लो वर्ष भने अहिलेको भन्दा धेरै काम भएको आयोजना प्रमुख श्रेष्ठको भनाइ छ । 

मध्यपहाडी राजमार्ग पूर्ण क्षमतामा काम भएन 
राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गमा निषेधाज्ञापछि पूर्ण क्षमतामा काम सञ्चालन भइरहेको छैन । निर्माण सामग्री ढुवानीमा कठिन भएको र ढुवानी गर्न खोज्दा पनि चलनचल्तीको भन्दा बढी भाडा तिर्नुपर्ने अवस्था रहेको मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयका प्रमुख अर्जुनप्रसाद अर्यालले जानकारी दिए । आयोजनाअन्तर्गत अहिले २ सयभन्दा बढी ठेक्का सञ्चालनमा रहेका छन् । ती सबैको विस्तृत जानकारी प्राप्त भइनसकेको राजमार्ग आयोजना निर्देशनालयका प्रमुख अर्यालले जानकारी दिए । गौरवको आयोजना भएकाले पनि काम गर्न भने प्रशासनबाट सहयोग भइरहेको आयोजना कार्यालयले जनाएको छ । 

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा निर्माणको गति घट्यो
नेपाल–चीन जोड्ने रणनीतिक महत्वको यो सडक अहिले स्तरोन्नति र कालोपत्रे गर्ने काम भइरहेको छ । पछिल्लो समय १३ वैशाखदेखि लागू हुने गरी ११ वैशाखमा सरकारले निषेधाज्ञा लगाएपछि भने अहिले कामको गति घटेको आयोजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए । ‘निषेधाज्ञा लगाउनुअघि करिब १ हजार जनाले काम गरिरहेकोमा अहिले करिब ४ सय ५० हाराहारीमा मात्र काममा रहेका छन्,’ प्रमुख भण्डारीले भने । प्रशासनले मापदण्ड अपनाएर काम गर्न दिने भएपछि अहिले मापदण्ड पूरा गर्ने र घर गएका हेभी इक्विप्मेन्ट चालक र कामदारलाई पनि फर्काउने कोसिस भइरहेको छ । तर, समयमा पास नपाउने र कामदारलाई घरबाट फर्कन पनि कठिन परिरहेको छ ।  

 कर्णाली करिडोरको हिल्सा–सिमिकोटमा काम सुचारु
राष्ट्रिय गौरवको कर्णाली करिडोरमा भने कोरोना प्रभाव अहिलेसम्म देखिएको छैन । करिडोरअन्तर्गत हिल्सा–सिमिकोट जोड्ने सडकमा काम भइरहेको आयोजनाका इन्जिनियर सन्तोषकुमार यादवले जानकारी दिए । ‘अहिले सिमिकोटदेखि १५ किलोमिटर उत्तरमा पर्ने डागु्र खोलामा पुल निर्माण भइरहेको छ भने सिमिकोटदेखि सल्लीसल्लामा कटिङको काम भइरहेको छ,’ उनले भने । देशका अन्य ठाउँमा कोरोना प्रभावले आयोजनाको काम सुस्त भए पनि कर्णाली क्षेत्रमा त्यस्तो प्रभाव देखिएको छैन । बिस्तारै आयोजनामा प्रयोग हुने इन्धन सकिँदै गइरहेकाले केही समयपछि भने निषेधाज्ञाका कारण अप्ठ्यारो पर्न सक्ने आयोजना कार्यालयको भनाइ छ । अहिले पुल निर्माणमा करिब १६ जना कामदार खटिएका छन् भने कटिङको काममा पनि उत्ति नै संख्यामा कामदार खटिएका छन् ।

