जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा स्थगित भएको छ । शुक्रबार बसेको सञ्चालक समितिको ४२औँ बैठकले संसारभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम सञ्चालन गर्न नपाइने निर्देशन जारी गरेको भन्दै साधारणसभा स्थागित गर्ने निर्णय गरेको हो । कम्पनीले २०७८ वैशाख २६ गतेका दिन साधारणसभा आह्वान गरेको थियो ।
कम्पनीले अर्को सूचना जारी नभएसम्मका लागि साधारणसभा स्थगित गरेको जनाएको छ । वार्षिक साधारणसभाबाट सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचन कार्यक्रम रहेको हुँदा निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन कार्यक्रमबमोजिम उम्मेदवारी दर्ता भएसम्मको निर्वाचन प्रक्रियालाई यथावत् राखी बाँकी रहेको निर्वाचनसम्बन्धी मतदान कार्यक्रमसमेत स्थगित गरिएको कम्पनीले जनाएको छ ।