युरिया र डिएपी मल खरिद गर्न चितवनका किसान कोरोनाको जोखिम मोलेर फेरि लामो समय लाइनमा बस्न बाध्य भएका छन् । गत वर्षमा जस्तै मलको अभाव हुने डरले किसानहरू जोखिम माेलेर नै लाइनमा बस्न बाध्य भएका हुन् । लाइनमा बसेका किसानले आवश्यकताअनुसार मल पाएका छैनन् । सहकारीले थोरै मात्र मल दिने गरेको छ ।

चितवनको भरतपुर– १३ मा रहेको ब्रह्मज्योति कृषि सहकारी संस्थामा ३०–३० बाेराका दरले युरिया र डिएपी आएको थियो । एक बाेरामा ५० केजी मल हुन्छ । मल आएको छ भन्ने थाहा पाएपछि वडाका कृषकहरू बिहान ६ बजेदेखि नै लाइनमा बसेका थिए । मल खरिद गर्ने किसानको भिड धेरै भएपछि सहकारीले प्रतिकिसान १२ केजी युरिया र १२ केजी डिएपी वितरण गरेको सहकारीका अध्यक्ष बलराम पौडेलले बताए । सबै किसानलाई मल वितरण गर्न सकिएन, दिएकालाई पनि मागअनुसार भएन । उनका अनुसार सहकारीमा फेरि कहिले मल आउँछ भन्ने पनि टुंगो छैन ।

असार पहिलो हप्तादेखि जिल्लामा धान रोपाइँ हुने गर्छ । अहिले धानको बिउमा र रोपाइँको हिलोमाटोमा डिएपी हाल्ने गरिन्छ भने त्यसको ४५ दिनमा युरिया मल हाल्ने गरिन्छ । आवश्यकताअनुसार मल जिल्लामा अहिले पनि नआएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताए । यो प्रतिनिधि घटना मात्र हो । जिल्लाका अन्य ठाउँमा पनि समस्या यस्तै छ । घाममा दिनभर लाइनमा बस्दा किसानले मल पाएका छैनन् । फेरि पनि मल नपाइने चिन्तामा यहाँका किसान छन् । चितवनमा जिल्लामा २७ हजार चार सय ४५ हेक्टरमा धान खेती हुँदै आएको छ ।



