गण्डकीमा नयाँ सरकार गठनको समयसीमा ४ बजेसम्म, जनमोर्चाका कारण आवश्यक संसद्को हस्ताक्षर पुगेन

निर्णय नमान्ने सांसदलाई १ घण्टाको समय दिएर सोधियो स्पष्टीकरण

बुधबार, २९ बैशाख, २०७८
डिजिटल संस्करण

आफूविरुद्धको अविश्वासको  प्रस्ताव पारित हुने निश्चित भएपछि गण्डकीका मुख्यमन्त्रीले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समयसीमा आज ४ बजे सकिँदै छ । सरकार गठनका लागि दिएको समयसीमा सकिन केही घन्टा मात्र रहँदा दलहरुले नयाँ सरकार गठनका लागि आवश्यक ३१ जना सांसदको हस्ताक्षर पुरयाउन सकेका छैन्न ।    

नयाँ सरकार गठनका लागि निर्णायक मानिएको जनमोर्चाका तीनमध्ये एक सांसदले हस्ताक्षर नगर्दा नयाँ सरकार गठनका लागि आवश्यक सांसदको हस्ताक्षर नपुगेको हो । जसका कारण नयाँ सरकार गठनको काम अन्योलमा परेको छ । जनमोर्चाका तीन सांसदमध्ये दलका नेतासमेत रहेका कृष्ण थापाले कांग्रेस नेतृत्वमा गठन हुने सरकारलाई आफूले कुनै हातमा समर्थन नगर्ने अडान लिएपछि नयाँ सरकार गठनमा समस्या परेको हो । हस्ताक्षर नगरेको विषयलाई लिएर पार्टीले गरेको कारबाही सहन आफू तयार रहेको, तर कांग्रेस नेतृत्वको सरकारलाई कुनै हालतमा समर्थन नगर्ने भनाइ थापाको छ । 

६० सदस्य प्रदेश सभामा पाँच दलको प्रतिनिधित्व रहेको छ । पाँच दलमध्ये तीन सिट रहेको जनमोर्चा सरकार गठनका लागि निर्णायक अवस्थामा छ । उसले जसलाई सहयोग गर्छ उसैको सरकार बन्ने अवस्था गण्डकी छ । सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ । प्रदेश सभामा एमालेका २७, नेपाली काग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चाका तीन, जसपाका दुई र एक स्वतन्त्र सांसद छन् । 

हाल एमाले र एक स्वतन्त्र गरी २८ जना एकातिर र कांग्रेस, माओवादी र जसपाका गरी २८ जना सांसद अर्कोतिर रहेका छन् । दुवैतर्फ २८–२८ जना भएपछि सरकार गठनका लागि आवश्यक संख्या पुर्याउन दुवै पक्षलाई तीन सांसदको आवश्यकता रहेको छ ।

यसअघि जनमोर्चाले समर्थन गर्ने निर्णय गरेपछि कांग्रेस, माओवादी र जसपाका २८ सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै कांग्रेस दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको भावी मुख्यमन्त्रीमा प्रस्ताव गरेका थिए ।

थापालाई एक घन्टाको समय दिएर सोधियो स्पष्टीकरण  
पार्टीको केन्द्रले समेत कांग्रेस नेतृत्वमा गठन हुने नयाँ सरकारका पक्षमा हस्ताक्षर गर्न आफ्ना सांसदहरुलाई निर्देशन र ह्विप जारी गर्दासमेत थापाले अटेर गरेका थिए । पार्टीको निर्णय अटेर गरेका थापालाई एक घन्टाको समय दिएर पार्टीले स्पष्टीकरण सोधेको छ । थापाले चुत्तबुझ्दो जवाफ नदिए आजै कारबाही गर्ने र कांग्रेस नेतृत्वमा बन्न लागेको सरकारलाई बाटो खुल्ला गरिदिने तयारी जनमोर्चाको छ । पार्टीको निर्णय पालना गर्न प्रदेश अध्यक्ष शंकर बरालले मंगलबार थापासँग एक घन्टा कुरा गरे पनि थापा नमानेपछि उनलाई बुधबार पार्टी केन्द्रले स्पष्टीकरण सोधेको हो ।

थापालाई कारबाही भए यस्तो हुनेछ समीकरण                                

६० सदस्य प्रदेश सभामा जनमोर्चाले आफ्ना सांसदलाई कारबाही गरी सांसदबाट हटाए सांसद संख्या ५९ हुनेछ । सरकार गठनका लागि ३० सांसदको हस्ताक्षर आवश्यक पर्छ । जुन हस्ताक्षर कांग्रेस नेतृत्वको गठबन्धनले संकलन गरिसकेकाले कांग्रेस नेतृत्वमा सरकार गठन गर्न बाटो खुल्ला हुनेछ ।

ठूलो दलको सरकार बन्ने सम्भावना पनि                                                   
प्रदेश प्रमुखले दिएको समय सकिन दलहरूलाई अब केही घन्टा मात्र समय छ । बाँकी रहेको समयमा आवश्यक संख्यासहित दाबी पेस गर्न कोही नगए प्रदेश सभामा रहेको ठूलो दलको सरकार बन्ने कानुनी व्यवस्था छ । नयाँ घटकले ३१ जना सांसदको हस्ताक्षर पुर्यायाउन नसके ठूलो दलको हैसियतमा संविधानको धारा १६८ को उपधारा ३ अनुसार एमालेले सरकार बनाउन पाउनेछ । 

See More On

सुझावित समाचार