नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार मध्यराति भएको घटनाले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य, मान्यताको अवमूल्यन, विधि र पद्धतिको बेवास्ता र संसदीय पद्धतिको खिल्ली उडाउने काम गरेको आरोप लगाए ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘राष्ट्रपतिले गरेको आह्वानका आधारमा प्रतिनिधिसभामा तत्काल कायम रहेका सदस्य संख्याको स्पष्ट बहुमतसहित १४९ जना माननीय सांसदहरूको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गरे । नेपालको संविधानबमोजिम राष्ट्रपतिले मलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा त्यसलाई इन्कार गर्नुभयो । बरु एकपटक प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल भई संसद्मा स्पष्ट अल्पमतमा परिसकेका र अर्कोपटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरिसकेका माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम गरिन् ।’
नेपालको संविधानको अक्षर र भावनाअनुसार ओलीले प्रधानमन्त्रीका लागि दाबी गर्न नसक्ने हुँदा पनि त्यस्तो गैरसंवैधानिक दाबीलाई स्वीकार गरी पुनः उनलाई नै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक मात्र नभई अनैतिक भएको दाबी गरे ।
राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको आस्थाको केन्द्र संविधानजस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रूपमा आफूअनुकूल प्रयोग गरिरहेको भन्दै उनले प्रधानमन्त्रीले हठात् अर्को सरकार गठनको सिफारिस गर्ने, राष्ट्रपतिले २४ घन्टाकाे पनि समय नदिई प्रधानमन्त्री नियुक्तिको आह्वान गर्ने, संविधानबमोजिम नियुक्त गर्नुपर्ने म प्रतिनिधिसभाका सदस्यलाई नियुक्त गर्नुपर्ने र दाबी नै गर्न नमिल्ने ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने कार्य घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य भएको बताए ।
राष्ट्रपति र प्रधानमन्त्रीको बदनियतपूर्ण ढंगले मिलोमतोमा षड्यन्त्रपूर्वक भएका छन् भन्ने तथ्य प्रधानमन्त्री नियुक्त भएको एक घन्टामा सबै नेपाली जनता सुतेका वेला मध्यराति प्रतिनिधिसभाको हत्या गरेको बताए । राष्ट्रपति र प्रधानमन्त्रीले षड्यन्त्र गरेर पदको चरम दुरुपयोग गरी नेपालको संविधान समाप्त गर्न लागिपरेको उनको ठहर छ ।
राष्ट्रपति र प्रधानमन्त्रीको यी भर्त्सना गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट भई कार्य गर्न आह्वान गरे । संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक, अलोकतान्त्रिक कार्यका विरुद्ध राजनीतिक र न्यायिक लडाइँ लड्ने प्रतिबद्धता व्यक्त गरे ।