प्रधानमन्त्री केपी ओलीले आवश्यकताअनुसार स्वास्थ्य संकटकाल लगाउन सकिने बताएका छन् ।
राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले कोरोना संक्रमण बढ्दै गइरहेको अवस्थामा आवश्यकता परे स्वास्थ्य संकटकाल लगाउन सकिने अध्यादेश ल्याइएको बताए । प्रधानमन्त्री ओलीले अहिले कोरोना संक्रमणको स्थितिमा सुधार आएको जनाए । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सम्पूर्णलाई उनले आग्रह गरे । भारतबाट लिक्विड अक्सिजन नियमित आउन थालेको उनले बताएका छन् ।
उनले अक्सिजन प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गरिएको छ र विदेशबाट एअरलिफ्ट गरेर अक्सिजन ल्याइएको बताए । उनले मित्रराष्ट्रबाट पर्याप्त मात्रमा भेन्टिलेटर, अक्सिजन, स्वास्थ्य सामग्री भित्रिएको बताउँदै मित्रराष्ट्रहरूको सहयोगप्रति आभार व्यक्त गरे । गाँस कटाएर अक्सिजन पठाउने खाडीराष्ट्रका नेपालीप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्रीले एनआरएनलाई धन्यवाद दिए ।
कोभिड संकट व्यवस्थापन अध्यादेशले राज्यको सम्पूर्ण शक्तिविरुद्ध परिचालित गर्न सजिलो भएको उनको भनाइ छ । उनले भने, ‘वीर अस्पतालाई कोभिड एकीकृत अस्पताल बनाइएको भन्दै उनले आवश्यकताअनुसार स्वास्थ्य संकटकाल लगाउन सकिने व्यवस्था भएको छ । ४५ निजी अस्पतालसँग निःशुल्क उपचारको सम्झौता भएको छ । एक सय ५७ अस्पतालमा कोभिडको उपचार भइरहेको छ ।’
३२ लाख २८ हजार डोजबाट खोप अभियान बढाइएको उनले बताए । थप खोपको व्यवस्था गरेर सबै वयस्क नागरिकलाई खोप लगाउने र महामारी नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कोभिड उपचारमा खटिएका राष्ट्रसेवकमाथि हुने भौतिक आक्रमणलाई दण्डनीय बनाइने उनले बताए ।