सरकारकै निर्णयअनुसार आगामी १ असारदेखि नयाँ शैक्षिक सत्र सुरु हुँदै छ । तर, त्यसवेलासम्म विद्यालयमा पुस्तक पुग्न नसक्ने अवस्था देखिएको छ । विद्यालय तहका पुस्तक छपाइ गरेको जनक शिक्षा सामग्री केन्द्रले देशभरका आठवटा डिपोमा पाठ्यपुस्तक पुर्याए पनि विक्रेताहरूले पुस्तक उठाउन सकेका छैनन् । भौतिक रूपमा पठनपाठन हुने अवस्था नभए पनि पुस्तकसमेत नपाउँदा विद्यार्थीको स्वाध्यायनमा समस्या हुने देखिएको हो ।
निषेधाज्ञाका कारण जिल्लाका विक्रेताहरूले आवतजावत गर्न अनुमति नपाउँदा डिपोसम्म पुगेर पुस्तक खरिद गर्न पाएका छैनन् । अघिल्लो वर्ष सरकारले निषेधाज्ञाको समयमा पनि जनक शिक्षाका विक्रेतालाई आवतजावत गर्न अनुमति दिएको थियो । पुस्तक पसल निश्चित समय तोकेर खुला गर्न दिएको थियो । शैक्षिक सत्र नजिकिए पनि यो वर्ष भने पुस्तक खरिद–बिक्री हुन सकेको छैन । कतिपय जिल्लामा चालू शैक्षिक सत्रको मूल्यांकन नै भएको छैन । भौतिक रूपमा विद्यालय सञ्चालन गर्ने अवस्था नभए पनि पुस्तक पाएका विद्यार्थीले स्वाध्यायन गर्न पाएका थिए । तर, यसपटक नयाँ शैक्षिक सत्र सुरु हुने वेलासम्म विद्यार्थीको हातमा पुस्तक पुग्न सक्ने अवस्था कमजोर हुँदै गएको हो ।
जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले यो वर्षका लागि आवश्यक पुस्तक छपाएर लगभग अन्तिमतिर पुगेको बताए । जनक शिक्षाले कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक छपाइ गरेको छ । कक्षा ५ देखि १० सम्मका करिब एक करोड ६९ लाख थान पाठ्यपुस्तक छपाइ भइसकेको झाले बताए । ‘पहिले यतिवेला धेरै पुस्तक बिक्री हुन्थे, अघिल्लो वर्ष निषेधाज्ञा हुँदा पनि पुस्तक विक्रेता र पुस्तक पसल खोल्न दिएका कारण विद्यार्थीको हातमा पुस्तक पुगेको थियो,’ झाले भने, ‘यो वर्ष पुस्तक पसल खुला भएनन्, कोभिडका कारण विक्रेता पनि डराएका छन् ।’ २० जेठबाट सहज होला भन्ने अपेक्षा रहेको र नभए पनि शिक्षा मन्त्रालयमार्फत आग्रह गरेर सहज रूपमा पुस्तक विद्यार्थीसम्म पु¥याउने व्यवस्था गर्ने उनले बताए । देशभरमा केन्द्रका एक हजार दुई सय विक्रेता छन् ।
जनक शिक्षाले कक्षा ४ को सात लाख पुस्तक छपाइ गरेको छ । अघिल्लो वर्ष जनक शिक्षाका कक्षा ५ देखि १० सम्मका विद्यालय तहका एक करोड ६२ लाख थान पुस्तक बिक्री भएको थियो । यो वर्ष कक्षा ५–१० सम्मका एक करोड ७० लाख थान आवश्यक हुने अनुमान छ । विगत केही वर्षयता जनक शिक्षाबाट छपाइ भएका एक करोड ६० लाख थानको हाराहारीमा पुस्तक बिक्री हुने गरेका छन् । कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक छपाइ गर्ने जिम्मा निजी प्रेसले पाएका छन् ।
कक्षा ६ का पाठ्यपुस्तक सबैतिर पुग्न ढिलाइ
जनक शिक्षाले छपाइको जिम्मेवारी पाएको कक्षा ५ देखि १० सम्मका पुस्तक छपाइको काम लगभग सकिए पनि कक्षा ६ को पाठ्यपुस्तकमा केही ढिलाइ भएको छ । कक्षा ६ बाहेक अरू कक्षाका पाठ्यपुस्तक देशभरका आठवटै डिपोमा पुगेका छन् । तर, कक्षा ६ को पाठ्यपुस्तक छपाइ गर्दै पठाउँदै गरेको छ । केन्द्रका प्रबन्ध निर्देशक झाले कक्षा ६ को पुस्तक पनि तीनवटा डिपोमा पठाएको र अरू पाँचवटामा छिट्टै पुग्ने बताए । ‘सबै ठाउँबाट सेटमै पाठ्यपुस्तक पाउँछन्,’ उनले भने । एक–दुई दिनभित्र सबै पुस्तकको सेट उपलब्ध गराउने प्रयास भएको उनले बताए । नयाँ शैक्षिक सत्रबाट कक्षा २, ३ र ८ को पाठ्यक्रम परिवर्तन भएको छ ।
कोभिडका कारण पाठ्यपुस्तकको छपाइको कामसमेत प्रभावित भएको छ । केन्द्रका कर्मचारी कोभिड संक्रमित भएका कारण पुस्तक छपाइ प्रभावित भएको हो । केन्द्रका १८ वटा छपाइ मेसिनमध्ये अहिले तीनवटा मात्र सञ्चालनमा छन् । कोभिडका कारण दुई सातादेखि छपाइ अवरुद्ध भएको छ ।