प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब बजेट

आइतबार, १६ जेठ, २०७८
डिजिटल संस्करण
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब बजेट

फाइल तस्बिर

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट मार्फत प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २ लाख रोजगारी सिर्जना गर्ने बताएका छन् । घास उखाल्ने, गाई धपाउनेजस्ता रोजगार सिर्जना गरी बजेटको दुरुपयोग गरेको भन्दै निक्कै आलोचित प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि आगमी आवमा १२ अर्ब विनियोजन गरेको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले श्रम बजारमा प्रवेश गर्ने युवा, वैदेशिक रोजगारबाट फर्किएका तथा स्वदेशमा रोजगार गुमाएका श्रमिकको सीप विकास गरी १ लाख रोेजगारी थपिने बताएका छन् । साथै, कार्यस्थलमा नै तालिम प्रदान गरी थप २५ हजार रोजगारी सिर्जना गरिने योजना सरकारको छ । आगामी आर्थिक वर्षमा सरकारले सवा ३ लाख नयाँ रोजगारी सिर्जना गर्ने भएको छ । 

रोजगारी सिर्जना गर्ने विभिन्न कार्यक्रमका लागि १३ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरिएको छ । सरकारले आगामी आवमा २ लाख श्रमिकलाई १ सय दिनको रोजगारी दिने लक्ष्य राखेको छ । सीप विकासमूलक तालिमका लागि सरकारले ४० अर्ब विनियोजन गरेको छ । 

त्यस्तै, कार्यस्थल आधारित तालिम सञ्चालनका लागि १ अर्ब छुट्याइएको छ । निजी क्षेत्रको साझेदारीमा उत्पादन तथा सेवामूलक उद्योगमा प्रशिक्षार्थी कामदारलाई ३ महिनाको न्यूनतम पारिश्रमिकबराबरको अनुदानका लागि सरकारले बजेट विनियोजन गरेको हो । तालिम दिई सोही उद्योगमा न्यूनतम २ वर्षको रोजगारी सुनिश्चित गर्ने व्यवस्था मिलाइने भएको छ । 

शैक्षिक प्रमाणपत्र धितोमा २५ लाखसम्मको कर्जा 
स्नातक तह अध्ययन गरेका युवालाई शैक्षिक प्रमाणपत्र धितो राखी २५ लाख रुपैयाँसम्म अधिकतम ५ प्रतिशत ब्याजमा कर्जा दिइने भएको छ । प्रधानमन्त्री ओलीको पहिलो सरकारले आव ०७५/७६ को बजेटबाट नै धितो परियोजना सुरु गरेको हो । तत्कालीन समयमा उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न भन्दै शैक्षिक प्रमाणपत्रको धितोमा ५ प्रतिशत ब्याज अनुदानमा ७ लाखसम्म ऋण उपलब्ध गराइने घोषणा गरेको थियो । तर, वित्तीय संस्थाले सो कार्यक्रमलाई खासै सहयोग नगर्दा विद्यार्थीले कर्जा भने पाउन सकेनन् ।   
 
सूचना प्रविधि मन्त्रालयमा पुरानै कार्यक्रम   

प्रधानमन्त्री केपी ओलीको पहिलो सरकारले आव ०७५/७६ को बजेटमा नै ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सबै स्थानीय तहका केन्द्र, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक क्याम्पस र माध्यमिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गरिने घोषणा गरेको थियो । तीन वर्षपछि पनि ओली सरकारले सोही कार्यक्रमलाई दोहोर्याएको छ । त्यस्तै, दुई वर्षभित्रमा निर्माण सम्पन्न हुने सुरु गरिएको सूचना महामार्ग निर्माण परियोजना चार वर्षपछि पनि फेरि दोहोर्याएको छ । 

See More On

सुझावित समाचार