नीतिहीन गठबन्धनको भर्‍याङ चढेर सरकारमा जान खोज्नु ‘अराजनीतिक झेली’ काम हाे : प्रधानमन्त्री

शुक्रबार, १४ जेठ, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले नीतिहीन गठबन्धनको भर्याङ चढेर सरकारमा जान खोज्नु ‘अराजनीतिक झेली’  भएको टिप्पणी गरेका छन् । 

प्रधानमन्त्री ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै दलीय प्रणालीमा दलको अनुशासनभन्दा बाहिर गएर नीतिहीन गठबन्धन बनाई त्यसकै माध्यमबाट सरकारको नेतृत्वमा जान खोज्नु अराजनीतिक झेली काम भएको बताएका हुन् ।

आफ्ना लागि सरकारको नेतृत्व साधन मात्रै भएको, साध्य नभएको भन्दै उनले लोकतन्त्रको सुदृढीकरणका लागि ताजा जनादेशमा जाने निर्णय गरेको दाबी गरे ।  आफूले सांसदहरूको अस्वस्थ गतिविधिका कारण लोकतान्त्रिक गणतन्त्रप्रतिको जनविश्वास गुम्ला कि भनेर आवधिक निर्वाचनमा जाने निर्णय गरेको स्पष्ट पारे । 

उनले भने, ‘ताजा जनादेशमा जानु प्रतिगमन होइन । निर्वाचनमा जानुलाई प्रतिगमन भन्नु सारमा जनताको सार्वभौम सत्तालाई अस्वीकार गर्नु हो । नीतिहीन गठबन्धनको भर्याङ चढेर सरकारमा जान खोज्नु भनेको अराजनीतिक झेली काम हो ।’

उनले पहिलोपटक प्रतिनिधिसभा विघटन र त्यसयताका घटनाक्रमहरूको फेहरिस्त पनि प्रस्तुत गरे । त्यसैगरी विश्वासको मत प्राप्त नभएपछि सरकार गठनका लागि अघि बढेका प्रक्रियाहरूबारे जानकारी गराउँदै आफूले मुलुकलाई राजनीतिक अन्याेलबाट छिटो मुक्ति गर्ने बाटो अवलम्बन गरेको दाबी गरे । 

सुझावित समाचार