बोस्टन कलेजमा इन्क्युबेसनको दोस्रो सत्र सुरु

सोमबार, १७ जेठ, २०७८
डिजिटल संस्करण

चितवनको भरतपुरस्थित बोस्टन इन्टरनेसनल कलेजको इन्क्युबेसन विभाग, बिआइसी स्टार्ट अप्सले ‘उद्यमी विकास कार्यक्रम (६ दिने बुटक्याम्प)’ का नाममा इन्क्युबेसनको दोस्रो सत्र सुरु गरेको छ । बजेटमा उद्यमीलाई बीज पुँजी ऋण, प्रमाणपत्र धितो राखेर पाइने सहुलियतपूर्ण कर्जा, एकद्वार प्रणालीमार्फत व्यवसाय दर्तालगायतका कार्यक्रम आएको भोलिपल्ट नै भर्चुअल माध्यमबाट कार्यक्रम सुरु भएको हो । 

६ दिने बुटक्यामको पहिलो दिन कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले बजेटले विभिन्न प्रकारका सकारात्मक व्यवस्था गरेकाले सहभागीलाई थप उत्साहित भएर उद्यम कर्ममा लाग्न प्रेरित गरेका थिए । चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले बजेट भाषणमा केही सकारात्मक कुरा आएको र चितवन उद्योग संघले थप समीक्षा गर्ने बताए ।

बीज पुँजीमा लगानी भएको ५ लाख रुपैयाँसम्मको रकम खर्चमा गणना गर्न मिल्ने प्रावधानको उनले स्वागत गरे । आगामी दिनमा संघले चितवनका वास्तविक उद्योगी र व्यवसायीको पहिचान गरी डाटाबेस तयार पार्ने काम अन्तिम चरणमा पुगेको र उक्त कामपश्चात् संघले नवउद्यमीलाई कस्ता उद्योगको बजारमा माग छ भनेर सुझाब दिन सक्ने उनको भनाइ थियो । 

उद्योग सुरु गर्दा कसरी दर्ता गर्ने, के–कस्ता व्यवसाय गर्नेलगायतका कुरामा अहिले पनि परामर्श गर्दै आएको उनको भनाइ थियो । उद्योग संघमा आबद्ध व्यक्ति तथा उद्योगको हकहितका लागि निरन्तर काम गरिरहेको संघले भइपरिआउने संकटमा परेका उद्योगलाई ५० लाखसम्मको राहत कोष खडा गरेको, आबद्ध संस्थाहरूलाई ३ जनाको जमानीमा १० लाखसम्म विनाधितो कर्जा प्रवाह गरिरहेको लगायतका थुप्रै कामको उनले स्मरण गरेका थिए । उद्योगी र श्रमिकबीच समन्वय सहज गर्नका लागि ‘रोजगार बैंक’ को अवधारणा प्रस्तुत गरिएको लगायत आगामी दिनमा अझ सशक्त रूपले उद्यमशीलता प्रवद्र्धन गर्ने पौडेलले प्रतिबद्धता व्यक्त गरे । 

स्किल ल्याबका संस्थापक निर्देशक नन्दकिशोर मण्डलले सहभागीलाई उद्यमशीलताको यात्रामा लागेकोमा बधाई दिँदै आफू एकदमै उत्साही भएको बताए । उद्यमशीलताको यात्रा निकै नै चुनौतीपूर्ण भएकाले नै इन्क्युबेसनको महत्व झन्–झन् बढ्दै गएको र त्यसमा स्किल ल्याब डटेर काम गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो । 

बिआइसी स्टार्ट अप्सका प्रमुख प्रेम गैरेले चितवनलाई नेपालकै एक उद्यमशील जिल्लाको रूपमा विकास गर्ने भिजनका साथ काम गरिरहेको बताए । सेप्टम्बरमा डेमो डे कार्यक्रम सञ्चालन गर्ने गरी इन्क्युवेसनको यस दोस्रो सत्र सुरु गरिएको उनको भनाइ थियो । 

सुझावित समाचार