कोरोना संक्रमणबाट नेपाली कांग्रेस ओखलढुंगाका पूर्वजिल्ला सभापति पृथ्वीबहादुर कार्कीको निधन भएको छ । कोभिड– १९ बाट संक्रमण भई काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत कार्कीको सोमबार ७८ वर्षको उमेरमा निधन भएको हो ।
एक दशकअघि जिल्लामा कांग्रेसको नेतृत्व गरेका कार्कीले ०१८ सालमा नेपाली कांग्रेसमा आबद्ध भई राजनीतिक यात्रा सुरु गरेका थिए । उनले प्रतिबन्धितकालमा पटक–पटक जेलजीवनसमेत बिताएका थिए । कार्कीले प्रजातन्त्र प्राप्तिको विभिन्न आन्दोलनहरूमा महत्वपूर्ण भूमिका निभाएका थिए ।
यसैबीच कार्कीको निधनप्रति ओखलढुंगा कांग्रेसले शोक वक्तव्य जारी गरेको छ । पार्टी सभापति प्रदीपकुमार सुनुवारद्वारा जारी गरिएको वक्तव्यमा ओखलढुंगाले प्रजातान्त्रिक आन्दोलनका एक विशिष्ट योद्धा गुमाएको बताइएको छ ।
कार्कीको निधनले ओखलढुंगा कांग्रेसमा अपूरणीय क्षति भएको भन्दै सात दिनसम्म पार्टीको झन्डा आधा झुकाउने र पाँच दिनसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने नेपाली कांग्रेस ओखलढुंगाले जनाएको छ । कार्कीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।