व्यापारीले मगाएका १० हजार सिलिन्डर तातोपानी आइपुगे

अनुदानका ३५ सय सिलिन्डर लिन जहाज गयो

सोमबार, ३ जेठ, २०७८
डिजिटल संस्करण

नेपाली व्यापारीले चीनबाट खरिद गरेर ल्याएको १० हजार थान अक्सिजन सिलिन्डर स्वशासित तिब्बतको खासा बजार आइपुगेको छ । सामान ढुवानी गरिरहेको सिल्क ट्रान्सपोर्ट कम्पनीले दिएको जानकारीअनुसार १० हजार थान सिलिन्डरसहित ८० गाडी स्वास्थ्य सामग्री खासा आइपुगेको हो । 

मेडिकल मास्क, स्यानिटाइजर, ग्लोभ्स, पिपिई सेट र कोभिड– १९ नियन्त्रणका लागि आवश्यक सर्जिकल सामग्री चीनबाट खरिद गरेर ल्याइएको सिल्क ग्रुपका अध्यक्षसमेत रहेका व्यापारी रमेश शेर्पाले बताए । खासा पार्किङमा आइपुगेका अन्य सामग्रीका कन्टेनरलाई केही दिन रोकेर स्वास्थ्य सामग्री पास गराउन प्राथमिकता दिइएकाले एक हप्ताभित्र आवश्यक अक्सिजन सिलिन्डर काठमाडौं भित्रिने उनले जानकारी दिए । लार्चाका लागि २५ सय सिलिन्डर लोड भइसकेको खासास्थित मुसा ट्रान्सपोर्टले जनाएको छ ।

दैनिक तीन हजारका दरले सिलिन्डर नेपालतर्फ पास हुनेछ । कोरोनाको दोस्रो भेरियन्ट तीव्र गतिमा फैलिरहेको र अस्पतालका बेडमा सिलिन्डर अभाव भएकाले जतिसक्दो छिटो गन्तव्यमा पुर्याउन हाइएलर्टमा रहेको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारदमणि काफ्लेले बताए । ‘हामी केही दिनदेखि तम्तयार भएर बसेका छौँ । जतिवेला खासाबाट भन्सार यार्डमा सामान झर्छ तुरुन्तै गन्तव्यमा पठाइनेछ,’ उनले भने । खासा प्रशासनले नेपालतर्फ सिलिन्डर ढुवानी गर्न निर्देशन दिइसकेकाले सोमबारसम्म लार्चा भन्सारमा सामग्री आइपुग्ने उनले सुनाए । सामग्री जेकजाँच र लोड–अनलोडका लागि स्वास्थ्य प्राटोकल पूरा गरी भन्सार कर्मचारी, व्यवसायी र मजदुर लार्चादेखि मितेरीपुलसम्म ड्युटीमा खटिसकेका छन् । 

थप १५ हजार थान अक्सिजन सिलिन्डर र अन्य स्वास्थ्य सामग्री ल्हासा, सिगात्से, मेम्बु र न्यालमको पार्किङ क्षेत्रमा आइपुगेको शेर्पाले बताए । न्यालमको जाङमुपोर्टमा आएका ८० गाडीलाई नेपालतर्फ पठाउन प्रक्रिया सुरु भएको छ । कोभिडका कारण स्वास्थ्य सुरक्षाको आवश्यक मापदण्ड पूरा गरेर सामग्री नेपाल पठाइनेछ । खासादेखि ल्हासासम्म पार्किङ र सडकमा रहेका स्वास्थ्य सामग्री तातोपानीतर्फ पास गरिसक्न कम्तीमा दुई हप्ता लाग्ने खासा प्रशासनको भनाइ उद्धृत गर्दै सिल्क ग्रुपका अध्यक्ष शेर्पाले जनाए । 

बाटोमा रहेका थप सिलिन्डरमध्ये करिब १० हजार थान शिवप्रसाद घिमिरे, दीपक माल्होत्रालगायत व्यवसायीले आयात गरेका हुन् । एभरेस्ट ग्यासका सञ्चालक घिमिरेले चीनबाट साढे ६ हजार थान अक्सिजन सिलिन्डर मगाएका हुन् । उनले १० लिटर क्षमताका २२ सय थान र ४० लिटर क्षमताका चार हजार तीन सय थान अक्सिजन सिलिन्डर मगाएका छन् ।

