अक्सिजन अभाव : कोभिड बिरामीका आफन्तद्वारा मेडिकल कलेजसामु आत्मसमर्पण

बुधबार, २९ बैशाख, २०७८
डिजिटल संस्करण

रुपन्देहीस्थित युनिभर्सल मेडिकल कलेजमा उपचाररत कोभिड बिरामीका आफन्तले अक्सिजनको अभावले बिरामीको ज्यान तलमाथि भए पनि स्वीकार गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । अक्सिजन सकिएको र आपूर्ति गर्न नसकिएको भन्दै अस्पतालले बिरामीलाई अन्य अस्पतालमा लान आग्रह गरेपछि बिरामीका आफन्तले हारगुहार गर्दा पनि अक्सिजन नपाएको र अन्य अस्पतालमा पनि अवस्था उस्तै रहेको भन्दै अक्सिजनकै कारण बिरामीको ज्यान तलमाथि भए अस्पताल, डाक्टर, नर्स वा अन्य कुनै कर्मचारीलाई दोष दिनेछैन भन्दै सहीछाप गरेका छन् । मेडिकल कलेजमा एक सय ९० बिरामी उपचाररत छन् । 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले दैनिक चार सय २० सिलिन्डर अक्सिजन दिने कोटा निर्धारण गरेको थियो । तर, बुधबार चार बजेसम्म जम्मा ३० वटा मात्र सिलिन्डर दिएको छ ।

मंगलबार चितवनबाट एक सय ५० र पोखराबाट एक सय सिलिन्डर ल्याएर काम चलाएको मेडिकल कलेजले जनाएको छ । बुधबार पनि चितवन पठाइए पनि अक्सिजन ल्याउन नसकिएको मेडिकल कलेजले जनाएको छ । 

रुपन्देहीमा तीनवटा अक्सिजन उद्योग छन् । ती उद्योगले दैनिक ११ सय सिलिन्डर उत्पादन गर्छन् । तर, दैनिक माग २१ सय ५० रहेको जिल्ला जनस्वास्थ्य प्रमुख राजेन्द्र गिरीले बताए । 

रुपन्देहीमा करिब एक दर्जन अस्पताल छन् । तीमध्ये सरकारी दुईवटा र निजी तीनवटा गरी पाँचवटा कोभिड अस्पताल छन् ।

यो पनि पढ्नुहोस्

अक्सिजन सकिएपछि अस्पतालका  कर्मचारी मध्यरातसम्म सिडिओ कार्यालयमा

सुझावित समाचार