प्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

शुक्रबार, ३१ बैशाख, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् । संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्री ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।  शीतलनिवासमा शुक्रबार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएकी हुन् । 

संविधानको धारा ७६ को उपधारा २ बमोजिम संयुक्त सरकार गठनका लागि दलहरूलाई उपलब्ध गराएको समयमा कुनै पनि दलको दाबी नपरेपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम संसदमा रहेका राजनीतिक दलहरूमध्येबाट सबैभन्दा ठूलो दलको नेताको रूपमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

यसअघि गत २७ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा पेस गरेको विश्वासकाे मत फेल भएपछि सोही दिन राष्ट्रपतिले वैशाख ३० गते राति ९ बजेभित्र संविधानको धारा ७६ को उपधारा २ बमोजिम संयुक्त सरकार गठनका लागि आह्वान गरेकी थिइन् । सो अवधिमा दलहरूको दाबी नपरेपछि राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । अब ओलीले ३० दिनभित्रमा संसदबाट विश्वासको मत लिनुपर्नेछ ।

यसैबीच प्रधानमन्त्री ओलीले पुरानै मन्त्रिमण्डलाई निरन्तरता दिएका छन् । आजै उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सुझावित समाचार