प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्न सांसदलाई कांग्रेसको ह्विप

शनिबार, २५ बैशाख, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी ओलीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । शनिबार संघीय संसद् भवनको लोत्सेहलमा बसेको संसदीय दलको बैठकले आगामी सोमबार आह्वान गरिएको प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रस्तुत हुने प्रधानमन्त्री ओलीलाई विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गर्दै सांसदलाई ह्विप जारी गरेको हो । 

बैठकले मुलुकलाई असफलताबाट बचाउन प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्न संसद्का सबै राजनीतिक दलहरूलाई आग्रह पनि गरेको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । उनले भने ‘संसदीय दलको बैठकले कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ चैत २१ गतेको बैठकले सर्वसम्मतले पारित प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव अनुमोदन गर्दछ । प्रतिनिधिसभाको आसन्न अधिवेशनमा प्रस्तुत हुने प्रधानमन्त्री केपी ओलीमाथि विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्ने तथा कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार गठन गर्ने निर्णय गरेको छ । साथै प्रधानमन्त्री ओलीमाथि विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न संसद्का सबै राजनीतिक दलहरूलाई हामी आग्रह गर्दछु ।’

कांग्रेसको २१ चैतको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री ओली प्रशासनिक, संवैधानिक र राजनीतिक रूपले असफल भएको भन्दै तत्काल आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने र त्यसका लागि अन्य राजनीति दलसँग छलफल गर्ने निर्णय गरेको थियो ।

बैठकले कोभिड–१९ संक्रमणको दोस्रो लहर भित्रन नदिन पर्याप्त समय भए पनि सरकारले त्यसतर्फ पहल नगरेको निष्कर्षका साथ वर्तमान अवस्था निम्तनुमा सरकार दोषी भएको ठहर गरेको छ । दोस्रो लहरबाट आमनागरिक प्रभावित भएको तथा संक्रमितहरूले औषधि उपचार, अक्सिजन, आइसियू नपाएर ज्यान गुमाइरहेकाले कोभिड व्यवस्थापन र आमनागरिकको जीवनरक्षा गर्र्ने कार्यमा सरकार असफल भइसकेको निष्कर्ष निकालेको छ । 

बैठकले भ्याक्सिन आयातमा भएको अनियमितताको अध्यन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । खाणले भने ‘भ्याक्सिनको आयातमा अनियमितता गरिएको छ । यो जघन्य अपराध हो । भ्याक्सिन नल्याएका कारणले सयौँ–हजारौँ मान्छेको जीवन जान्छ । यो आपराधिक काम सरकारले गरेको छ । यसको अबिलम्ब खोजबिन गरी जिम्मेबार व्यक्तिलाई कारबाही गरियोस् । हामी अन्तर्राष्ट्रिय कम्युनिटी र कोभिड भ्याक्सिन कम्पनीहरूलाई भ्याक्सिन उपलब्ध गराउन अनुरोध गर्न चाहन्छौँ । यो महामारीमा नेपाली कांग्रेस अत्यन्तै गम्भीर र संवदेनशील छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिनिवासलाई एउटा पार्टीको कार्यालयजस्तो बनाएको भन्दै राष्ट्रपतिजस्तो गरिमामय पदलाई आलोच्य नबनाउन पनि आग्रह गरेको छ ।

सुझावित समाचार