सुर्खेतमा खाद्य व्यवस्थाद्वारा घरमै खाद्यान्न डेलिभरी

मंगलबार, ११ जेठ, २०७८
डिजिटल संस्करण

कोरोना महामारीका वेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतले अनलाइनबाट अर्डर गरेर खाद्य वस्तु घरमा नै पुर्याइदिने गरेको छ । कोरोना महामारी नियन्त्रण गर्न लकडाउन भएका वेला कम्पनीले अनलाइनबाट अर्डर लिएर घर–घरमा नै खाद्य वस्तु पुर्याउने व्यवस्था गरेको हो ।

कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतले नेपाल फुड अनलाइन सञ्चालन गरेर अनलाइनमार्फत अर्डर गर्ने ग्राहकलाई घर–घरमा खाद्य वस्तुु पुर्याउने व्यवस्था मिलाएको छ । महामारीको त्रासका कारण अहिले अनलाइनबाट उपभोग्य वस्तु मगाउने क्रम बढेको कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख माधव मिश्रले बताए । उनले भने, ‘आजकाल अनलाइनबाटै दैनिक २–३ क्विन्टल अर्डर आउँछ । अनलाइनमा अर्डर आएमा हामीले घर–घरमा नै खाद्य वस्तुु पुर्याउने गरेका छौँ ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो सेवा काठमाडौं, पोखरा र सुर्खेतमा सञ्चालन गरेको प्रमुख मिश्रले बताए । ‘यो सेवामा एकजना ग्राहकले कम्तीमा १ हजार ४ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मको सामान खरिद गर्न सक्छन्,’ उनले भने, ‘अहिले हामीले सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रमा मात्र लक्षित गरेका छौँ ।’

कम्पनीले २५ केजीको जिरा मसिनो चामललाई १ हजार ५ सय ५० रुपैयाँ, ३० केजीको सोना मनसुलीलाई १ हजार ४ सय ९० रुपैयाँ र २५ केजीको अरुवा मोटो चामललाई १ हजार १ सय ५० रुपैयाँमा बिक्री गर्दै आएको कार्यालयले जनाएको छ ।

सुझावित समाचार