जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको दुई करोड सहयोग

सोमबार, १० जेठ, २०७८
डिजिटल संस्करण

कोभिड– १९ प्रभावित लक्षित समूहलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर, आइसियूलगायत अन्य स्वास्थ्य सामग्री खरिदका लागि जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले पछिल्लो दुई हप्तामा दुई करोड रुपैयाँको प्रत्यक्ष अनुदान प्रदान गरेको छ । ग्रुपले धुलिखेल अस्पताललाई अक्सिजन प्लान्ट र आइसियू विस्तारका लागि एक करोड ३५ लाख रुपैयाँ र देशका विभिन्न प्रदेशका सामुदायिक समूहलाई ७५ लाख रुपैयाँ सहयोग गरेको हो । 

सामुदायिक समूहलाई गरिएको सहयोगमा नेपाल भेन्टिलेटर सर्भिसलाई हाइ–फ्लो क्यानुला भेन्टिलेटर खरिद, वीरगंगा महानगरपालिकामार्फत वीरगन्ज र पर्सामा अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि सहयोग गरेको जनाइएको छ । त्यस्तै, ललितपुर महानगरपालिका र ज्यापू समाजको सहयोगमा ललितपुरका रोटरी क्लबहरूमार्फत सञ्चालित आइसोलेसन सेन्टरका लागि उपकरण र सामग्री खरिदका लागि सहयोग गरेको ग्रुपले जनाएको छ ।

मोरङको विराटनगरमा अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनका लागि रोटरी क्लब अफ विराटनगर युनिकलाई सहयोग गरिएको छ । झापाको रोटरी क्लब अफ बिर्तामोडलाई अक्सिजन बैंक सञ्चालन गर्न सहयोग गरेको जनाइएको छ ।

त्यस्तै, कैलालीको रोटरी क्लब अफ धनगढीलाई अक्सिजन बैंक सञ्चालन गर्न तथा रुपन्देहीको लायन्स क्लब अफ बुटवलमार्फत अक्सिजन ग्यास भर्ने कार्यका लागि सहयोग गरेको ग्रुपले जनाएको छ । रोटरी क्लब अफ भैरहवामार्फत सञ्चालित आइसोलेसन सेन्टरका लागि उपकरण खरिदमा तथा भैरहवा चेम्बर अफ कमर्समार्फत रुपन्देहीमा सञ्चालित अक्सिजन ग्यास भर्ने कार्यका लागि सहयोग गरेको जनाइएको छ । देशभरि आफ्ना ग्राहक तथा स्थानीय समुदायका लागि पाँच लाख फेस मास्क वितरण गरेको ग्रुपले जनाएको छ । 


जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका ग्रुप कार्यकारी निर्देशक ससिन जोशीले अहिलेको कठिन समयमा एक सच्चा कर्पोरेट नागरिकको हैसियतले व्यापारिक घरानाहरूले कुनै पनि अपेक्षा नराखी स्वच्छ रूपले सहयोगी भाव विकास गर्नुपर्ने बताए । कर्पोरेट सेक्टर पनि यही समुदायको एक अभिन्न हिस्सा भएको र जसको अस्तित्व समुदायको हितसँग निर्भर गर्ने उनको भनाइ थियो । 
 

सुझावित समाचार