कालीगण्डकी करिडोरमा निर्माण सामग्री र कामदार ल्याउन अप्ठ्यारो
कालीगण्डकी करिडोरको बेनी–जोमसोम र कोरोला सडकमा अहिले काम ठप्पै त भएको छैन । तर, निर्माण सामग्री र कामदार पर्याप्त नहुँदा कामलाई असर गरिरहेको आयोजना कार्यालयले जानकारी दिएको छ । ‘उच्च हिमाली क्षेत्रमा पर्ने भएकाले फागुनसम्म काम नहुने, तर चैतबाट काम खुल्ने भएकाले अहिले कामदार थप गरेर काम गर्नुपर्ने समय थियो । तर, अहिले कामदार ल्याउन सकिएको छैन,’ योजना प्रमुख रामेश्वर लम्सालले भने । काम हुने ‘सिजन’ मा १ हजारभन्दा धेरै कामदार यो आयोजनामा सक्रिय रहने गरेका छन् । तर, यसपटक विभिन्न खण्डमा गरी १ हजारभन्दा न्यून कामदारले काम गरिरहेको योजना प्रमुख लम्सालले जानकारी दिए । ‘प्रशासनमार्फत पास उपलब्ध गराउने र कामदार तथा आयोजनालाई आवश्यक निर्माण सामग्री ल्याउनका लागि सहज गराउने काम भइरहेको छ,’ उनले भने । 

माथिल्लो र तल्लो सान्जेन जलविद्युत् आयोजना प्रभावित
कोरोनाको दोस्रो लहरसँगै चिनियाँ प्राविधिक टोली रोकिँदा सान्जेन र माथिल्लो सान्जेन जलविद्युत् आयोजना प्रभावित भएका छन् । करिब १५ महिनाअघि चीन फर्किएको टोली नआउँदा आयोजनामा ढिलाइ भइरहेको छ । चिनियाँ ३० जनाको टोली यही २७ वैशाखमा आउने कार्यक्रम बनेको थियो । तर, संक्रमणको दर बढेपछि पुनः अनिश्चित बनेको सान्जेन जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले जानकारी दिए । ‘अहिले काम ठप्प नै त छैन, तर सामान्य काम मात्र भइरहेको छ,’ उनले भने । इलेक्ट्रो मेकानिकल कामका लागि आवश्यक सामान चीनबाटै ल्याउने काम भइरहेको छ । त्यसको केही सामान आइसकेको छ भने थप सामान यो हप्तामा पनि आउँदै छ । अहिले आयोजनामा करिब १ सय ७० जना कामदार छन् । सामान्य अवस्था भएको भए अहिले २ सय ५० जना मानिसले काम गरिरहेका हुने थिए । 

नारायणगढ–बुटवल पश्चिम खण्डमा पुलको काम मात्र सुचारु
पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारको काम जारी छ । पूर्वतयारीमा लामो समय लाग्दा ढिलो गरी थालिएको यो सडक विस्तारले गति लिने विश्वास थियो । तर, कोरोना संक्रमणको विस्तार र सरकारले लगाएको निषेधाज्ञापछि आयोजनामा काम गर्ने कामदारको संख्या आधाले घटेको आयोजना कार्यालयले जानकारी दिएको छ । नारायणघाट–बुटवल पश्चिम खण्ड बर्दघाट–नवलपरासीका आयोजना प्रमुख प्रदीपराज शाक्यका अनुसार अहिले झन्डै ५० प्रतिशत कामदार घर फर्किसकेका छन् । सामान्य समयमा यो पश्चिम खण्डमा मात्रै करिब ५ सय कामदारले काम गरिरहेका थिए । अहिले त्यो घटेर २ सयको हाराहारीमा मात्र छन् । पश्चिम खण्डमा निर्माण भइरहेका १० वटा पुल निर्माणको काम मात्र अहिले सुचारु छ । अन्य सडक विस्तारका अन्य काम रोकिएका छन् । ‘त्यस्तै, आयोजनालाई आवश्यक पर्ने सिमेन्ट र डन्डी उपलब्ध भइरहेको छैन,’ उनले भने । यसले पनि आउँदा दिनमा समस्या आउने सम्भावना छ । 

सुझावित समाचार