स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने गरी गरेको निर्णयलाई एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले चुनौती दिएको छ । दलको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई दिएको समर्थन तत्कालका लागि यथावत् राख्ने निर्णय गरेको छ । यो निर्णयले भट्ट नेतृत्वको सरकार तत्कालका लागि जोगिएको छ । र, मुख्यमन्त्री मन्त्रिपरिषद् हेरफेरको गृहकार्यमा जुटेका छन् ।
बैठकले कोरोना महामारीको अवस्था तथा छिट्टै नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले अहिले समर्थन यथावत् राख्ने निर्णय गरेको हो । ‘केही समय समर्थन कायम राख्ने भन्ने निर्णय भएको छ,’ प्रमुख सचेतक तारा लामा तामाङले भने । संसदीय दलमा झलनाथ खनाल–माधवकुमार नेपाल समूहको बहुमत छ । यसअघि खनाल–नेपाल समूहका चार सांसदले फ्लोर क्रस गरेर कर्णाली प्रदेश सरकार बचाएका थिए ।
स्थायी कमिटीको सोमबारको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । बैठकमा संसदीय दलका नेता प्रकाशबहादुर शाहले समर्थन फिर्ताबारे पार्टीको निर्णय आधिकारिक रूपमा प्राप्त नभएको जानकारी गराएका थिए ।
कोरोना महामारीको अवस्था र छिट्टै बजेट ल्याउनुपर्ने भएकाले सरकारलाई दिएको समर्थन अहिले फिर्ता लिन नहुने बैठकमा बहुमत सदस्यको मत थियो । ‘संसदीय दलको नेताले राजनीतिक अवस्था र महामारीलाई मध्यनजर गरेर तत्काल समर्थन कायम राख्ने निर्णय सुनाउनुभयो, हामीले ताली पिटेर समर्थन जनायौँ,’ सांसद दुर्गा कामीले भनिन् । बैठकले समर्थन कायम राखे पनि आफ्नो पार्टीको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय पनि लिएको छ ।