आज एनएसएल फाइनल : दुई उत्कृष्ट टोलीबीच भिडन्त

शनिबार, १ जेठ, २०७८
डिजिटल संस्करण

काठमाडौंविरुद्ध लिग चरण र क्वालिफायर खेलमा भएका दुवै खेलमा जित हात पारेको धनगढी फाइनल खेलमा पनि जितको त्यही लयलाई कायम राख्ने योजनामा छ । काठमाडौं भने तेस्रो भेटमा अघिल्ला दुई पराजयको बदला लिने योजनामा छ ।

फाइनल खेल
धनगढी एफसीविरुद्ध काठमाडौं रेजर्स
स्थान : दशरथ रंगशाला (५:३० बजे)

धनगढी एफसी र काठमाडौं रेजर्सबीचको तेस्रो भेट । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मोफसल र उपत्यकाका यी दुई टोलीबीचको प्रतिस्पर्धाबाट नेपालमा पहिलोपटक आयोजित फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को पहिलो विजेताको टुंगो लाग्नेछ । कोरोना भाइरस (कोभिड–१९)को बढ्दो संक्रमणबीच दर्शकविना खाली रंगशालामा सञ्चालन गरिएको फरक संरचनाको यो प्रतियोगिता नेपाली फुटबलमा फरक मानक तय गर्दै अन्त्य हुँदै छ । त्यसअघि नेपाली फुटबल दर्शकले टेलिभिजनमै भए पनि एनएसएलको फाइनल खेलको मज्जा लिन पाउनेछन् । 

सिंगल राउन्ड रोविन र प्लेअफको फम्र्याटमा सञ्चालन गरिएको एनएसएलको फाइनलमा पुगेका यी दुई टोली प्रतियोगिताकै उत्कृष्ट टोली हुन् । विभिन्न व्यापारिक घरानाको स्वामित्वमा रहेका सात टोलीले प्रतिस्पर्धा गरेको प्रतियोगिताको लिग चरणको खेलमा काठमाडौंले शीर्ष स्थान र धनगढीले दोस्रो स्थानमा रहेर प्लेअफको यात्रा सुरु गरेका हुन् ।

पहिलो क्वालिफायर खेलमा काठमाडौंलाई पराजित गर्दै धनगढीले सहजै फाइनलमा स्थान सुरक्षित गर्‍यो । काठमाडौंलाई भने फाइनलमा पुग्न दोस्रो क्वालिफायरमा पनि प्रतिस्पर्धा गर्नुपर्‍यो । यद्यपि, दोस्रो क्वालिफायर खेलमा छिमेकी टोली ललितपुर सिटी एफसीलाई ३–० गोलअन्तरले पराजित गर्दै काठमाडौंले फाइनलमा धनगढीसँगको भेट निश्चित गरेको हो । 

समग्रमा एनएसएलमा धनगढी र काठमाडौंबीच यो तेस्रोपटक प्रतिस्पर्धा हुन लागेको हो । लिग चरण र क्वालिफायर खेलमा यसअघि भएका दुईमध्ये दुवै खेलमा जित हात पारेको धनगढी फाइनल खेलमा पनि जितको त्यही लयलाई कायम राख्ने योजनामा छ । ‘अघिल्लो दुई खेलको जितको नतिजाले पक्कै पनि हाम्रो खेलाडीलाई प्रोत्साहित गरेको छ,’ धनगढीका नाइजेरियन प्रशिक्षक फुजा टोपे भन्छन्, ‘हामी फाइनल खेलमा पनि जितको त्यही लय कायम राख्दै उपाधि जित्ने योजनामा छौँ ।’ काठमाडौं भने तेस्रो भेटमा अघिल्ला दुई पराजयको बदला लिने योजनामा छ । 

काठमाडौंका मुख्य प्रशिक्षक बालगोपाल महर्जन भन्छन्, ‘एकै प्रतियोगितामा धनगढीसँग तेस्रोपटक भिड्दै छौँ । अघिल्लो खेलमा गरेको कमजोरीलाई सुधार गर्ने अवसर हो । त्यो अवसरको सदुपयोग गर्न चाहन्छौँ ।’ धनगढीले लिग चरणको खेलमा काठमाडौंलाई ३–० ले पराजित गरेको थियो । क्वालिफायरमा काठमाडौंले अन्तर घटायो तर धनगढीलाई रोक्न सकेन । २–१ गोलअन्तरको जितसँगै धनगढीले आफ्नो यात्रा अघि बढायो । फाइनलमा यी दुई टोलीलाई आफ्नो प्रभुत्व कायम गर्ने मात्रै होइन, उपाधि नै जित्ने अवसर पनि दुवै टोलीसँग हुनेछ । 

यद्यपि, त्यसका लागि दुवै टोली आफ्नो विदेशी खेलाडीमा निर्भर छ । काठमाडौंले आफ्ना दुई अफ्रिकी खेलाडी मेसोके ओलोउमोउ र स्टेफन बिनोङबाट बढी आशा गरेको छ । अग्रपंक्तिमा यी दुई खेलाडी चलेको समय काठमाडौंले सहज जित हात पार्दै आइरहेको छ । यस्तै, धनगढी पनि आफ्नो अफ्रिकी खेलाडी ओलाडिपो ओलावाले अफिजमाथि बढी नै निर्भर देखिएको छ । पछिल्लो खेलमा उनलाई चोटले सताएको छ । यद्यपि, प्रशिक्षक फुजाका अनुसार उनी फाइनल खेलमा मैदानमा उत्रनेछन् । अग्रपंक्तिमा उनी रहेसम्म धनगढीले उपाधिमाथि बलियो दाबेदारी प्रस्तुत गर्नेछ । 

