काठमाडौं प्रशासनले भन्यो- दैनिक उपभोग्य वस्तुको अभाव हुन दिन्नौँ

बिहिबार, १३ जेठ, २०७८
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको समयमा पनि दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाइएकाले घरमै बसेर निषेधाज्ञाको पूर्ण पालना गर्न सबैलाई अपिल गरेको छ । 

जिल्ला प्रशासन कार्यालयले जेठ १४ गते शुक्रबारदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा किराना पसल, खाद्यान्न पसल र डिपार्टमेन्ट स्टोर पनि बन्द गर्ने गरी निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेपछि दैनिक उपभोग्य सामान खरिदमा समस्या हुने भन्दै निर्णयको विरोध भइरहेका वेला प्रशासनले त्यस्ता वस्तुको आपूर्ति सहज पारिने जनाएको हो ।

बिहीबार बिहान जिल्ला प्रशासन कार्यालयले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, उपभोक्ता संरक्षण मञ्च र खाद्य, किराना थोक व्यापार संघका प्रतिनिधिहरूसँग छलफल गरी आगामी एक साता दैनिक उपभोग्य सामान अभाव हुन नदिने गरी व्यवस्था मिलाउन निर्देशन दिएको हो । प्रशासनले अत्यावश्यक दैनिक उपभोग्य सामान खरिदमा समस्या नहुने गरी व्यवस्था मिलाउने जिम्मेवारी नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई दिएको छ ।

निषेधाज्ञाको समयमा दैनिक उपभोग्य सामग्रीको सहज आपूर्तिको व्यवस्था मिलाउनका मोडालिटी पनि तयार भएको भन्दै प्रशासनले निषेधाज्ञालाई पालना गर्न अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख कालीप्रसाद पराजुलीले अत्यावश्यक सामानको अभाव हुन नदिने गरी व्यवस्था मिलाइएकाले ढुक्क भएर घरभित्रै बसी निषेधाज्ञाको पालना गरी कोरोना नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल गरे । 

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको तर्फबाट अनलाइनका माध्यमबाट यथाशीघ्र खाद्य सामग्री मागको विवरण संकलन गर्ने र सोहीबमोजिम गाडीबाट आपूर्तिको स्थलगत व्यवस्थापन मिलाउन निर्देशन गरिएको छ ।

त्यसैगरी नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले अनलाइन गाडीमार्फत रुटहरू यकिन गरी स्थानीय स्तरमा स्थानीय तहको समन्वय गरी स्थलगत रूपमा नै खाद्य वस्तुहरू उपलब्ध गराउने, कसैलाई खाद्यान्न अभाव भएमा हामीले सार्वजनिक गरेका नम्बरमा फोन सम्पर्क गरी खरिद गर्ने व्यवस्था मिलाउने र त्यसको व्यवस्थापन गर्नका लागि  नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सार्वजनिक सूचना जारी गर्ने, खाद्यान्न आपूर्ति व्यवस्थामा आवश्यक पर्ने गाडी, चालक र कर्मचारीको निर्वाध आवागमनका लागि जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्नेछ ।

मोबाइलबाट खाद्य आपूर्ति गर्ने सम्बन्धमा तोकिएको स्थान र रुटका विषयमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट आपूर्ति एवं सार्वजनिक सूचना जारी गर्न निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए । 

सुझावित समाचार