सत्तारुढ एमालेले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
खनाल, नेपालसहित भीम रावल, मुकुन्द न्यौपाने, निरा जैरू, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खातुन, लक्ष्मीकुमार चौधरी र कल्णाणी खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी पेश गर्दा नेपाल पक्षका २६ सांसदको हस्ताक्षर पेश गरेका थिए । तर, ११ सांसदलाई मात्र स्पष्टीकरण सोधिएको छ ।
बैठकपछि ज्ञवालीले भने, ‘कम्युनिस्ट आन्दोलनलाई कमजोर गराउन, कम्युनिस्ट पार्टीको नेतृत्वलाई कमजोर बनाउन, आफ्नो नेतृत्वमा रहेको सरकार गिराउन, विपक्षी जोसँग हाम्रो लगातार प्रतिस्पर्धा छ । उसलाई सरकारमा पु¥याउन जे–जस्ता गतिविधि यसबीचमा भए त्यसका गम्भीरतापूर्वक समीक्षा गरिएको छ । र, त्यो समीक्षाको निष्कर्षको आधारमा खास गरेर आफ्नो पार्टीको अध्यक्ष, दलको नेता, र प्रधानमन्त्रीलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलहरूसँग मिलेर, हस्ताक्षर गरेर सरकार हटाउने जुनखालका गतिविधिहरू भए त्यो गतिविधिमा संलग्न नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ ।’
नेताहरूलाई स्पष्टीकरण बुझाउन सोमबार बिहानसम्मको समय दिएको ज्ञवालीले जानकारी दिए । बैठकले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि छिमेकी राष्ट्रहरूले सहयोग गरिरहेको भन्दै सहयोगको स्वागत गर्ने निर्णय पनि गरेको छ ।
सरकारलाई कोभिड–१९ विरुद्धको भ्याक्सिनमा केन्द्रित हुन पनि बैठकले ध्यानाकर्षण गराएको उनले बताए । पार्टीले पनि कोभिड–१९ नियन्त्रणमा सम्पूर्ण रूपले ध्यान दिने पनि उनले बताए ।