भिल्लारियलले जित्यो युरोपा लिग

शुक्रबार, १४ जेठ, २०७८
डिजिटल संस्करण

युरोपियन क्लब फुटबल इतिहासमै सर्वाधिक लामो पेनाल्टी सुटआउटमा इंग्लिस टोली म्यानचेस्टर युनाइटेडलाई ११–१० ले पराजित गर्दै स्पेनी टोली भिल्लारियलले युरोपा लिगको पहिलो उपाधि जित्यो 

एजेन्सी÷ युरोपियन क्लब फुटबल प्रतियोगिताकै लामो र रोमाञ्चक पेनाल्टी सुटआउटमा म्यानचेस्टर युनाइटेडका गोलरक्षक डेभिड डी जिया चुकेपछि स्पेनी टोली भिल्लारियलले युरोपा लिगको उपाधि जितेको छ । पोल्यान्डको गदान्स्कस्थित रंगशालामा बिहीबार भएको प्रतियोगिताको पेनाल्टी सुटआउटमा भिल्लारियलले इंग्लिस टोली म्यानचेस्टर युनाइटेडलाई ११–१० ले पराजित गरेको हो ।

त्यसअघिको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त ३० मिनेटमा दुवै टोलीबाट १–१ गोलको बारबारी भएपछि पेनाल्टी सुटआउटमार्फत विजेता चुनिएको हो । युनाइटेडका तर्फबाट ११औँ नम्बरमा पेनाल्टी प्रहार गर्न गएका गोलरक्षक डी जिया गोल गर्न असफल भए । उनको प्रहारलाई भिल्लारियलका गोलरक्षक गेरोनिमो रुल्लीले देब्रेतर्फ डाइभ गर्दै असफल बनाइदिएका थिए । त्यससँगै भिल्लारियलका खेलाडीहरूले मैदानमा उपाधिको खुसी मनाएका थिए । 

निर्धारित र अतिरिक्त समयमा मैदानको मध्यभागमा अल्झिएका दुवै टोलीका खेलाडीहरूले एकअर्काको पोस्टमा गतिलो आक्रमण गर्न सकेनन् । एक सय २० मिनेटको खेलमा मात्रै तीनवटा राम्रा आक्रमण भए । यद्यपि, त्यसपछि प्रहार गरिएको पेनाल्टी सुटआउट भने रोमाञ्चक बन्यो । मैदानमा रहेका २२ मध्ये २० खेलाडीले पेनाल्टी सुटआउटमा गोल गरे । त्यसपछि बाँकी रहेका दुई गोलरक्षकको पालो आयो । भिल्लारियलका गोलरक्षक रुल्लीले टोलीको ११औँ गोल गरे । त्यसपछि डी जियाको प्रहार रोकेर उनले आफ्नो टोलीको जित निश्चित गरेका हुन् ।

भिल्लारियलले युरोपा लिगको उपाधि जितेको यो नै पहिलो अवसर हो । भिल्लारियलका प्रशिक्षक उनई इमेरीका लागि भने यो चौथो उपाधि हो । यी दुई टोलीबीचको प्रतिस्पर्धा युरोपका दुई फरक आर्थिक अवस्थाबाट गुज्रिरहका क्लबहरूबीचको प्रतिस्पर्धाको रूपमा रहेको थियो । भिल्लारियलको तुलनामा म्यान युनाइटेडले खेलाडी अनुबन्धमा ठूलो रकम खर्चेको छ । खेलाडीलाई दिने तलबमा पनि म्यान युनाइटेड निक्कै अघि देखिएको छ । तर, म्यान युनाइटेडका महँगा खेलाडीले कुनै जादू देखाउन सकेनन् । म्यानचेस्टर युनाइटेडले राम्रो सुरुवात गर्न सकेन र खेलमा सुरुवातमै पछि प¥यो । जेरार्ड मोरनोको गोलमार्फत भिल्लारियलले खेलको २९औँ मिनेटमा अग्रता बनाएको थियो ।

दोस्रो हाफ सुरु भएको १० मिनेटपछि नै इडिसन काभानीले म्यान युनाइटेडलाई १–१ को बराबरीमा फर्काए । मार्कस रासफोर्डले प्रहार गरेको बल फर्किएर आफूतर्फै आएपछि काभानीले गोल गरेका थिए । तर, त्यसपछि फेरि अर्काे गोल थप्न नसक्दा म्यानचेस्टर युनाइटेड पेनाल्टी सुटआउटमा पुगेर उपाधिबाट चुक्यो ।

