स्वास्थ्यचौकीको जति पनि सेवा दिन सक्ने छैनन् ओखलढुंगाका कोभिड अस्पताल

बिहिबार, २३ बैशाख, २०७८
डिजिटल संस्करण

ओखलढुंगाका स्थानीय तहमा सञ्चालित कोभिड अस्पताल गाउँका सामान्य स्वास्थ्यचौकीको जति पनि सेवा दिन सक्ने अवस्थामा छैनन् । स्रोत, साधन र जनशक्ति अभावका कारण सरकारले तामझामका साथ सुरु गरेका कोभिड अस्पताल नाम मात्रैका बनेका हुन् । 

जिल्लाका आठ स्थानीय तहमध्ये सिद्धिचरण नगरपालिकाबाहेक अन्य सबै गाउँपालिकामा कोभिड अस्पताल स्थापना गरिएको छ । तर, ती अस्पताल कोरोना संक्रमित राखेर उपचार गर्न सक्षम छैनन् । 

केहीमा डाक्टरको अभाव छ भने केहीमा स्रोत र साधनको अभाव छ । सामान्य उपचार मात्रै गराउन सम्भव ती अस्पतालमा अक्सिजन दिनुपर्ने खालका जटिल बिरामी भएमा र कोरोनाका बिरामी आएमा अक्सिजन दिने व्यवस्था छैन । 

केन्द्र सरकारले लोकप्रिय कार्यक्रम लागू गरे पनि जिल्लाका स्थानीय तहले आवश्यक व्यवस्थापन गर्न नसकेका हुन् । 

जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाको कोभिड अस्पतालमा अहिले एकजना नर्सको मात्रै दरबन्दी छ । यहाँ सामान्य उपचार मात्र सम्भव रहेको कोभिड अस्पतालमा जटिल बिरामीका लागि उपचारको प्रबन्ध गर्न सक्ने अवस्था नरहेको गाउँपालिका अध्यक्ष मोतीराज राईले बताए । सबै कुराको प्रबन्ध मिलाउन अहिले समस्या रहेको गाउँपालिका अध्यक्ष राईको भनाइ छ । ‘पालिकाले बजेट पनि सबै कार्यक्रमका लागि भन्दै बाँडफाँड गरिसकेको छ । उही त हो, हाललाई बजेटकै अभाव रहन्छ । यस्तो अवस्थामा कोरोना संक्रमण फैलिएमा कसरी रोकथाम गर्ने समस्याकै विषय रह्यो । पालिकाको कोभिड अस्पतालले उपचार गर्ने अवस्था छैन,’ राईले भने । संघ र प्रदेश सरकारले बजेटको व्यवस्था गरेमा सहज हुने उनको भनाइ छ ।
जिल्लाको मोलुङ गाउँपालिकामा पनि यस्तै समस्या रहेको छ । मोलुङ गाउँपालिकाले वडा नम्बर २ रामपुरमा रहेको रामपुर स्वास्थ्यचौकीबाटै कोरोनाको बिरामीको सामान्य उपचार गर्ने पालिकाको तयारी छ । 

कोभिड अस्पतालमा भन्दा रामपुर स्वास्थ्यचौकीमा स्रोत, साधन र जनशक्ति पर्याप्त रहेकाले अहिले कोरोनाका सामान्य बिरामीको मात्र उपचार स्वास्थ्यचौकीबाटै गर्ने पालिकाले जनाएको छ । यदि संक्रमण फेरि फैलिएर अवस्था जटिल भएमा थप व्यवस्था गरिने गाउँपालिका अध्यक्ष मणिराज राईको भनाइ छ । समुदायमा कोरोनाबाट बच्नेबारे सचेतनाका कार्यक्रम भने भइरहेको उनले बताए । ‘पालिकाको सबैजसो विद्यालयमा विद्यार्थी र समुदायका नागरिकलाई दोस्रो लहरको कोरोनाबाट बच्चेबारे सचेत गराइरहेका छौँ,’ राईले भने ।

चम्पादेवी गाउँपालिकामा ५ शय्याको कोभिड अस्पतालमा एकजना एमबिबिएस डाक्टरसहित दुईजना दरबन्दीमा छन् । त्यहाँ पनि कोभिडका सामान्य बिरामीको मात्र उपचार सम्भव छ । जटिल समस्या भएका कोरोनाका संक्रमित भएमा अक्सिजन दिने व्यवस्था नरहेको गाउँपालिकाका सूचना अधिकारी सञ्जितकुमार विकले बताए । 