चीनबाट सिपिङ भइसकेका ती सिलिन्डर तातोपानी नाकामा आइपुग्ने चरणमा रहेको घिमिरेले बताए । ‘मैले यो महामारीबाट हुने क्षतिलाई कम गराउन योगदान दिने उद्देश्यले व्यावसायिक प्रयोजनका लागि अक्सिजन सिलिन्डर, अक्सिजन ब्याग, अक्सिजन कन्सन्ट्रेटरलगायत सामग्री मगाएको छु,’ उनले भने, ‘करिब १० करोड लागतका यी सामग्री चीनबाट हिँडिसकेका छन्, अहिले बाटोमा होलान्, आज–भोलि या कही दिनमै नाकामा आइपुग्नेछ ।’ चीनबाट ल्याइएका यी सामग्री परल मूल्यमा बिक्री गरिने उनले बताए । खासगरी दुर्गम क्षेत्र र अक्सिजन सिलिन्डरको चरम अभाव भएका क्षेत्रमा ती सिलिन्डर उपलब्ध गराइने उनले बताए । 

त्यस्तै, व्यवसायी दीपक मल्होत्राले दुई हजार आठ सय थान अक्सिजन सिलिन्डर मगाएको बताए । १० लिटरदेखि ४० लिटर क्षमताका यी सिलिन्डर सिपिङ भइसकेको र केही दिनमै नेपाल आइपुग्ने उनले बताए । ‘हामीले यो महामारीसँग जुध्न सहज होस् भनेर सिलिन्डर मगाएका हौँ,’ उनले भने, ‘हामीले ल्याएको सिलिन्डर केही मात्रामा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगस्वरूप वितरण गर्नेछौँ भने बाँकी सिलिन्डर परल मूल्यमा बिक्री गर्नेछौँ ।’ आफूले यसअघि पनि मास्क उत्पादन गरेर सस्तो मूल्यमा बिक्री गरेको भन्दै उनले अक्सिजन सिलिन्डर पनि तुलनात्मक रूपमा कम मूल्यमा बिक्री गर्ने बताए । 

घिमिरे र मल्होत्राबाहेक अन्य व्यवसायीले मगाएको सिलिन्डरमध्ये केही नाकामा आइपुगेको र केही बाटोमा आउँदै गरेको हो । ‘अरू व्यवसायीले पनि स–सानो परिमाणमा अक्सिजन सिलिन्डरलगायत मेडिकल सामग्री मगाएका छन्, ती सामग्री कतिपय नाकामा आइसकेको हुनुपर्छ कतिपय बाटोमै होलान्,’ मल्होत्राले भने, ‘तर, कसले–कसले कति–कति परिमाणमा ल्याएका हुन् भन्ने यकिन जानकारी छैन ।’ 

तातोपानीमा आएका सिलिन्डर सरकारी होइनन्
आइतबार दिनभर सरकारले चीनबाट अनुदानमा प्राप्त गरेकोमध्ये १८ हजार थान सिलिन्डर तातोपानी नाकामा आइपुगेको हल्ला फैलियो । जब कि सरकारले अनुदानमा चीनबाट ल्याउन लागेको सिलिन्डरको संख्या मात्रै होइन, तातोपानीमा आइपुगेको भन्ने खबर दुवै गलत थियो । सरकारलाई चीनले ३५ सय थान सिलिन्डर दिने र त्यसमध्ये दुई हजार थान आइरहेको अर्थ मन्त्रालयका चीन डेस्क हेर्ने उपसचिव डिबी क्षत्रीले जानकारी दिए । ती सिलिन्डर नेपाल वायुसेवा निगमको चारवटा उडानबाट नेपाल आइरहेका छन् । ‘बाँकी १५ सय थान सिलिन्डर चीनले रसुवागढी भन्सारमा ल्याइदिनेछ,’ उनले भने, ‘तर, त्यो अहिलेसम्म सिपिङ भएको जानकारी आएको छैन ।’ 

अहिले निजी क्षेत्रबाट मगाइएका अक्सिजन सिलिन्डरलगायत मेडिकल सामग्री तातोपानी नाकामा आइपुगेको उपसचिव क्षत्रीले बताए । ‘तातोपानीमा आइपुगेका अक्सिजन सिलिन्डरलगायत मेडिकल सामग्री सरकारी अनुदानको नभई निजी क्षेत्रले मगाएका हुन्, जसको परिमाणबारे यकिन भइसकेको छैन,’ उनले भने ।

सुझावित समाचार