स्वास्थ्य समस्यामा पर्नुभो ? ११५६ मा चिकित्सकलाई सम्पर्क गर्नुहोस्

शुक्रबार, ७ जेठ, २०७८
डिजिटल संस्करण

कोरोना संक्रमणका कारण अस्पताल जान नसकेका नागरिकहरूका लागि नेपाल चिकित्सक संघले निःशुल्क कल सेन्टर सञ्चालनमा ल्याएको छ । कोरोना महामारीका कारण स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका नागरिकको सहजताका लागि चिकित्सक संघले कल सेन्टर सञ्चालनमा ल्याएको हो । 

कुनै पनि व्यक्तिले स्वास्थ्यबारे जानकारी लिन ११५६ मा निःशुल्क फोन गर्न सक्नेछन् । प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म स्वास्थ्य परामर्श सेवा सञ्चालन गरिने संघका अध्यक्ष डा. लोचन कार्कीले बताए । अध्यक्ष कार्कीका अनुसार केही दिनपछि २४ सै घन्टा कल सेन्टर सञ्चालन गरिनेछ । 

हाल देशभर ओपिडी सेवा ठप्प छ । जटिलबाहेक अन्य सबै प्रकारका शल्यक्रिया सेवासमेत बन्द गरिएको छ । नागरिकको स्वास्थ्यलाई मध्यनजर गरेर निःशुल्क कल सेन्टर स्थापना गर्न मुख्यगरी अमेरिका नेपाल मेडिकल फाउन्डेसनले सहयोग गरेको छ । अमेरिका नेपाल मेडिकल फाउन्डेसनले २० लाख रुपैयाँ सहयोग गरेको छ । 

कल सेन्टर सञ्चालनका लागि अमेरिका–नेपाल मेडिकल फाउन्डेसन र ॐ आदी फाउन्डेसनको संयुक्त आयोजनामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, नेपाल टेलिकम, नर्डिक नेपाल मेडिकल सोसाइटीको सहकार्य एवं कलश सर्भिस प्रालीको प्राविधिक सहयोग रहेको छ । 

कोभिड संक्रमण भई होम आइसोलेसनमा बसेका र उनीहरूको सम्पर्कमा आई क्वारेन्टिनमा बसेका चिकित्सक, स्वास्थ्यकर्मी एवं सम्पूर्ण नागरिकलाई आवश्यक स्वास्थ्य सल्लाह र उपचार प्रक्रियामा सहजीकरण गर्ने प्रयोजनका लागि टेलिफोनिक स्वास्थ्य परामर्श सेवा उपलब्ध गराइएको संघका महासचिव डा. बद्री रिजालले बताए ।

सुझावित समाचार