चिसंखुगढी गाउँपालिका र मानेभञ्ज्याङ गाउँपालिकाको कोभिड अस्पतालमा पनि डाक्टर छैनन् । चिसंखुगढीमा अस्पताल र उपकरणहरू सबै तयारी अवस्थामा रहे पनि डाक्टरको दरबन्दी छैन । हाल दुईजना स्टाफ नर्स दरबन्दीमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले बताए । 

लिखु, खिजीदेम्बा र सुनकोसी गाउँपालिकाका कोभिड अस्पताल पनि कोरोनाका बिरामी राखेर उपचार गर्न सक्ने अवस्थामा छैनन् । जिल्लाको लिखु गाउँपालिका र सुनकोसी गाउँपालिकाले अस्पताल, औषधि, उपकरण र स्वास्थ्य सामग्री महामारीको सुरुवाती अवस्थाको प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको जनाएका छन् । तर, पछि संक्रमण फैलँदै गएमा नियन्त्रणका लागि आफूहरूको स्रोतसाधनले भ्याउने अवस्था छैन । 

खिजीदेम्बा गाउँपालिकाले कोरोना संक्रमण फैलिएको खण्डमा उतिवेलै तयारी गर्न समस्या हुने भएकाले सुरुवाती अवस्थालाई नियन्त्रणका लागि अस्पताल, डाक्टर, औषधि, उपकरणलगायतका कुरा चुस्त राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलको दाबी छ । 

जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकाभित्र दुईवटा ठूला अस्पताल छन् । जिल्ला अस्पताल रुम्जाटार र ओखलढुंगा सामुदायिक अस्पतालले जिल्लामा कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचारका लागि सामान्य प्रबन्ध मिलाए पनि नगरपालिका आफैँले खासै कुनै पूर्वतयारी अपनाएको छैन । 

संक्रमित घरैमा
ओखलढुंगा जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच पुगेको छ । संक्रमित सबै आ–आफ्नै घरमा छन् । जिल्लामा एउटा पनि क्वारेन्टिन र आइसोलेसन बनाइएको छैन ।

क्वारेन्टिन र आइसोलेसन नहुँदा संक्रमित घरैमा बस्न बाध्य छन् भने बाहिरबाट गाउँ फर्किएकाहरूले सतर्कता अपनाएका छैनन् ।

जिल्लास्थित कोभिड नियन्त्रण विशेष समिति र स्थानीय सरकारले भिडभाड रोक्न अपिल गर्ने, हाटबजार बन्द गर्ने र सामान्य सचेतनाका कार्यक्रम गर्नेबाहेक अन्य निर्णयसमेत गर्न सकेका छैनन् । 

ओखलढुंगामा कोरोना संक्रमण रोकथामका लागि पूर्वतयारी पर्याप्त छैन । महामारीको रूपमा फैलिएको कोरोना संक्रमण दिनानुदिन बढिरहेको भए पनि जिल्लामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पूर्वतयारी पर्याप्त नभएको पाइएको हो । 

सहरमा निषेधाज्ञा सुरु भएपछि राजधानीबाट हजारौँ मानिस जिल्ला भित्रिएका छन् । नवप्रवेशीहरूको सामान्य स्वास्थ्य परीक्षण गरिएको छैन भने बाहिरबाट आएकाहरू क्वारेन्टिनमा समेत बसेका छैनन् । 

कोभिड नियन्त्रणका लागि गत वर्ष स्थापना गरिएका सबै संरचना बन्द भएका छन् । कोरोनाको कहर सुरु भएसँगै स्थानीय तहले लाखौँ रुपैयाँ खर्च गरेर तयार गरेका आइसोलेसन, क्वारेन्टिन र हेल्थ डेस्कसहितका संरचना अहिले बन्द भएका हुन् । 

कोरोना महामारी रोकथामका लागि जिल्ला प्रवेश गर्ने सबैजसो मुख्य नाका र सदरमुकामसहितका क्षेत्रमा हेल्थ डेस्क, सबै स्थानीय तहमा आइसोलेसन, वडा–वडामा क्वारेन्टिन, जिल्लाका दर्जनौँ स्थानमा हेल्थ डेस्क सञ्चालनमा थिए । तर, अहिले ती सबै संरचना सञ्चालनमा छैनन् । 

सुझावित समाचार