अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले रुपन्देहीको सियारी गाँउपालिका मैनहियामा निर्माण गरेको स्वास्थ्यचौकी भवनको उद्घाटन गरेको छ । उक्त भवन लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ र अर्घाखाँची सिमेन्टका निर्देशक राजेशकुमार अग्रवालले उद्घाटन गरेका हुन् ।
कम्पनीले स्वास्थ्य सामग्रीसहित भवन निर्माण गरेर हस्तान्तरण गरेको जनाएको छ । उक्त भवन निर्माण गर्न ७० लाख रुपैयाँ लागेको कम्पनीको भनाइ छ । स्वस्थ्यचौकी भवन हस्तान्तरणपछि कम्पनीका निर्देशक अग्रवालले मैनहिया गाउँपालिकाका जनतालाई स्वस्थ्यचौकी घरबाट धेरै टाढा हुँदा भोग्नुपरेको दुःख अब भोग्नुनपर्ने बताए । उक्त भवन जनहित र सामाजिक उत्तरदायित्वअन्तर्गत निर्माण गरेको उनको भनाइ थियो ।
लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री श्रेष्ठले कम्पनीलाई धन्यवाद दिँदै कोभिड–१९ को नियन्त्रण र मैनहिया गाँउपालिकाको जनहितका लागि स्वास्थ्यचौकीलाई व्यवस्थित गरिने बताए । स्वास्थ्यचौकीमा ब्लडप्रेसर मापन गर्ने, एक्सरे लिने र चिकित्सकद्वारा परामर्श लिनेलगायतका सुविधा रहेको जनाइएको छ ।
कम्पनीले मैनहिया गाउँपालिकाका विद्यालयलाई पठनपाठनका लागि साम्रगी वितरणका साथै स्थानीय निकायलाई शिक्षा, सरसफाइ, खाना र सडक निर्माणमा सहयोग पुर्याउँदै आइरहेको जनाएको छ ।