बार्सिलोना, रियलको दबदबा तोड्यो एट्लेटिकोले

सोमबार, १० जेठ, २०७८
डिजिटल संस्करण

 एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार राति सम्पन्न प्रतियोगितामा बार्सिलोना र रियल म्याड्रिडको दबदबा समाप्त गर्दै एट्लेटिकोले उपाधि उचालेको हो । दोस्रो हाफमा लुइस सुआरेजले गरेको नाटकीय गोलले एट्लेटिकोलाई विजयी बनाएको हो । 

रियल भालाडोलिडमाथि २–१ को नतिजासँगै एट्लेटिको म्याड्रिडले सात वर्षपछि स्पेनिस ला लिगाको उपाधि उचाल्यो । एट्लेटिको म्याड्रिडले साबिक विजेता रियल म्याड्रिडसँग केवल दुई अंकको दूरी राखी उपाधि जितेको हो । एट्लेटिकोले पछिल्लो १५ मध्ये १३ खेलमा स्पष्ट अंक बटुलेको थियो । 

एट्लेटिको म्याड्रिडले अन्तिमपटक सन् २०१४ मा ला लिगाको उपाधि उचालेको थियो । यस सिजन एट्लेटिकोले २५ खेलमा जित र आठ खेल बराबरीमा सकाएको छ । प्रशिक्षक डिएगो सिमोनीको प्रशिक्षणमा रहेको क्लब चार खेलमा मात्र पराजित भएको छ । सिमोनीको प्रशिक्षणमा एट्लेटिकोले दोस्रोपटक स्पेनिस ला लिगा च्याम्पियनसिप जितेको हो । चर्को आर्थिक संकटमा रहेका वेला पनि प्रशिक्षक सिमोनीले क्लबलाई सन्तुलन बनाई राखी उपाधि दिलाउन सफल भएका छन् । 

पछिल्लो समय नाम चलेका खेलाडीका रूपमा सिमोनीले बार्सिलोनाबाट सुआरेजलाई भित्र्याएका थिए । एक दशकअघि मात्र सिमोनीले एट्लेटिकोको प्रशिक्षण सम्हालेका थिए । प्रशिक्षणको जिम्मेवारी सम्हाल्नुअघि उनी यसै क्लबका खेलाडी थिए । व्यवस्थापनले सिमोनीलाई प्रशिक्षकको जिम्मेवारी दियो । यो एक दशकमा उनी क्लबकै सर्वाधिक सफल प्रशिक्षकका रूपमा गनिएका छन् । उनले एट्लेटिकोलाई आठ उपाधि दिलाइसकेका छन् । 

रोचक पक्ष के रह्यो भने सिमोनीले यो एक दशकमा एट्लेटिकोलाई स्पेनिस ला लिगाको अंक तालिकाको शीर्ष तीनभित्र राखेका छन् । यसैगरी सिमोनीको प्रशिक्षणमा दुईपटक युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पु¥याए । तर, दुवैपटक एट्लेटिको रियल म्याड्रिडसँग पराजित भयो । 

स्पेनिस ला लिगामा चार वर्षको अंक तालिका हेर्दा एट्लेटिकोले औसत ७७.८ र रियल म्याड्रिडले ७८.८ अंक बटुलेका छन् । यसले के बताउँछ भने स्पेनिस ला लिगामा बार्सिलोना र रियल म्याड्रिडलाई चुनौती दिन सक्ने क्लब एट्लेटिको म्याड्रिड मात्रै हो । योपटक एट्लेटिकोले ३८ खेलबाट सर्वाधिक ८६ अंक बटुल्यो । साबिक विजेता रियल म्याड्रिडले ८४ अंक मात्र हात पा¥यो । एट्लेटिकोले पहिलोपटक सन् १९३९–४० मा ला लिगाको उपाधि उचालेको थियो । 

सुझावित समाचार