‘संसद् पुनर्स्थापना भए नयाँ सरकारको नयाँ बजेट’

मंगलबार, १८ जेठ, २०७८
डिजिटल संस्करण
‘संसद् पुनर्स्थापना भए नयाँ सरकारको नयाँ बजेट’

कांग्रेसले बनाएको छाया सरकारका अर्थमन्त्री डा. मीनेन्द्र रिजाल

जनप्रतिनिधिको सहभागिताविना ल्याइएको बजेट संसद् पुनर्स्थापना भए त्यसपछि बन्ने सरकारले फेरबदल गर्न सक्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनाएको छ । कांग्रेसले बनाएको छाया सरकारका अर्थमन्त्री डा. मीनेन्द्र रिजालले सोमबार पत्रकार सम्मेलन गर्दै सरकारको असंवैधानिक क्रियाकलापले जनता अन्धकारको सुरुङमा धकेलिएको बताए ।

‘संसद्लाई छलेर राजस्व र व्ययको विनियोजन गर्ने र राष्ट्रिय ऋण उठाउन प्रस्तुत गरिएको बजेट सरकारको ढुकुटी खर्च गर्ने, जनतालाई कर र ऋणको भार थप्ने कार्य लोकतान्त्रिक मूल्य र मान्यताविपरीत छ,’ उनले भने । लोकतान्त्रिक मूल्य र मान्यताविपरीत ल्याइएको बजेटबारे संसद् पुनर्स्थापनापछि बन्ने नयाँ सरकारले निर्णय गर्ने बताए ।  

महामारीका बीच सरकारले ल्याएको बजेटले जनतालाई कुनै राहत दिन नसकेको उनको भनाइ छ । ‘गएको १४ माघमा प्रधानमन्त्रीले तीन महिनाभित्र सम्पूर्ण नेपालीले खोप पाउँछन् भन्नुभयो । तर, चार महिना बितिसक्दा पनि २ लाख ३२ हजार नागरिकले दुवै डोज खोप पाएका छैनन्,’ उनले भने, ‘पत्र पठाएकै भरमा खोपको जोहो हुन्छ भन्ने मलाई लाग्दैन ।’

नेता रिजालले सरकारको अनुत्तरदायी मनोवृत्तिका कारण खोप, स्वास्थ्य सामग्री र संक्रमितको उपचार पारदर्शी हुन नसकेको बताए ।  सरकारले अघिल्लो वर्षभन्दा डेढ गुणा लामो वक्तव्य बनाएर पुरानै योजनालाई नयाँ रूपमा प्रस्तुत गरेर भ्रम छर्न खोजेको आरोप लगाए । उनले भने, ‘यो सरकारले आफ्नो कार्यभार सम्हाल्दा सार्वजनिक ऋण ८ खर्ब ९ अर्ब थियो । उपलब्धि केही छैन, तर त्यो ऋण बढेर १६ खर्ब पुग्न थालेको छ ।’ डा. रिजालले सरकारले ऋण थपेर प्रत्येक नागरिकमाथि करिब ५५ हजार ऋणभार बोकाएको बताए । 

सरकारले क्षमताभन्दा धेरै खर्च गर्ने महात्वाकांक्षा देखाएको उनले बताए । भौतिक उपलब्धिका लक्ष्य वास्तविकतामा आधारित नभएको, राजस्व संकलनको असम्भव उद्देश्य राखेको र वैदेशिक ऋणको भार थप्ने नियत सरकारको रहेको उनले बताए । सरकारको यस्तो हर्कतले महँगी, बेरोजगारी र नागरिकको थाप्लोमा वैदेशिक ऋणको भारी मात्रै थप्ने उनले बताए । 

सुझावित समाचार