प्लेयर्स टु वाच

मेसोके ओलोउमोउ मिडफिल्डर (काठमाडौं रेजर्स)

काठमाडौंका यी क्यामरुनी मिडफिल्डर फाइनल खेलअघिसम्म प्रतियोगिताकै सर्वाधिक गोलकर्ता हुन् । उनले प्रतियोगितामा अहिलेसम्म सात गोल गरिसकेका छन् । लिग चरणअन्तर्गत विराटनगरसँग दुई गोलले पछि परेर पनि काठमाडौंले ५–४ गोलअन्तरको जित हात पार्दा मेसोकेले ह्याट्रिक गरेका थिए । काठमाडौंको महत्वपूर्ण जितमा उनकै योगदान रहँदै आइरहेको छ । जिरो एंगलबाट आकर्षक गोल गर्न सक्ने क्षमताका मेसोकेको प्रदर्शन फाइनल खेलमा हेर्नलायकको हुनेछ । 

ओलाडिपो ओलावाले अफिज स्ट्राइकर (धनगढी एफसी)

नेपाली फुटबलमा राम्रोसँग भिजेका विदेशी खेलाडीमध्येका हुन्, ओलाडिपो ओलावाले अफिज । यी नाइजेरियन स्ट्राइकरले काठमाडौंका मेसोकेपछि प्रतियोगिताको सर्वाधिक गोलकर्तामध्येका हुन् । विराटनगर सिटी एफसी (प्रतियोगिताबाट बाहिरिसकेको टोली) पेद्रो जेभियर मान्जी क्रुजसँग चार गोल गरेका छन् । विपक्षीको रक्षापंक्तिलाई एक्लैले तोड्न सक्ने क्षमताका अफिजको प्रदर्शन धनगढीको उपाधि यात्रामा मात्रै महत्वपूर्ण हुनेछैन, दर्शकले पनि उनको प्रदर्शनमा मज्जा लिने निश्चित छ । 

फाइनलअघि के भन्छन् प्रशिक्षक र कप्तान ?

फुजा टोपे प्रशिक्षक (धनगढी एफसी)

हामी फाइनल खेल्दै छौँ । हाम्रो लागि यो खुसीको कुरा हो । हामीले फाइनलको प्रतिद्वन्द्वी काठमाडौंलाई प्रतियोगितामा यसअघि दुईपटक पराजित गरिसकेका छौँ । यसले हाम्रा खेलाडीलाई प्रोत्साहन गर्छ नै । फाइनल खेलका लागि खेलाडी सबै फिट छन् । हामी फाइनलमा अघिल्लो खेलको जस्तै प्रदर्शन दोहो¥याउँदै उपाधि जित्ने योजनामा छौँ ।

किरणकुमार लिम्बू, कप्तान (धनगढी एफसी)

हाम्रो लागि प्रतियोगिताको पहिलो खेल मुस्किल रह्यो । तर, त्यसपछि निरन्तर राम्रो प्रदर्शन गर्दै हामी फाइनलसम्म आइपुगेका छौँ । काठमाडौं पनि राम्रो टोली हो । त्यसैले फाइनल खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरेको छु । यद्यपि, हामी फाइनल खेलमा पनि राम्रो नतिजा निकाल्ने प्रयासमा छौँ । त्यसका लागि खेलाडी तयार छन् । 

बालगोपाल महर्जन, प्रशिक्षक (काठमाडौं रेजर्स)

नेपालमा पहिलोपटक आयोजना भएको एनएसएलको ट्रफी काठमाडौंमै राख्ने योजनामा छौँ । हामी त्यही योजना पूरा गर्न मैदानमा उत्रनेछौँ । प्रतियोगितामा धनगढीसँग तेस्रो भेट हुनेछ । यो हाम्रा लागि अवसर पनि हो । अघिल्लो दुई खेलमा व्यहोरेको पराजय बिर्साउने मात्रै होइन, उपाधि नै जित्ने अवसर मिलेको छ । त्यो अवसर सदुपयोग गर्नेछौँ ।

विकेश कुथु, कप्तान (काठमाडौं रेजर्स)

पराजयको बाबजुद धनगढीसँगको अघिल्लो दुई खेलमा हामीले धेरै सिकेका छौँ । हामी फाइनल खेलमा धनगढीविरुद्ध त्यो अनुभवलाई सदुपयोग गर्नेछौँ । अघिल्ला खेलमा भएका गल्तीलाई सुधार गर्नेछौँ । हाम्रो लक्ष्य जित नै हुनेछ । हामी उपाधिकै लागि मैदानमा उत्रनेछौँ । त्यसका लागि सबै खेलाडी तयार छौँ ।

धनगढीको फाइनल यात्रा
- विराटनगर सिटी एफसीसँग ३–० ले पराजित 
- काठमाडौं रेजर्ससँग ०–३ ले विजयी 
- ललितपुर सिटी एफसीसँग १–१ को बराबरी 
- एफसी चितवनसँग०–३ ले विजयी 
- पोखरा थन्डर्ससँग ०–१ ले विजयी
- बुटवल लुम्बिनी एफसीसँग १–० ले पराजित
- काठमाडौं रेजर्ससँग १–२ ले विजयी

काठमाडौंको फाइनल यात्रा
- ललितपुर सिटी एफसीसँग ०–१ ले विजयी 
- धनगढी एफसीसँग ३–० ले पराजित 
- पोखरा थन्डर्ससँग ०–० को बराबरी
- बुटवल लुम्बिनीसँग ०–१ ले विजयी
- विराटनगर सिटी एफसीसँग ४–५ ले विजयी
- एफसी चितवनसँग १–२ ले विजयी
- धनगढी एफसीसँग २–१ ले पराजित
- ललितपुर सिटी एफसीसँग ०–३ ले विजयी

See More On

सुझावित समाचार