योजनामै समस्या 
यो सिजन घरेलु लिगमा दुई छिमेकी क्लब म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीच को अघि बढ्ला भनेर अनुमान लगाउन धेरैलाई मुस्किल रह्यो । तर, सिजनको अन्त्यसम्म आइपुग्दा सिटीले उपाधि जित्यो । युनाइटेड पछि रह्यो । 

गत सिजनकै कुरा गरौँ, युरोपा लिगको सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडले अर्काे स्पेनी टोली सेभिलसँग प्रतिस्पर्धा गरेको थियो । म्यान युनाइटेड पराजित भएको उक्त खेलको ८७औँ मिनेटसम्म प्रशिक्षक ओले गुनर सोल्स्कजइरले आफ्नो टोलीमा कुनै खेलाडी परिवर्तन गरेनन् ।

बुधबार राति पनि फाइनल खेलमा अतिरिक्त समयतर्फ पुगिसक्दासमेत प्रशिक्षक सोल्स्कजइरले खेलमा प्राप्त ६ मध्ये खेलाडी परिवर्तनको कुनै पनि अवसर सदुपयोग गरेनन् । उनले सुरुवातमै आफ्नो आक्रामक टोलीलाई मैदानमा उतारे । सम्भवत उनले आफूले पहिलो रोजाइमा अवसर दिएका खेलाडीको स्थानमा मैदानमा प्रवेश गरेर कुनै पनि खेलाडीले सुधार्न सक्नेमा विश्वास गरेनन् । 

उनले खेलको अन्तिममा जुवान माटा र एलेक्स टेल्लेसलाई पेनाल्टी सुटआउटकै लागि मात्रै मैदानमा प्रवेश गराए । उनका केही आलोचकहरूले पराजयमा प्रशिक्षक सोल्स्कजइरको यो शैली जिम्मेवार रहेको तर्क गरेका छन् । टोलीको रक्षात्मक क्षेत्रमा पनि कमजोरी देखियो । विशेष गरी म्यानचेस्टर युनाइटेडको रक्षापंक्तिमा कप्तान हारी मागुइरेको अनुपस्थिति खट्किएको देखियो । उनकै स्थानबाट मोरेनोले भिल्लारियलका लागि गोल गरेका थिए ।

डानी परेजोले प्रहार गरेको फ्रीकिकलाई मोरेनोले गोलमा परिणत गरेका थिए । मोरेनोले यो बललाई खुला प्रहार गर्ने अवसर पाएका थिए । उनलाई रोक्न म्यानचेस्टर युनाइटेडका कुनै पनि रक्षक त्यहाँ थिएनन् । म्यान युनाइटेडले यस्तो गल्ती यो सिजनमा धेरैपटक व्यहोरेको छ । 

तथ्य
भिल्लारियल सन् २००८–०९ को सिजनपछि युरोपियन क्लब फुटबलको कुनै पनि फाइनलमा पुगेको पहिलोपटक नै उपाधि जित्ने टोली बनेको छ । सन् २००८–०९ को सिजनमा सख्तर डोनेटस्कले यो उपलब्धि हात पारेको थियो ।

म्यानचेस्टर युनाइटेडले सबै प्रतियोगितामा गरी पछिल्लो सात पेनाल्टी सुटआउटमध्ये ६ मा पराजय व्यहोरेको छ । भिल्लारियलका प्रशिक्षक उनई इमेरी युइएफए कप वा युरोपा लिग चारपटक जित्ने पहिलो प्रशिक्षक बनेका छन् । भिल्लारियल यो सिजन युरोपको पाँच ठूला घरेलु लिगमध्ये सबै प्रतियोगितामा गरी सय गोल प्रहार गर्ने १३औँ टोली बनेको छ ।

बुधबारको खेलमा सम्भव भएको सट अन टार्गेट (एक भिल्लारियलका लागि र दुई म्यानचेस्टर युनाइटेडका लागि) युरोपा लिगको फाइनलमा सन् २०११ यताकै कमजोर प्रदर्शन रह्यो । सन् २०११ मा पोर्ताे र स्पोर्टिङ ब्रागाबीचको खेलमा पनि तीन सट अन टार्गेन सम्भव भएको थियो ।

गेरार्ड मोरेनोले भिल्लारियलका लागि सबै प्रतियोगितामा गरी ८२ गोल गरेका छन् । उनी भिल्लारियलका लागि सर्वाधिक गोल गर्ने कीर्तिमानी खेलाडीमा परेका छन् ।

See More On

सुझावित समाचार