कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६ (५)अनुसार प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र नेकपा एमालेको माधव नेपाल समूहको संयुक्त विपक्षी गठबन्धनका तर्फबाट देउवाले एक सय ४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपतिको कार्यालयमा पुगेर दाबी पेस गरेका हुन् ।
प्रधानमन्त्रीमा देउवाको दाबी पेस गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित कांग्रेस, माओवादी र जसपाका शीर्ष नेताहरू शीतलनिवास पुगेका थिए । देउवालाई प्रधानमन्त्री बनाउन प्रतिनिधिसभाका एक सय ४९ जना सांसदले हस्ताक्षर संकलन गरेका छन् । जसमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका १२ र माधव नेपाल समूहका २७ जना सांसदले हस्ताक्षर गरेका छन् ।
दाबी पेस गरेपछि राष्ट्रपति भण्डारीसँग भेटवार्तासमेत गरेर नेताहरू फर्किएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।