म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा निर्माण भएको मिस्ट्री खोला जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । ४२ मेगावाट क्षमताको मिस्ट्री खोला जलविद्युत् आयोजना माउन्टेन इनर्जी नेपालले निर्माण गरेकोे हो ।
कालीगण्डकी करिडोर प्रसारण आयोजनाअन्तर्गत दानामा निर्माण भएको सबस्टेसनमार्फत आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारणमा जोडिएको आयोजनाका आवासीय इन्जिनियर दिवाकर खड्काले जानकारी दिए । उनका अनुसार आयोजनाको तीनवटै युनिटबाट उत्पादित विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको छ ।
नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले परीक्षण उत्पादन सफल भएपछि सबस्टेसनमा जोडेका थिए । विद्युत्गृह रहेको नारच्याङको बेँसीगाउँदेखि दानाको २ सय २० केभी क्षमताको सबस्टेसन जोड्ने १ सय ३२ केभी क्षमताको ४ किलोमिटर प्रसारण लाइनको केही दिनअघि परीक्षण सफल भएको थियो ।
परीक्षण उत्पादनको १५ दिनसम्म प्राधिकरणलाई निःशुल्क विद्युत् दिएपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिनेछ । ०७३ जेठ ३१ गतेदेखि निर्माण सुरु भएको आयोजनाले नीलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ । २ हजार २७०.५ मिटर लामो सुरुङबाट ल्याएको पानी २ सय ५० मिटर उचाइबाट खसालेर विद्युत् उत्पादन गर्न १ हजार ५ सय मिटर पेनस्टक पाइप जडान गरिएको छ ।
५ अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको प्रतिमेगावाट लागत १३ करोड ४३ लाख रुपैयाँ रहेको छ । यो स्वदेशी लगानीमा निजी क्षेत्रले सम्पन्न गरेको अहिलेसम्मको ठूलो जलविद्युत् आयोजना पनि हो । आयोजनामा प्रवद्र्धकबाहेक नेपाल इन्भेष्टमेन्ट बंैकले ७० करोड रुपैयाँ, जलविद्युत् विकास कम्पनीले १ अर्ब रुपैयाँ र नेपाल बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।
यसैगरी, नबिल बैंकले १ अर्ब रुपैयाँ, लक्ष्मी बैंकले ४० करोड रुपैयाँ, सिद्धार्थ बैंकले ३० करोड रुपैयाँ र एस डेभलपमेन्ट बैंकको ३० करोड रुपैयाँ ऋण लगानी रहेको छ । आयोजना निर्माणस्थल नारच्याङका बासिन्दालाई ७ लाख ३ हजार ५ सय १२ र प्रभावित क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अन्य ७ वटा वडाका बासिन्दालाई १० लाख कित्ता सेयर बाँडफाँड गरिएको छ ।
साधारण सेयर पनि बाँडफाँड भइसकेको छ । मिस्ट्री खोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेकामध्ये सबैभन्दा ठूलो आयोजना हो । ५ मेगावाटको घलेम्दी खोलाले ०७६ माघ महिनादेखि उत्पादन सुरु गरेको छ ।