राष्ट्रिय आपूर्ति नीति : राज्यले तीन महिनालाई पुग्ने अत्यावश्यक वस्तु मौज्दात राख्नुपर्ने

बुधबार, १२ जेठ, २०७८
डिजिटल संस्करण

विपद्को समयमा अभाव हुन नदिन अत्यावश्यक वस्तुको मौज्दात कम्तीमा तीन महिनालाई पुग्ने गरी राख्नुपर्ने प्रावधानसहितको राष्ट्रिय आपूर्ति नीतिको मस्यौदा तयार भएको छ । नीति अनुसन्धान प्रतिष्ठानले तयार गरेको मस्यौदामा  खाद्यान्न, पेट्रोलियमलगायतका अत्यावश्यक वस्तुको नियमित भण्डारण गरी बजारमा आपूर्ति हुनुपर्ने व्यवस्था गरिएको छ । ‘मुलुकमा दैवीप्रकोप वा अन्य अपत्कालीन अवस्थाका कारणले बढी माग हुन सक्ने स्थितिलाई सहज गर्न दाल, चामल, नुन, तेललगायतका खाद्यान्न एवं पेट्रोलियम पदार्थ आदि वस्तुहरूको कम्तीमा ३ महिनाका लागि आवश्यक परिमाण मौज्दात राख्ने व्यवस्था मिलाइनेछ,’ मस्यौदामा भनिएको छ ।

अभावका वेला खाद्य वस्तुको चर्को कालोबजारी हुने प्रवृत्तिलाई निरुत्साहित गरी मूल्य नियन्त्रण गर्न र उपभोक्तालाई अत्यावश्यक वस्तुको पर्याप्त मौज्दात भएको सुनिश्चितता प्रदान गर्न भण्डारण भइरहनुपर्ने व्यवस्था गर्न लागिएको हो । तीन महिनाका लािग आवश्यक परिमाण मौज्दात राख्ने व्यवस्था मिलाउन कुन वस्तुको माग र खपत कति हो भन्ने तथ्यांकसमेत संकलन गरिने भएको छ ।

हाल दैनिक उपभोग्य वस्तुको माग र खपतबारे यकिन तथ्यांक छैन । त्यसैले विपद्का वेला व्यवसायीले कृत्रिम अभाव खडा गरी मूल्य र गुणस्तरमा उपभोक्तालाई ठगी गर्दै आएका छन् । भण्डारणगृह वृद्धिका लागि प्रदेश तथा स्थानीय तहमा निजी तथा सार्वजनिक संस्थानहरू परिचालन गरी गोदामगृह बनाउन सक्ने व्यवस्था गरिएको छ ।

पेट्रोलियम पदार्थको मौज्दात सुनिश्चित गर्न पाइपलाइन विस्तार, भण्डारणगृह तथा ग्यास बोटलिङ प्लान्ट निर्माण गर्नुपर्ने उल्लेख छ । ‘पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई लागत प्रभावी बनाउन आयल निगम लिमिटेडमार्फत आवश्यक स्थानमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने पाइपलाइन विस्तार गरी भण्डारण क्षमता वृद्धि तथा ग्यास बोटलिङ प्लान्ट स्थापना गरिनेछ,’ मस्यौदामा भनिएको छ ।

मस्यौदामा अत्यावश्यक वस्तुको आपूर्ति प्रणाली सुधार गर्न उपभोक्ता संघ–संस्था, नागरिक समाज, निजी तथा सहकारी क्षेत्रको संलग्नतामा अनुगमन र नियमन कार्य प्रभावकारी बनाउने उल्लेख छ । तर, हाल जारी उपभोक्ता संरक्षण ऐनले भने कर्मचारीलाई मात्र बजार अनुगमनको जिम्मा दिएको छ । ऐनको कमजोरीलाई सुधार गरेर सर्वपक्षीय टोलीबाट बजार अनुगमन गराउनुपर्ने नीतिगत व्यवस्था गर्न लागिएको हो ।

सरकारले अत्यावश्यक वस्तुको सूचीसमेत हेरफेर गर्नुपर्ने प्रस्ताव मस्यौदामा गरिएको छ । आवश्यक सेवा सञ्चालन ऐन, २०१४ ले तोकेका अत्यावश्यक वस्तुको सूची हेरफेर गर्ने र आवश्यक परेका वेला मूल्यमा समेत हस्तक्षेप गरी सरकारी निकायले नै उपभोक्तालाई सजिलो हुने गरी वस्तु तथा सेवाको अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) तोक्नुपर्ने मस्यौदामा उल्लेख छ ।

‘सरकारले विशेष अवस्थामा अत्यावश्यक वस्तु तथा सेवाको अधिकतम उपभोक्ता मूल्य तोक्न सक्नेछ,’ मस्यौदामा भनिएको छ । दुर्गम क्षेत्रमा खाद्यान्नको उपभोग स्तर सन्तोषजनक भए पनि कुपोषणको बढ्दो दरलाई न्यूनीकरण गर्न पोषणयुक्त पदार्थ मिश्रण गरी खाद्य वस्तुको बिक्री बढाइने नीति लिइएको छ ।

विपद्का वेलामा सधैँ चिनीको बजारभाउ बढ्दै गएका कारण स्वदेशी उद्योगले निश्चित परिमाण सरकारी संस्थानलाई उपलब्ध गराउनुपर्ने बाध्यकारी व्यवस्थासमेत गर्न लागिएको छ । ‘सरकारले तोकेअनुसार चिनी उद्योगहरूले उद्योगको कुल वार्षिक उत्पादनको निश्चित परिमाण सरकारलाई आवश्यकताअनुसार उपलब्ध गराउनुपर्ने व्यवस्था मिलाइनेछ,’ मस्यौदामा भनिएको छ ।

नेपालमा वार्षिक १ लाख ८० हजार मेट्रिकटनसम्म चिनी उत्पादन हुने गरेकोमा पछिल्लो समय किसानले समयमै भुक्तानी नपाउँदा खेतीतर्फ विकर्षण भई उत्पादन घट्न थालेको छ । उद्योगीले उत्पादित चिनी आफूखुसी लागत जोडी बिक्री गर्दा विपद्मा मूल्य बढाउने गरेका छन् । कोरोना भाइरस नियन्त्रणका लागि हाल निषेधाज्ञा जारी भइरहँदा पनि चिनी उद्योगीले मूल्य बढाएर प्रतिकिलो ९० रुपैयाँभन्दा बढीमा बिक्री गरिरहेका छन् । विपद्मा चिनीको भाउ बढाउने उद्योगीको प्रवृत्तिलाई निरुत्साहित गर्न सरकारले किनेर राख्ने र विपद्मा सहुलियत मूल्यमा बिक्री गर्ने उद्देश्य राखिएको छ ।

सुझावित समाचार